बुहारी भित्रिएको क्षण

रातोघर

 ८ चैत्र २०७६, शनिबार २१:०३  मा प्रकाशित
२९२ पाठक संख्या



आँखा अनायासै भित्ताको घडीमा पुगेछ, पेन्डुलमको चालसँगै सुईले संकेत गरेको थियो– रातको २बज्यो। कोही घुरिरहेका, कोही कोल्टे फेराइको प्रयास गर्दैत कोही मस्त निद्रामा थिए। मलाईभने फिटिक्कै निद्रा परेन। कि असीम खुुसीमा, कि चरम पीडामा मान्छे निदाउन सक्दैन। मेरो खुसीको कुनै सीमा थिएन। घरमा नयाँ सदस्य थपिएको खुसी, छोराको घरजम भएको खुसी– सायद खुसीमै मैले निदाउन बिर्सें कि ! घरभरि पाहुना–पासा, स्वागत सत्कार गर्नैपर्‍यो। कामको धपेडी, थकानले निद्रा आउनुपर्ने हो। तर, बुहारी भित्र्याएको रात सबै सासू आमालाई यस्तै हुन्छ कि ?

विवाह घर न हो,झिलिमिली बत्ती र फूलहरूले सिँगारिने नै भयो। थप आनन्द त त्यतिबेला आयो, जतिबेला मैले दिउँसभर सुन्दर ठानेको यो घरभन्दा पनि सुन्दर बुहारी साँझ घरमा भित्रिइन्, दुलहीका रूपमा। के राम्रो, घर कि दुलही? धेरैबेर तुलना गरिरहेँ। घरले के जित्थ्यो मेरी बुहारीलाई ?यति सुन्दर र भलादमी बुहारी पाएकामा छोरो कत्तिको खुसी थियो थाहा भएन, म यति खुसी थिएँ कि जसलाई वर्णन गर्न थुप्रै शब्द खोजेँ, जुन शब्दकोशमै रहेनछ। मैले सबैभन्दा बढी माया गर्ने छोरो। उसले पनि सबैभन्दा बढी माया गर्नेलाई जीवनसाथी पाएको थियो। तिनै बुहारी भित्र्याउन पाएकामा म जति फुरुंग थिएँ,त्यति दंग को होला र यो दुनियाँमा ! सोचेँ,‘आफ्नो घर–संसार मात्र होइन, प्याराजनहरू आमाबाबा, दिदी बहिनी,दादाभाइ सबैलाई छाडेर एउटा नयाँ संसारमा प्रवेश गरेकी छन्। कठै ! उनको मनमा कति कुरा खेल्दै होला? सासू कस्ती होलिन्? नन्द–देवर अनि परिवारका अन्य सदस्य कस्ता होलान् ? नयाँ घरको दिनचर्या कस्तो होला? परिवारमा घुलमिल हुन अप्ठेरो पो पर्छ कि ? अनेकौँ प्रश्न उब्जेका होलान् उनको मनमा।’कति चिन्तित होलिन् भन्ने लागिरह्यो मनको एउटा कुनामा।

जब छोराले बहुप्रतीक्षित दुलही लिएर आयो, हस्याङफस्याङ गर्दै नाङ्लोमा दियो सामग्री तयार गरेर बुहारीलाई गृह प्रवेश गराएँ, लक्ष्मीको पाइलास्वरूप। हुन पनि साक्षात् लक्ष्मीका रूपमा बत्तीसै लक्षणयुक्त अनुहार प्रदर्शन गरिरहेकी थिइन् उनले। उनको सौन्दर्यले मलाई यति लठ्यायो, मैले सम्पूर्ण दुनियाँ भुलेँ। केही क्षणकै लागि किन नहोस्, जसले ममाथि खुसीको वर्षा गराइरह्यो। आफ्नो थर, घर, रहर र सहर फेरेर पनि खुसीमा रमाउन सक्ने अद्भूत प्राणी हो महिला। र, यही खुसीका लागि उनीहरू जस्तोसुकै संघर्ष गर्न तयार हुन्छन्। मैले यो राम्रोसँग बुझेकी छु, सासूका रूपमा। म मेरी बुहारीले संघर्ष त के सामान्य परिश्रम पनि गर्न नपरोस् भन्ने चाहन्थेँ। त्यसैले लक्ष्मीजस्ती बुहारी भित्र्याउन पाएको खुसियालीबीच पनि मलाई कताकता बुहारी बेखुस त हुँदिनन् भन्ने चिन्ताले सताउँथ्यो। उनका सबै दुःख हरण गर्न सक्दिनँ कि जस्तो लाग्थ्यो। उनलाई खुसी राख्ने प्रण गरेँ, साथै यसमा सफल हुन्छु भन्ने दृढ विश्वास पनि।

