

बसन्त खतिवडा,बारा
युवाले चाहे के हुन्न ? भन्ने उदाहरण बारा पथलैयाका युवाले देखाईदिएका छन् ।
पथलैयामा रहेका युवाहरुको समूहले साँगितिक कार्यक्रम आयोजना गरी बचत गरेको रकमबाट एम्बुलेन्स खरिद गरेका छन्, त्यो पनि सामान्य होइन, अत्याधुनिक !
श्रीकृष्ण जन्माष्टमीको अवसरमा २०७५ सालमा गरेको साँगितिक कार्यक्रमबाट संकलित रकमले ‘ख’ वर्गको अत्याधुनिक एम्बुलेन्स खरिद गर्न सफल भएका छन् ।
यसरी खरिद गरिएको एम्बुलेन्स आजबाट सञ्चालनमा आएको छ । करिब साँढे १६ लाख खर्चिएर ल्याईएको एम्बुलेन्सको आज जीतपुर सीमराका नगर प्रमुख डा. कृष्णप्रसाद पौडेलले औपचारिक उद्घाटन गरी सेवा सूचारु गरिएको थियो ।
पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथको संगम स्थलको रुपमा रहेको पथलैयाका युवाले राजमार्गमा हुने दुर्घटनाका साथै स्थानीयलाई सहज सेवा दिने पवित्र उदेश्य राखी एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको पथलैया युवा समाजका अध्यक्ष सुरेशकुमार लामाले जानकारी दिए ।
पथलैया चुरे क्षेत्र र पथलैया निजगढ क्षेत्रमा हुने दुर्घटना एवं स्थानीयहरुलाई सेवा दिन एम्बुलेन्स सफल हुनेछ भन्दै नगरप्रमुख कृष्णप्रसाद पौडेलले भने ‘खरिद गर्नु भन्दा पनि यसको सफल सञ्चालनमा ध्यान दिन जरुरी छ । यसले नै संस्थाको मापन समेत गर्छ ।’





Write your Comment