कोरोनाले मानिसलाई के सिकाउँदैछ ? संसारलाई बिल गेट्सको मार्मिक खुल्लापत्र (शक्तिशाली १४ सन्देशहरु)

रातोघर

 २०७६ चैत्र १३, बिहिबार  मा प्रकाशित
४७७ पाठक संख्या


एजेन्सी,

कोरोना भाइरसविरुद्ध लड्न गत महिना विश्व धनाढ्य व्यक्ति बिल गेट्सले आठ करोड ५० लाख डलर सहायता रकम दान गरेका थिए । यो सबै विनाश र विपदको पछाडि आध्यात्मिक रहस्य रहेको पनि बिल गेट्स विश्वास गर्छन् ।

आध्यात्मिक कारण

जे हुन्छ त्यसको पछाडि एउटा दरिलो आध्यात्मिक कारण हुने कुरामा म विश्वास गर्छु, चाहे त्यसलाई हामी राम्रो वा नराम्रो रुपमा लिऔं । जब मैले यसमाथि गरिरिएर विचार गरें, कोभिड-१९ ले हामीलाई के गरेको छ भन्ने कुरामा मैले केही ज्ञान पाएँ जुन म यहाँहरुसँग बाँढ्न चाहन्छु ।

१. हाम्रो धर्म, सम्प्रदाय, पेशा, वित्तीय अवस्था वा हाम्रो कीर्तिको बावजूद यसले हामीलाई सबै समान छौं भनेर सम्झाएको छ । यो रोगले हामी सबैलाई समानरुपमा व्यवहार गरेको छ र सम्भवतः हामीले पनि यस्तै गर्नुपर्छ । यदि तपाईं विश्वास गर्नुहुँदैन भने टम हान्कलाई सोध्नुहोस् ।

२. यसले हामी सबै एकअर्कासँग जोडिएको कुरा सम्झाएको छ । कसैलाई प्रभाव पार्ने एउटा कुराले अर्कोलाई पनि प्रभाव पार्छ । यो भाइरसलाई राहदानी नचाहिने हुँदा हामीले बनाएको झूटो सीमाको कुनै मूल्य मान्यता नरहेको हामीलाई बताउँछ । यसले हामीलाई छोटो समयका लागि दबाबमा राखेर यो संसारमा दमन र दबाबमा बाँचिरहेकाहरुको अवस्थाको सम्झना गराएको छ ।

३. यसले हामीलाई हाम्रो स्वास्थ्य कति महत्वपूर्ण छ भनेर देखाएको छ र हामी कति अपौष्टिक खाने कुरा खाएर स्वास्थ्यको बेपर्वाह गरिरहेको छौं भनेर सम्झाएको छ ।

४. यसले हामीलाई हाम्रो जीवन कति छोटो छ भनेर सम्झाएको छ र यो छोटो जीवनमा हाम्रो लागि के गर्न आवश्यक छ भन्ने कुरा सिकाएको छ । हामीले गर्नुपर्ने त्यो काम एकअर्काको सहयोग नै हो । विशेषगरी ती बिरामी मानिसहरुको । हाम्रो उद्देश्य भनेको ट्वाइलेट पेपर रोल किन्ने होइन ।

५. यसले हाम्रो समाज कति र कसरी भौतिकवादी बनेको छ भनेर देखाएको छ । आपतको समयमा हाम्रो लागि खाना, पानी र औषधि कति महत्वपूर्ण छ भनेर देखाएको छ, जबकि हामी अन्य समय अनावश्यक वस्तुलाई बढी महत्व दिइरहेका हुन्छौं ।

६. यसले हामीलाई हाम्रो परिवार र घरेलु जिन्दगीको महत्व सिकाएको छ जुन हामी अरु समय बेवास्ता गर्दै आएका छौं । यसले हामीलाई हाम्रो घर फर्कन भनेको छ र घरमा बसेर फेरी परिवार बनाउने र पारिवारिक एकतालाई मजबूत बनाउन मौका दिएको छ ।

हाम्रो वास्तविक काम

७. यसले हामीलाई हाम्रो पेशा हाम्रो वास्तविक काम होइन भनेर सिकाएको छ । त्यो हामीले गर्ने काम हो तर त्यति मात्रै गर्नलाई हामी जन्मिएको होइन, हामीले गर्ने पेशा मात्रै हो भनेर सम्झाएको छ । हाम्रो वास्तविक काम भनेको एकअर्कालाई हेरविचार गर्ने, सुरक्षा दिने र एकअर्काको फाइदाको लागि काम गर्ने हो ।

८. यसले हामीलाई हाम्रो अहंकार वा दम्भको परीक्षण गर्न सम्झाएको छ । हामी आफूलाई जति नै ठूलो सोचौं वा अरुले हामीलाई जति नै ठूलो सोचून् तर एउटा भाइरसले हाम्रो अवस्थालाई निस्क्रिय बनाइदिन सक्छ ।

९. यसले हाम्रो स्वतन्त्र कर्मको शक्ति हाम्रो हातमा रहेको कुरा सिकाएको छ । हामी सहयोगी, दयालु, सहायक बन्छौं वा स्वार्थी, आफ्नो बारेमा मात्र सोच्ने बन्ने हो यो हाम्रो हातमा छ । वास्तवमा अप्ठ्याराहरुले मानिसको असली रुप सामुन्ने ल्याउँछ ।

१०. यसले हामीलाई हामी धैर्यवान हुन सक्छौं वा आत्तिन्छौं भन्ने कुरा देखाएको छ । हामी या त यो अवस्था पहिले पनि विश्वमा आएको थियो र अहिले पनि टरेर जान्छ भनेर बुझ्छौं या त यो नै विश्वको अन्त्य हो भनेर सोचि आत्तिन थाल्छौं ।

११. यसले हामीलाई यो अन्त्य बन्नसक्छ या त नयाँ सुरुवात बन्न सक्छ भनेर सिकाएको छ ।

१२. यसले हामीलाई हाम्रो पृथ्वी बिरामी छ भनेर बताएको छ । हामी हाम्रो ट्वाइलेट पेपरको रोल्स सकिएको जति चाँडो ख्याल गर्छौं, हाम्रो वनविनाशको अवस्थालाई पनि त्यत्ति नै चाँडो बुझ्न सुझाएको छ । हाम्रो घर बिरामी छ । त्यसकारण हामी पनि बिरामी छौं ।

१३. यसले हामी सबैलाई अप्ठ्यारा समयपछि सजिलो समय आउने कुरा सिकाएको छ । जीवन एउटा चक्र जस्तो छ, अहिलेको संकट पनि चक्रको एउटा चरण हो , हामी आत्तिनु हुँदैन, यो पनि टरेर जान्छ ।

१४. धेरैले कोरोना (भाइरस कोभिड-१९) लाई ठूलो प्रकोपको रुपमा देखिरहँदा मैले यसलाई एउटा गल्ती सच्याउने मौकाको रुपमा देखेको छु । हामीले बिर्सिएको महत्वपूर्ण पाठ यसले सम्झाएको छ । हामीले यसबाट पाठ सिक्ने कि नसिक्ने त्यो हामीमै निर्भर छ ।

साझापोस्टकर्मी युजु राईले गरेको भावानुवाद-

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban