मैले अनुहार लुकाएँ भने मलाई एसिड हान्नेको जित हुन्छ : पीडित मुस्कान खातुन

रातोघर

 ८ माघ २०७६, बुधबार २०:३१  मा प्रकाशित

वीरगंज । कुपन्डोलस्थित हिमालय होटलमा मङ्गलबार राष्ट्रिय युवा सम्मेलन हुँदै थियो, जहाँ सातै प्रदेशका युवाहरू भेला भएका थिए।

‘समानताको पुस्ता’ भन्ने नारासहित सुरू भएको सम्मेलनमा काठमाडौंका थुपै्र प्रभावशाली व्यक्ति र सेलिब्रिटीहरू उपस्थित थिए, तर उनीहरू सबैको नजरमा थिइन् – वीरगंजकी १४ वर्षीया मुस्कान खातुन।

मुस्कानमाथि गत भदौ २० गते एसिड प्रहार भएको थियो । एसिड प्रहार गर्नेहरूले सायद मुस्कानको मुस्कान खोस्न खोजेका थिए, तर त्यस्तो त्रासद घटना भोगेर बौरिँदा पनि मुस्कानले आफ्नो मुस्कान सँगालेर राखेकी छिन्।

महिलाविरूद्ध हुने सबै प्रकारका हिंसाविरोधी संयुक्त राष्ट्रसंघीय समितिकी उपाध्यक्ष वन्दना राणाले जब मुस्कानको हातमा माइक राखिदिइन्, तब उनले मीठो मुस्कान फ्याँकिन् । उनको ओजअगाडि मिस नेपाल अनुष्का श्रेष्ठ पनि फिक्का देखिन्थिन्।

तेजाबले पनि जलाउन नसकेको आफ्नो मुस्कान छर्दै मुस्कानले राष्ट्रिय युवा सम्मेलनका सहभागीहरूलाई आफ्नो संघर्ष र साहसको कथा सुनाइन् : त्यो विहान (भदौ २० गते) करिब ६ बजे म विद्यालय जाँदै थिएँ। अङ्ग्रेजी माध्यमबाट पढाई हुने भएकाले विहानै विद्यालय जानुपर्थ्याे। अरु दिन बुवाले भाइ र मलाई विद्यालयसम्म पुर्‍याइदिनु हुन्थ्यो। तर, त्यो दिन उहाँलाई सञ्चो थिएन। त्यसैले, म र भाइमात्रै विद्यालय गइरहेका थियौँ । भाइ मभन्दा पछाडि हिँड्दै थियो, म चाहिँ अलि अगाडि बाटोमा मलाई सधैं सताइरहने एउटा केटाले जग दिँदै भन्यो – पानी खाने हो? खाऊ! म नखाने भन्दै ऊसँग तर्किएर फटाफट अगाडि बढेँ। उसले मलाई मेरो नाम लिँदै पछाइरह्यो, म रोकिइनँ।

अलि पर पुगेपछि यसो हेरेको – उसले मेरो जीउमा त्यो जगको पानी खन्याउन खोज्दै रहेछ! मैले स्कुल ब्याग उचालेर हत्त न पत्त अनुहार छोपेँ। त्यो जगमा पानी होइन, एसिड रहेछ!

म जल्न थालेँ, लाग्यो – मलाई जीउँदै जलाइँदै ! मैले पहिले पनि एक दुई चोटि जलन सहेकी थिएँ, झुक्किएर आगो छोइपठाउँदा तर एसिडको जलन त आगोको भन्दा धेरै पीडादायी हुँदो रहेछ। अनुहारको दायाँ भाग, छाती र हातमा एसिड परेछ। बाटोमा हिँडिरहेका अरू विद्यार्थी साथीहरू मतिर दौडिँदै आए।

कसैले मेरो बुवाको नम्बर सोध्यो। मुश्किलले बुवाको नम्बर दिएँ। त्यसपछि म बेहोशमा भएँ पछि थाहा पाएँ–मलाई नारायणी अस्पताल लगिएछ। होशमा आउँदा मैले आफूलाई सम्हाल्न सकिनँ। हातले अनुहार छाम्दै रोएँ। अरूले हौसला त दिन्थेँ, तर त्यसले मलाई खासै छुँदैन थियो । त्यो घडीमा मलाई केही कुराले टुट्न दिएको थिएन भने त्यो हो – परिवारको माया र सहयोग।

नारायणी अस्पतालमा प्राथमिक उपचारपछि मलाई काठमाडौंको कीर्तिपुर अस्पताल ल्याइयो । मेरो उपचार अझैं सकिएको छैन। मलाई कतिले सोध्छन्–एसिड हान्ने केटासँग पहिले प्रेम सम्बन्ध थियो ? वा, उसले मलाई प्रेम गर्थ्याे? मलाई एसिड हान्ने सम्साद मियाँ र हान्न लाउने माजिद आलमप्रति म प्रेम त के, कुनै भाव नै राख्दिन थिएँ। उनीहरू मलाई विद्यालय जाँदा पछ्याउँथे। म खुरूखुरू आफ्नो बाटो लाग्थेँ।

त्यो घटना हुनुभन्दा केहीअघि म उनीहरूबाट आजित भइसकेको थिएँ। मैले उनीहरूको बारेमा आमालाई भनेँ, आमाले बुवालाई भन्नु भएछ। बुवाले उनीहरू सम्झाउनु भयो, त्यस्तो हर्कत दोहोरिए थप्पड हान्ने धम्की पनि दिनुभयो । उनीहरू केही दिन त मेरो पछि लागेनन्, तर त्यसपछि त्यही क्रम दोहोरिन थाल्यो।

होश आएको कति दिनपछि मैले ऐनामा आफ्नो अनुहार हेरेँ। मैले आफूलाई चिन्न सकिनँ। लाग्यो– म मुस्कान होइन। डाक्टर, आफन्त र साथीहरूले मलाई ढाडस दिए। धेरैले मोबाइलमार्फत् भिडियो सन्देशहरू पनि पठाए। एसिड प्रहार विरोधी अभियानकर्मी उज्ज्वल विक्रम थापाको शब्दहरूले मेरो मन छोए। उहाँ भन्नु हुन्थ्यो – तिमी कोठाभित्र लुकेर बस्यौ भने एसिड हान्नेहरूको जित हुन्छ। तिमी हार्छौँ। उनीहरूलाई जित्नु छ भने आफैंसँग लड, लुकेर नबस, बाहिर जाऊ।

मैले, उहाँको कुरालाई मनन गरेँ र आफ्नो अनुहारसँग तर्सेर आफूलाई कोठाभित्र कैद गर्नुभन्दा समाजमा घुलमिल हुने आँट गरेँ। यसैले, म आज तपाईंहरूसामु उभिन सकेकी छु।

म अब फेरि वैशाखदेखि विद्यालय जान चाहन्छु। नौ कक्षामै भर्ना हुन्छ । पढेर डाक्टर बन्न चाहन्छु। तर, नेपालमा मजस्ता मुस्कानहरू सुरक्षित छैनन्। मधेसमा बेटी पढाऊ, बेटी बचाऊ अभियान सुरू भएको छ। तर, विद्यालय जाने बेटीलाई सुरक्षा दिन सकिएन भने अभियानको औचित्य के ?

Write your Comment