विवाह गर्न नमानेको भन्दै आमा छोरीको हत्या गर्नेलाई आजिवन काराबास

रातोघर

 ८ माघ २०७६, बुधबार २१:०४  मा प्रकाशित

उदयपुर । जिल्ला अदालत उदयपुरले आमाछोरी हत्यामा संलग्न युवकलाई आजिवन काराबास सजाय सुनाएको छ । गएको दसैमा उदयपुरको त्रियुगा नगरपालिका– ९ चौकीबारीका आमाछोरी हत्या प्रकरण आरोपमा पुर्पक्षका लागि थुनामा रहेका आरोपितलाई अदालतले आजिवन काराबासको फैसला सुनाएको हो ।

जिल्ला न्यायाधिश दिपक खनालको एकल इजलासले मंगलबार सिराहा जिल्लाको लहान नगरपालिका– ८ स्थायी घर भई उदयपुरको त्रियुगा नगरपालिका– ३ मोतिगडामा व्यापार गर्दै आएका ४० बर्षिय रामहरी साहलाई आजिवन काराबाससँगै पीडितलाई एक लाख क्षतिपुर्ति उपलब्ध गराउने गरी फैसला सुनाएको हो ।

त्यस्तै गिरफ्तार परेका साहसँग फेला परेको सुनको रिङ र मगंलसुत्र पीडितको भएकाले कसुरदारले स्वीकार गरेकाले पीडित परिवारलाई नै फिर्ता दिन आदेश गरिएको जिल्ला अदालत उदयपुरका श्रे्रस्तेदार राजकुमार आचार्यले जानकारी दिए ।

कसुरदारले २०७६ असोज २४ गते साँझ २८ बर्षिया गोमा भनिने शारदाकुमारी चौधरी र ६ बर्षिया छोरी रचनाकुमारी चौधरीलाइ धारिलो हत्यार प्रयोग गरी हत्या गरेका थिए ।

घरमा आमा र छोरी मात्र बसेको थाहा पाएर हत्या गर्ने योजनाका साथ उनी एक्लै पीडितको घर पुगेका थिए । कसुरदारलाई प्रहरीले असोज २५ गते मोतिगडाबाट पक्राउ गरेको थियो । कसुरदारले प्रहरीसँगको वयानमा विगत लामो सयमदेखि मृतकसँग प्रेम सम्बन्ध रहेको र विवाह गर्न अस्वीकार गरेपछि धारिलो हतियार प्रयोग गरी हत्या गरेको बताएका थिए ।

मृतकसँगको सम्बन्धपछि जेठी पत्निलाई सिराहा घरमा छोडेर विवाह गर्ने योजनाका साथ मोतिगडा बस्दै आएका साहले प्रेम सम्बन्ध विवाहमा परिणत नभएपछि हत्या गरेको बताएका छन् । हत्याको क्रममा छोरीले देखेपछि छोरीलाई पनि हत्या गरेको बताएका छन् ।

Write your Comment