पुलिसको पहिलो जित

रातोघर

 १२ पुष २०७६, शनिबार ०९:३१  मा प्रकाशित
६०९ पाठक संख्या



काठमाडौं ।

 

विभागीय टिम नेपाल पुलिस क्लबले कतार एयरवेज शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शुक्रबार सरस्वती युथ क्लबलाई २–०ले हराउँदै पहिलो जित निकालेको छ । पुलिसको जितमा सुमन लामा र भोला सिलवालले गोल गरेका थिए ।

दशरथ रंगशालामा भएको खेलेको पहिलो हाफमा नै पुलिस १० खेलाडीमा सीमित हुन पुगेको थियो । पुलिसका लागि दुवै गोल दोस्रो हाफमा सम्भव भयो । पहिलो हाफको अतिरिक्त समयमा पुलिसका अञ्जन राईले दोहोरो पहेलो कार्डपछि रातो कार्ड खाएर बाहिरिएका थिए । उनले त्यसअघि ३३औं मिनेटमा पहिलो पहेलो कार्ड खाएका थिए । खेलको ४६औं मिनेटमा सरस्वतीका डिफेन्डरको तालमेल नमिलेको मौकाको सदुपयोग गर्दै पुलिसका लागि सुमनले गोल गरेका थिए ।

खेलको ७९औं मिनेटमा भोला सिलवालले पुलिसका लागि दोस्रो गोल गरे । समुनको पासमा भोलाले वान टचमा नै गोल गरे । सुमन म्यान अफ दि म्याच घोषित भए । भोला खेलको ६१औं मिनेटमा रवि पासवानको ठाउँमा मैदान छिरेका थिए । उनले मैदान प्रवेश गरेको १८ मिनेटभित्रै गोल गरेका थिए । सरस्वतीले लगातार तेस्रो हार बेहोरेको हो ।

लामो समयपछि फुटबलमा पुनरागमन गरेका पुलिसका रविन श्रेष्ठले केही उत्कृष्ट मुभ सिर्जना गरे पनि रवि पासवान, सौजन राईले त्यसलाई सदुपयोग गर्न सकेका थिएनन् । खेलको ३२औं मिनेटमा रविनले गरेको प्रहार सरस्वतीका गोलरक्षक प्रदीप भण्डारीले क्लियर गरिदिएका थिए । खेलको ३५औं मिनेटमा सरस्वतीका कप्तान राजकुमार घिसिङले उत्कृष्ट फ्रि–किक प्रहार गरेका थिए ।

उनको प्रहार क्रसबारमा लाग्नु सरस्वतीका लागि दुर्भाग्य साबित भयो ।३ खेलबाट पुलिसले ४ अंक जोडेको छ । त्यसैगरी, सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको अर्काे खेलमा त्रिभुनव आर्मी क्लबले यती हिमालयन शेर्पा क्लबलाई २–० ले पराजित गरेको छ ।

Write your Comment