

काठमाडौं। सरकारले १५औं पञ्चवर्षीय योजना सम्पन्न हुँदा कुल गार्हस्थ्य उत्पादनको १० प्रतिशत योगदान पर्यटनबाट उठाउने लक्ष्य राखेको छ । अहिले नेपालको कुल गार्हस्थ्य उत्पादनमा करिब ३ प्रतिशत योगदान पर्यटनको छ । यसका लागि सरकारले पर्यटन पूर्वाधार निर्माण र सेवा विस्तारमा जोड दिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताए ।
सरकारले राष्ट्रिय महोत्सवकै रूपमा मनाउन लागेको ‘नेपाल भ्रमण वर्ष २०२०’बारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले सो जानकारी दिएका हुन् । भ्रमण वर्षको औपचारिक सुरुवात आगामी बुधबार दशरथ रंगशालामा विशेष समारोहबाट गरिने पनि उनले जानकारी दिए । राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक उद्घाटन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । सोही दिन सातै प्रदेशका मुख्यमन्त्रीले आआफ्नो प्रदेशबाट भ्रमण वर्षको उद्घाटन गर्ने कार्यक्रम पनि तय भएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भ्रमण वर्ष उद्घाटनको क्रममा विभिन्न ३१ देशका पर्यटनमन्त्री र विशिष्ट व्यक्ति सहभागी हुने जानकारी दिए । उनले विश्वभरका लगानीकर्तालाई नेपाल लगानीका लागि उपयुक्त मुलुक हो भनेर जानकारी दिनु यस अभियानको उद्देश्य रहेको बताए । उनले २०२० देखि सन् २०३० को दशकलाई पर्यटन दशकका रूपमा सञ्चालन गर्नुपर्छ भन्ने योजनासहित सरकार अघि बढेको बताए ।
‘सरकारको यस दशक अभियानमा सबैको उस्तै सक्रियता, सहभागिता र सहयोग हुनेमा आफू आशावादी रहेको बताउँदै मन्त्री भट्टराईले भने, ‘अब मु्लुक स्थायी शान्ति, स्थिरता र समृद्धिको बाटोमा अघि बढेको छ ।’ उनले पर्यटनलाई नेपालको अर्थतन्त्रमा प्रमुख आधारमध्येको एक बनाउने सरकारको योजना रहेको बताए ।
भ्रमण वर्ष २०२० का राष्ट्रिय संयोजक सुरज वैद्यले कार्यक्रममा भारतीय तथा चिनियाँ पर्यटनमन्त्री समेत सहभागी हुने बताए । अहिले २० लाख पर्यटक भिœयाउने लक्ष्यसहित भ्रमण वर्ष २०२० मनाउने तयारी गरेको जानकारी गराउँदै उनले सरकारले पर्यटकको नेपाल बसाइ र खर्च पनि बढाउँदै लैजाने लक्ष्य लिएको बताए । यसैगरी, उनले उद्घाटनकै दिन भ्रमण वर्षको गीत पनि सार्वजनिक हुने जानकारी दिए ।
नेपाल पर्यटन बोर्डका निवर्तमान प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यस समारोहमा भारत, चीन, बंगलादेश, युरोपलगायत विभिन्न देशका करिब ४० बढी प्रतिष्ठित सञ्चारमाध्यमका सञ्चारकर्मीको पनि सहभागिता रहने बताए । यस भ्रमण वर्षको उद्घाटन समारोहमा करिब २ करोड खर्च हुने अनुमान गरिएको छ । सरकारले भ्रमण वर्षका लागि ६१ करोड ७४ लाख रुपैयाँ बजेट छुट्याएको छ ।
Rajdhanidaily





Write your Comment