आफ्नो थर, घर, रहर र सहर फेरेर पनि खुसीमा रमाउन सक्ने अद्भूत प्राणी हो, महिला।

र, यही खुसीका लागि उनीहरू जस्तोसुकै संघर्ष गर्न तयार हुन्छन्। मैले यो राम्रोसँग बुझेकी छु, सासूका रूपमा। म मेरी बुहारीले संघर्ष त के सामान्य परिश्रम पनिगर्न नपरोस् भन्ने चाहन्थेँ।
मज्जाले अँगालेँ आफूले माया गर्ने बुहारीलाई। कोठामा लिएर गएँ। सजिलो कपडा फेराइदिएँ। छोरालाई भनेँ, ‘दिनभर जग्गेको कामले ऊ थकित होली। पावर–न्याप लिएर तल आऊ। सबैजना मुख हेर्न आतुर छन्। म उनीहरूलाई खाना खुवाउँदै गर्छु।’ मनमा लागिरह्यो–बुहारी कति थकित भएकी होलिन्। म त उनलाई आराम गर्न भन्थेँ। तर के गर्नु ? त्यो गर्न लगाउनु मेरो वशमा थिएन। सामाजिक मान्यताको बन्धनमा जकडिएकी थिएँ म। सबै मान्यजन बुहारीको मुख हेर्न लालायित थिए। जसलाई नकार्ने हैसियत मेरो थिएन। केही छिनपछि बुहारी तल झरिन्, उसै त सुन्दर मान्छे, त्यसमाथि मेकअपको भरथेग। के चाहियो ? सबै बत्ती निभाए पनि हुने जस्तो। कताकता डर पनि लाग्यो, कतै बुहारीलाई मेरै आँखा पो लाग्छ कि! बुहारीप्रति म झुक्किएर पनि नकारात्मक सोच्नै सक्दिनथेँ। त्यसैले अनायासै थु–थु गरेँ,आँखा नलागोस् भनेर। बुहारी र छोरा दुवैलाई मुख हेर्ने व्यवस्था गरिएको ठाउँमा लगेर राखेँ। सबैले मुख हेर्दै थिए,उनी दर्शन गर्दै थिइन्। मलाईचाहिँ उनी निहुरिँदा–निहुरिँदा ढाड पो दुख्छ कि भन्ने चिन्ता लागिरह्यो। कस्तो अचम्म, बुहारी भएको केही घन्टा पनि बित्न पाएको छैन, माया भने छोराकै सरह।

मनमनै कसम खाएँ–उनलाई म आफ्नो छोरालाई भन्दा बढी माया गर्नेछु,जुन माया उनले माइतीमा पाएको भन्दा बढी हुनेछ। यति धेरै माया दिनेछु कि उनीपनि खुसी भएर दिलैदेखि मलाई माया गर्नेछिन्। आखिर, मायाले माया बढाउने हो। आजै हो जस्तो लाग्छ, मेरी मामुले आफ्नी बुहारीलाई धेरै माया गरेको,अनि उनका सम्पूर्ण इच्छा पूरा गरिदिएको। मैले मेरी मामुबाट सिकेको संस्कार पनि यही हो। छोरालाई मेरो घरमा कुनै कुराको कमी गराएकी छैन आजसम्म,बुहारीलाई पनि त्यस्तै किन नगर्ने ?सुन्दर, पढे–लेखेकी बुहारी पाउनु मेरालागि निकै ठूलो विजयसमेत हो। अहिलेसम्म मैले गरेका व्रत/तीर्थका सबै फलसमेत उनलाई लागोस्। बुहारी खुसी भए छोरो खुसी। छोरो खुसी भए परिवार खुसी। के बुहारीको खुसी खोसेर मेरो परिवार खुसी रहन सक्छ र ? अहँ, असम्भव। मनमा कुरा खेल्दै थिए। एकपछि अर्को विषयले प्रवेश पाइरहेका थिए,क्रमशः सवाल आफैँ आउँथे, आफैँ मन्थन गर्थे, आफैँ निष्कर्ष निकाल्थे र आफैँ बिदा भएर जान्थे। त्यही मेसोमा कुन बेला निद्रादेवीको पोल्टामा परेँ,पत्तै भएन।

