४० रुपैयाँमा उपचार, ६० रुपैयाँमा भात

रातोघर

 १० माघ २०७६, शुक्रबार १२:३२  मा प्रकाशित
२० पाठक संख्या


संविधानले भन्छ, स्वास्थ्य सेवा मौलिक अधिकार हो । परिवारको कुनै सदस्यलाई अस्पताल भर्ना गर्नुपर्दा हामी सबैभन्दा दुःखी, चिन्तित र भयग्रस्त हुन्छौं । आर्थिक अवस्था हेरेर उपचारका लागि अस्पताल छान्छौं किनभने संविधानमा लेखिएझैं स्वास्थ्य सेवा अझै मौलिक अधिकार भएको छैन ।

सरकारी अस्पताल उपचारका लागि योग्य छैनन् । निजी अस्पतालको शुल्क हाम्रो आर्थिक क्षमताभन्दा निकै उच्च छ ।

बहुसंख्यक नेपालीको पहुँचबाट टाढा रहेको स्तरीय स्वास्थ्य सेवाको मृगतृष्णा मेटाउने काम गर्यो, धुलिखेल सामुदायिक अस्पतालले ।

धुलिखेल नगरपालिका र डा. रामकण्ठ माकजू श्रेष्ठको सक्रियतामा धुलिखेल सामुदायिक अस्पताल स्थापना (२०५३) भएको हो । यो अस्पतालले समुदायलाई केन्द्रमा राखेको छ । सुरुमा यो ३५ शय्याको अस्पताल थियो । अहिले यो अस्पतालमा २ सय ७० बढी शय्या छन् ।

सानो क्लिनिक जस्तो देखिए पनि अस्पतालको उद्देश्य ठूलो थियो । चारवटा कोठा र दुईजना डाक्टरको भरमा सुरु भएको धुलिखेल सामुदायिक अस्पतालमा अहिले १२ सय डाक्टर र नर्स छन् ।

आत्मनिर्भर अस्पताल


धुलिखेल अस्पताल देशभित्रको पहिलो आत्मनिर्भर अस्पताल हो । विद्युतदेखि अक्सिजनसम्म आफैं उत्पादन गर्ने यो अस्पताल आफैंमा प्रयोगशाला पनि हो । उपचार गर्दा प्रयोग गरिने रसायन पनि उत्पादन गर्छ ।

बिरामी र अस्पतालका लागि आवश्यक लुगा र कपडा अस्पतालमै सिलाइन्छ । ३५ किलोवाटको सौर्य ऊर्जाबाट विद्युत् आपूर्ति गरिन्छ ।

अस्पतालका लागि भवन निर्माण गर्न धुलिखेल अस्पतालसँग आफ्नै सिभिल इन्जिनियर डिर्पाटमेन्ट छ । यो डिपार्टमेन्टले अस्पतालका लागि आवश्यक भवनको डिजाइन गर्छ । अहिले धुलिखेल अस्पताल रहेको भवन पनि यही डिपार्टमेन्टले डिजाइन गरेको हो ।

सिँढी शैलीमा निर्माण गरिएको धुलिखेल अस्पतालका हरेक कोठामा ह्वील चेयर पुग्छ । हरेक प्यासेजमा घामको किरण पर्छ, हावा पुग्छ ।

रोचक कुरा बाहिरबाट हेर्दा यो अस्पतालको भवन एक तलाको मात्रै छ कि जस्तो देखिन्छ । झट्ट हेर्दा पहाडी गाउँमा पाइने ढुंगे घर जस्तै देखिन्छ ।

किन यस्तो डिजाइन बनाइएको ?’ हामीले प्रश्न गर्यौं ।

‘बनाउन त हामी आठ तलाको अग्लो घर पनि बनाउन सक्थ्यौं । तर, मेरो अस्पतालमा सबै गरिब आउँछन् । त्यस्तो अग्लो घर देखेर त उनीहरू त्रसित हुन्छन् । यहाँ आउनेहरूलाई आफ्नै घरमा आएजस्तो होस्,’ डा. रामकण्ठ माकजु श्रेष्ठले हाँस्दै भने ।

श्रेष्ठ अस्पतालका संस्थापक हुन् । १७ वर्ष अस्ट्रिया बसेर फर्किएका श्रेष्ठकै अगुवाइमा यो अस्पताल स्थापना भएको हो ।

काठमाडौं विश्वविद्यालयको उपकुलपतिसमेत रहेका श्रेष्ठ आफू नेपाल फर्किंदाको प्रसंग सुनाउँदै भन्छन्, ‘पाँच महिनाको छोरी छाडेर आएको हुँ । यहाँ ल्याउँदा मर्छ कि भन्ने डर थियो । १० महिनापछि छोरी र श्रीमतीलाई यहीँ बोलाएँ । यहाँ आउँदा त म जिरो थिएँ ।’

