

सिमरा , ११ माघ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बाराको टाँगियाबस्तीमा तत्काल विद्युतीकरणका लागि मातहतका कार्यालयलाई निर्देशन दिएका छन् ।
२८५६ औं सोनाम ल्होसारको अवसरमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका १५ डुमरवानामा सुन्दरबस्ती यूवा क्लबले आयोजना गरेको विशेष समारोहलाई सम्बोधन गर्दै प्रमूख अतिथि समेत रहेका घिसिङले दोश्रो अन्तराष्ट्रिय विमानस्थल निर्माण क्षेत्रमा रहेको उक्त बस्तीलाई अँध्यारोबाट मुक्ती दिलाउन तत्काल विद्युतीकरणको पहल थाल्न विद्युत प्राधिकरणको सिमरा वितरण केन्द्रलाई निर्देशन दिएका हुन् ।
जीतपुरसिमरा उपमहानगरपालिकाको १६ नम्बर वार्डमा पर्ने टाँगियाबस्तीमा विद्युत नपुग्दा सो क्षेत्रका १४७६ घरधुरी अँध्यारोमा बस्न बाध्य रहेको विषयमा उक्त वडाका अध्यक्ष केदार बजगाँइले कार्यक्रममा उपस्थित भएर ध्यानाकर्षण गराएपछि कार्यकारी निर्देशक घिसिङले तत्कालै उक्त क्षेत्रमा विद्युतीकरणको पहल थाल्न निर्देशन दिएका हुन् । ‘त्यति ठुलो घरधुरी संख्या अँध्यारोमा बसिरहेको सुन्दा मलाई अत्यन्तै दुख लाग्यो, ढुक्क हुनुस् त्यहाँ तत्काल विद्युत पुग्नेछ’ निर्देशक घिसिङले भने ।
कार्यक्रमलाई सम्बोधन गरि शनिवारनै काठमाडौं फर्किएका घिसिङले पूनः टाँगियाबस्तीको समस्याका विषयमा आफ्नो ध्यानाकर्षण गराएको जानकारी दिंदै सिमरा विद्युत प्राधिकरण प्रमुख रोहीणी पौडेलले आँफूहरुले आइतबारबाटै त्यहाँ स्थलगत अध्ययन गरि तत्काल लागत अनुमान तयार पारी बजेटका लागि केन्द्रिय कार्यालयमा पत्राचार गर्ने बताए ।
२८५६ औं सोनाम ल्होसार विशेष समारोहका अध्यक्ष मंगलसिंह तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेकपा बाराका अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ, जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत शिवराज सेढाँइ, वडा अध्यक्ष रामप्रसाद लामिछाने लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहकजीकरण पत्रकार सुनील गाउँले, विकास पाण्डे र मनिता पाण्डेले गरेका थिए ।





Write your Comment