कसैले ढोका ढकढक्यायो। बिहानीपख सुतेको मान्छे। झसंग भएँ। भित्ताको घडीले संकेत दिँदै थियो– बिहानको ५ बज्यो। नित्यकर्म पछि पूजापाठ सिध्याएँ। थकित बुहारी/छोराको निद्रा नब्युँझियोस् भनेर सबै काम आवाज नआउने गरी बिस्तारै सकेँ। बुहारीलाई चिया–नास्तापनि आफैँ गराउने सोचले भान्सामा लागेँ। सुन्दर बुहारीको अनुहार आँखामै झलझली आइरहेको थियो, जसले मलाई भान्सामा फर्‍याकफुरुक गर्न हौस्याइरहेको थियो। छोराको बिहेका लागि धेरै पाहुना आएका थिए। फुपू सासू मैले भान्सामा काम गरिरहेको एकतमासले हेरिरहनुभएको थियो केही समयदेखि। उहाँ केही समय अघिदेखि भुत्भुताइरहनुभएको थियो। तर के भन्नुभएको भन्ने मेसोचाहिँ पाएकी थिइनँ मैले। केही समयपछि मुखै फोरेर भन्नुभयो–रक्षा,तिमी किन भान्सामा दौडधूप गरिरहेकी? लक्ष्मीलाई उठाऊ। घरको रीतिथिति सुरुदेखि नै सिकाउनुपर्छ। अब उसलाई पो लगाउने हो त घरको जिम्मा। अहिलेदेखि नै नपुल्पुल्याउ है बुहारीलाई। फेरि यत्रो घरको मालिक्नी पछि गएर छिँडीको बास होलानि।

फुपूको कुरा मलाई एकरत्ति पनि मन परेन। भनेँ– होइन दिदी के भनिबक्सेको ?मेरी छोरीको यो घरमा भर्खरै जन्म भएको छ। उसको लाउँलाउँ र खाउँखाउँ भन्ने बेला छ। उसले यो संसार हेर्नुछ, बुझ्नुछ। पढे–लेखेकी छे,हामीले सकेनौं। उसले यो संसार चलाउनु छ। संसारमा राम्रो काम गरेर यो घरलाई चिनाउँछे। यो जस्तो घर परिवार सयौं बनाउनुछ। म उसको यस कार्यमा अघि बढ्न उसलाई सघाउनेछु। उसको इच्छा आकांक्षा पूरा गर्नमा म उसलाई पूरै सघाउँछु। यो जाबो घर–गृहस्थीको काममा मात्र म उसलाई सीमित राख्दिनँ।’ फुपूलाई मेरा कुरा मन नपरेको उहाँले बिगारेको अनुहारले प्रस्ट दर्शाउँथ्यो। अवसर यही हो भनेर यहीबीचमा मैले पनि थपिदिएँ– दिदी,हजुर आफैँ महिला भएर पनि भर्खरै दुलहीका रूपमा भित्रिएकी महिलाप्रति कस्तो नराम्रो सोच राखिबक्सेको ? उनीहाम्रो घरको इज्जत हुन्। बुहारी दुःखी भएको घर पनि कहीँ खुसी हुन सक्छ र ? आफू नारी भएर भर्खरै भित्रिएकी नारीमा कति नराम्रो सोच राखिबक्सेको ! उनी त हाम्री छोरीजस्तै हुन्, हाम्रो घरको इज्जत हुन्।

मलाई कति धेरै इच्छा छ,उनलाई भित्र्याएर सुखी भएको हेर्ने। संसारकी उत्कृष्ट नारीमध्ये एक महत्वपूर्ण नारी बन्नेछिन् उनी। संसारका नारीले देखेको सपना उनले पूरा गर्नेछिन्। मेरो भित्री मनदेखि यही नै शुभकामना छ उनलाई। साथै, मेरो पूरा सहयोग र साथपनि छ उनलाई। उनी यस घरमा नाचेको,खुसी भई यताउति दौडिएको अनि यस घरमा सबैभन्दा बढी खुसी भएको देख्न चाहन्छु म।’ मेरो थप भनाइले फुपू सासूको बिग्रिएको मुहारलाई सामान्य अवस्थामा ल्याउन सकेन। उहाँ खुसी नभएपनि बाहिर बसेर केही बेरदेखि हाम्रो भलाकुसारी सुनिरहेका लक्ष्मी(बुहारी) र नारायण (छोरा) ले भने एक्कासि मलाई अँगालो हाले। लक्ष्मी हर्षाश्रुसँगै बोलिन्, ‘म कति भाग्यमानी, मेरा दुईजना आमा हुनुहुन्छ। हजुरहरूका कामना पूरा गर्ने प्रयास गर्नेछु, अवश्य!’

बुहारी,विवाह

शाेभा ज्ञवाली

Write your Comment