अस्पताल छिर्ने मुख्य गेटको बाटोमा रातो रंग पोतिएको छ । सो रंग पोतिनुको कथा जोडिन्छ, तत्कालीन राजा वीरेन्द्रसँग । राजा वीरेन्द्रले अस्पताल उदघाटनमा आउँदा आफ्ना लागि रातो कार्पेट बिछ्याउनुपर्ने माग राखे । त्यसपछि श्रेष्ठले सोचे, राजा मात्रै होइन, मेरो अस्पतालमा आउने हरेक मान्छे भीआईपी हो ।

‘त्यसैले मैले अस्पताल छिर्ने बाटोमा नै रातो पोतें । (हा…हा…) मैले ठीक गरें नि हैन ?’ श्रेष्ठले भने ।

‘सामुदायिक र गैरनाफामूलक अस्पताल भएर पनि कसरी अस्पताल आत्मनिर्भर भयो त ?’

प्रश्न सुनेर श्रेष्ठले भन्न थाले, ‘सजिलो छ । तपाईंसँग ज्ञान हुनुपर्यो र त्यो ज्ञान क्रियटिभ रूपमा प्रयोग गर्ने क्षमता हुनुपर्यो ।’

‘अर्थात् ?’ उनी उदाहरण दिएर सम्झाउन थाले, ‘यो अस्पतालमा हामी सुरुमा भिडियो एक्सरे २५ रुपैयाँमा गर्थ्याैं तर त्यो एक्सरे गर्दा ६ सय रुपैयाँको जेल खर्च हुन थाल्यो ।’

‘अनि ?’

‘अनि हामीले आफ्नै ल्याबमा त्यो जेल बनाउन थाल्यौं । यसको खर्च अहिले सय रुपैयाँ जति पर्छ ।’

यही ल्याबबाट अस्पतालले अहिले सौन्दर्य सामग्री पनि उत्पादन गर्छ । डा. सुजना फोबु नेतृत्वको टोलीले अस्पतालको ल्याबबाट २२ प्रकारका सौन्दर्य सामग्री उत्पादन गर्दै आएकाे छ । श्रेष्ठको भाषामा यही हो ज्ञानको सिर्जनात्मक प्रयोग ।

समुदायसँग जोडिनु र सामान्य स्वास्थ्य सेवा नपुगेका बस्तीमा स्तरीय स्वास्थ्य सेवा पुर्याउनु धुलिखेल अस्पतालको प्राथमिक दायित्व हो । अस्पतालले देशभरका २२ स्थानमा ‘आउट रिच सेन्टर’ खोलेको छ । अर्थात्, स्वास्थ्य केन्द्र । यी आउट रिच सेन्टरमा एमआरआई र ठूलो अप्रेसनबाहेकका अन्य सबै सुविधा उपलब्ध छन् ।

सामान्य अस्पतालले एउटै भवनमा सबै सेवा दिन्छ । तर, धुलिखेल अस्पतालमा भने रोगअनुसार फरक फरक भवनमा उपचार गरिन्छ त्यसैले धुलिखेल अस्पतालसँग १६ भन्दा धेरै भवन छन् । डेन्टल, ओपीडी, प्रसूतिलगायतका सेवा प्रदान गर्न छुट्टाछुट्टै भवन छन् ।

अस्पताल सधैं आइरहनुपर्ने तर भर्ना हुनु नपर्ने बिरामीका लागि होस्टेलको सुविधा छ । ‘यसले टाढाबाट आउनुपर्ने बिरामीको होटल खर्च जोगाउँछ,’ श्रेष्ठ थप्छन्, ‘पैसा खर्च हुने डरमा कोही पनि उपचारबाट वञ्चित हुनुपर्दैन ।’

अस्पतालको क्यान्टिनमा ६० रुपैयाँमा खाना पाइन्छ । अस्पतालकोे वर्क साइट इन्टरभेन्सन विभागले क्यान्टिनको खाना हरेक दिन चेक जाँच गर्छ । खान योग्य छ या छैन, बिरामीका लागि उपयुक्त छ या छैन भन्ने निर्क्याेल गरेपछि मात्रै क्यान्टिनमा खाना उपलब्ध हुन्छ ।

यहाँ बिरामीको मात्रै होइन, अस्पतालमै कार्यरत डाक्टरको पनि उपचार हुन्छ । अस्पतालको वर्क साइट इन्टरभेन्सन विभागले डाक्टरको नियमित खाना, डाक्टरको काम गर्ने अवधि जस्ता सबै कुराको विवरण राख्छ ।

