

सिमरा ।
प्रदेश २ बारा, क्षेत्र नम्बर ३ क की सांसद ज्वाला कुमारी साहले प्रदेश २ लाई कृषितन्त्र मार्फत आत्मनिर्भर बनाउन आवश्यक रहेको बताइन् । बाराको जितपुरसिमरा उपमहानगरपालीका १६ मा शनिबार (सिंचाई आयोजना) डिपबोरिङ्गको बिधिवत शिलन्यास गर्दै साहले प्रदेशमा कृषि क्षेत्रमा थुप्रै आयामहरु रहेको भन्दै किसानमुखी बिभिन्न अनुदान कार्यक्रम मार्फत आत्मनिर्भर बनाई युवा पुस्तालाई समेत कृषिमा आकर्षण गर्न सकिने बताइन् ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी साहले सो भेगमा सिंचाईको अभाव भई नगदेबालीको उत्पादमा ह्रास भएको भन्ने स्थानिय किसानको गुनासोलाई समेत सम्बोधन हुनेगरी बोरिङ्ग निर्माणको पहल गरेको बताईन् ।
यसैगरी कार्यक्रममा बोल्दै जितपुरसिमरा १६ का वडा अध्यक्ष केदार बजगाईले किसानको प्रमुख समस्यालाई समाधान हुनेगरी सिंचाई मन्त्रालयको करिब १ करोडको लगानीमा बहुबर्षिय योजना अन्र्तगत यो कार्यक्रम शुरु गरिएको बताए ।
उनका अनुसार यो आयोजनाले करिब २ सय बिगाह जमिनलाई सिंचाईको ब्यवस्थापन हुने छ भने नगदेबालीलाई प्रत्यक्ष फाइदा पुगी उत्पादनमा बृद्धि हुनेछ । यसैगरी बन क्षेत्र र गाउँको सिमाना नजिकैको आयोजना भएकाले बन क्षेत्रको बुट्यान संरक्षणमा पनी सहयोग पुग्ने बजगाईको धारणा छ । सो क्षेत्र वरपरको जँगलका बुट्यानलाई पानीको अभावमा हुर्किन नसकिरहेको अवस्थामा यस आयोजनाले जँगल र पर्यावरण संरक्षणमा समेत टेवा पुग्ने उनको भनाई छ ।
कार्यक्रममा नेकपा जिल्ला कमिटी सदस्य अमृत शर्मा, वडा नम्बर १६ का बडा सदस्यहरु तुलसा मैनाली, हेम ब. बुर्जा, समाजसेवी माधव मैनाली लगाएतले आयोजनाको सफलताको शुभकामना ब्यक्त गरे । बोरिङ्ग निर्माण समितीका अध्यक्ष राम बहादुर तामाङ्गको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्थानिय सम्बद्ध निकायका प्रतिनिधिहरुको समेत उपस्थिती रहेको थियो ।





Write your Comment