र, आवश्यकताअनुसार डाक्टरलाई सुझाव दिन्छ । विभाग प्रमुख दीपालक्ष्मी माकजू भन्छिन्, ‘डाक्टरहरूमा हाइपर टेन्सनको लक्षण देखियो, हामीले खानामा नुन कम गर्यौं । ग्यास्ट्रिकको समस्या देखियो, हामीले क्यान्टिनलाई जंक फुडमुक्त बनायौं ।’

प्लम्बरदेखि इलेक्ट्रिसियन डिपार्टमेन्टसम्म रहेको अस्पतालको क्यान्टिनको कथा सुनाउन थाले श्रेष्ठ ।

सुरु सुरुमा यो क्यान्टिनमा काम गर्ने सबै पुरुष थिए । मीठो खाना बनाउँथे ।

एक दिन मैले सोधें, ‘तिमीहरूको घरमा पनि यस्तै मीठो खाना हुन्छ ?’

अनि उनीहरूले भने, ‘सर यहाँभन्दा मीठो हुन्छ ।’

म दंग परें, ‘कसरी ?’

‘घरमा श्रीमतीले पकाउँछिन्,’ उनीहरूले जबाफ दिए ।

मैले भनें, ‘ल अब त्यसो भए तिमीहरू अर्कै डिपार्टमेन्टमा काम गर या खाना बनाउन आफ्नी श्रीमती बोलाओ ।’

οοο

काठमाडौं विश्वविद्यालयसँग जोडिएको यो अस्पतालले आफूलाई आवश्यक डाक्टर र नर्स आफ्नै विश्वविद्यालयमा उत्पादन गर्छ ।

‘अब विश्वविद्यालयको रोल परिवर्तन गर्नुपर्यो । मतलव, विश्वविद्यालयलाई रिडिफाइन गर्नुपर्छ,’ श्रेष्ठ भन्छन्, ‘यसका लागि विद्यार्थीलाई ज्ञान दिएर मात्र भएन । त्यो ज्ञान जहाँ आवश्यक छ, जसलाई आवश्यक छ, त्यहाँसम्म पुग्नुपर्यो ।’

आफू विदेश गएर पढ्नको बाध्यता भएको सुनाउँदै श्रेष्ठले भनें, ‘म बाहिर जानु मेरो बाध्यता थियो । मैले दुईवटा ल्यांग्वेजमा मेडिकल शिक्षा पढेको हुँ । जर्मन र ल्याटिन भाषा सिक्दै मैले मेडिकल पढेको हुँ । (यति भनेर उनले आफ्नो –याकबाट दुई किताब समाए र पल्टाउन थाले ।) यी किताब मैले कम्तीमा ३ सयपटक पढे हुँला । अरुले एकपटक पढ्दा मैले ५ देखि १० चाेटि पढ्नुपर्थ्याे ।’

काठमाडौं विश्वविद्यालयले हरेक वर्ष लाखौं विद्यार्थीलाई बाउन्ड्रिलेस सर्टिफिकेट थमाउँछ । सर्टिफिकेट बाउन्ड्रिलेस भए पनि विश्वविद्यालयले सकेसम्म आफ्ना विद्यार्थीलाई नेपालमै राख्न चाहन्छ । यसकै कारण हुनुपर्छ, अहिले धुलिखेल अस्पतालमा कार्यरत अधिकांश डाक्टर र नर्स काठमाडौं विश्वविद्यालयबाटै उत्पादन भएका हुन् ।

सामुदायिक सेवामा सक्रिय अस्पतालले सिन्धुपाल्चोकको मानेखर्कमा भूकम्पले भत्किएका १ सय १२ घर पुनर्निर्माणमा पनि सघायो । २३ वर्ष पुगेको यो अस्पतालबाट अहिलेसम्म ४० लाख बढीले सेवा लिइसकेका छन् ।

युरोपको विलासी जीवन छाडेर नेपाल फर्किएका श्रेष्ठ नेपाललाई काठमाडौंको आँखाले मात्र हेर्दैनन् । उनलाई लाग्छ, काठमाडौंको आँखाले विभेद देख्छ । विलासिता खोज्छ त्यसैले त उनले आफ्नो कार्यकक्षमा कार्पेट बिछ्याएका छैनन् ।

‘गुड लिडर अलवेज ट्राई टु कर्म्फट अदर,’ श्रेष्ठ प्रस्ट्याउँछन्, ‘म माटोको घरमा हुर्के बढेको हुँ । मैले आलिसान कार्पेट ओछ्याएर बस्न पनि जानेको छु तर मेरो जमिन आलिसान कार्पेटको होइन ।’

οοο

श्रेष्ठको ‘गुड लिडर अलवेज ट्राई टु कम्फर्ट अदर’ मान्यतामा आधारित रहेर धुलिखेल अस्पतालमा विगत २३ वर्षदेखि हरेक बिहान अस्पतालका सम्पूर्ण कर्मचारीको बैठक हुन्छ । यो बैठकमा अस्पताल, प्रशासन, औषधि उपचारदेखि, अस्पतालमा भर्ना भएका बिरामीको उपचारको विषयमा छलफल हुन्छ ।

सुनेको कुरामा भन्दा देखेको कुरा विश्वास गर्नुपर्छ भन्दै श्रेष्ठले सम्पूर्ण अस्पताल घुमाए । अप्रेसन थिएटर देखाए । अप्रेसनका लागि बिरामीलाई तयारी गरिने कोठा देखाए । अस्पतालका शौचालय देखाए । अस्पताल घुमिरहँदा भेटिने हरेक डाक्टर, नर्स, बिरामी र कुरुवालाई उनी सन्चो बिसन्चो सोध्थे । घर परिवारबारे सोध्थे ।

‘तपाईंले अस्पताल हेरिहाल्नुभयो, अब भन्नुहोस् । कति लाग्छ होला यहाँ उपचार खर्च ?’ अस्पताल भ्रमण गराइसकेपछि अप्रेसन थिएटरसँगै जोडिएको कफी कोठामा बसेर कफी पिउँदै गर्दा श्रेष्ठले सोधे ।

‘३ सय ५० रुपैैयाँ ।’ श्रेष्ठको जवाफ सुनेर हामी ट्वाल्ल पर्याैं ।

‘बिरामीलाई अस्पताल भर्ना गर्नुपरेपछि बेड चार्ज र ४ टाइम खानासहित ३५० रुपैयाँ दैनिक ।’ उनले सरप्राइज दिएजसरी भने, ‘ओपीडीमा जम्मा ४० रुपैयाँ तिरे पुग्छ ।’

‘धनी र गरिबकोे कलेजो फरक हुन्छ ? मिर्गौला फरक हुन्छ ? मुटु, फोक्सो र आन्द्रा फरक छन् ? हुँदैनन् नि ! जब सबैका यी अंगमा कुनै भिन्नता छैन भने स्वास्थ्य सेवामा किन फरक गर्ने ? म भन्छु, गर्नुहुँदैन ।’

स्वास्थ्य सेवामा सबैको समान पहुँच हुनुपर्छ भन्ने धुलिखेल अस्पतालमा २०७१ मा अर्थमन्त्री रहेका डा. रामशरण महतले पनि पित्तथैलीको अप्रेसन गराएका थिए । उनै महतले २०६८ मा आफ्नी श्रीमतीको अप्रेसन पनि यही अस्पतालमा गराएका थिए । डा. श्रेष्ठले आफ्नो बुबाको अप्रेसन पनि धुलिखेल अस्पतालमै गराएका हुन् ।

आधुनिक प्रविधको प्रयोगमा स्तरीय स्वास्थ्य सेवा कसरी यति सस्तो हुन्छ ?’

‘मैले खुबै माग्न सिकें । तर, मैले मागेको जे पनि मैले समुदायका लागि मागें । अस्पतालका लागि मागें,’ श्रेष्ठले लाक्षणिक जवाफ दिए ।

धुलिखेल नगरपालिका, काठमाडाैं विश्वविद्यालय तथा विभिन्न अन्तर्राष्ट्रिय सहयोगी संस्थाको सहयोगमा यो अस्पताल सञ्चालन हुन्छ ।

हालै मात्र धुलिखेल अस्पतालले बनाएको ओपीडी सेवाका लागि बनाइएको भवन भारतीय दूतावासको सहयोगमा निर्माण गरिएको हो ।

‘क्वालिटी हेल्थ केयर सर्भिस, फर द निडी, पोर । संसारमा यो इम्पोसिबल मिसन जस्तै हो । बाराक ओबामाले अमेरिकामा सकेनन् । यहाँ त सानै भए पनि भइरहेको छ । यो त आगोको सानो झिल्को मात्रै हो, यसलाई तपाईंहरूले फूकेर ठूलो आगो बनाउने हो । ठूलो आगोमा हात सेकाउने, जीउ सेकाउने, खाना पकाउने या चिया पकाउने, त्यो तपाईंको इच्छा हो ।’

Write your Comment