प्रहरीका दु:ख: भोकै-तिर्खै सुरक्षा

रातोघर

 १४ चैत्र २०७६, शुक्रबार २१:२२  मा प्रकाशित
५५७ पाठक संख्या



 

भद्रकाली मन्दिरको दक्षिणतिरको बाटो । एकातिरको सडक प्रयोग गरेर हिँडे शहीद गेट पुगिन्छ, अर्कोतिर लागे सिंहदरबारको दक्षिण गेट । त्यहीँ बसे मन्दिर आसपासका रूखहरूको शीतलतासँगै मन्दिरको दर्शन पनि गर्न सकिन्छ । त्यहीँ त्रिकोणात्मक विन्दुमा शुक्रबार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी तैनाथ थिए ।

प्रयोजन थियो, विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसर (कोभिड- १९)का कारण गरिएको ‘लकडाउन’ पालना गराउनु । त्यो नै सुरक्षाकर्मीको कर्म हो, धर्म पनि ।

३ दिनको ‘लकडाउन’को घर बसाइपछि हामी पनि उपत्यकाको अवस्था बुझ्न विभिन्न ठाउँ हुँदै त्यहाँ पुग्दा सुरक्षाकर्मीको अवस्था आन्दोलनमा खटिएको भन्दा फरक पाएनौँ । उनीहरूको मुखमा न कोरोना भाइसरबाट बच्ने सर्जिकल मास्क थियो, न त हातमा पञ्जा नै । सोध्यौँ, ‘कोरोनाबाट बच्ने पञ्जा पनि लगाउनुभएको छैन त ?’

उत्तर सोचेको भन्दा अर्कै आयो, ‘सर, केको कोरोनाबाट बच्ने मास्क र पञ्जा ! भोकभोकै मर्न लागिसक्यौँ । १२ घण्टा भयो ड्युटीमा पानी पनि तपाईहरु जस्तै पत्रकार, संघसंस्थाले छाडेर मात्र खान पाइरा’छौँ, अन्त कतै खाजा खान जाऔँ भने पसल सबै बन्द छन् । कोरोनाबाट बच्ने सामानको कुरा त नगरौँ ।’

यति कुरा गर्दा सशस्त्र प्रहरी बलका सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई बिस्कुट र पानी पठाएको भ्यान आइपुग्यो । उनीहरू हत्तपत्त गाडी नजिक गए । बिस्कुट र केत्लीमा ल्याएको चिया खान थाले । अर्को सुरक्षा सङ्गठन नेपाल प्रहरीका सुरक्षाकर्मी र ट्राफिक प्रहरीलाई भने असहज भयो ।

सशस्त्र प्रहरीका एक जवानले आग्रह गरे, ‘आउनुस्, भोक लागेको भए चिया-बिस्कुट खाऔँ, अप्ठ्यारो मान्नुपर्दैन ।’ ट्राफिक प्रहरीका महिलाले सशस्त्र प्रहरी बलको चिया-बिस्कुट त खाए तर अनुहारमा चमक थिएन ।

कोरोनाको उच्च जोखिममा उपत्यकाका विभिन्न ठाउँमा खटिएका सुरक्षाकर्मीमध्ये कोरोनाबारे हामीले धेरैजसो प्रहरीलाई नै सोधेका थियौँ । उनीहरू सबै जनाको एउटै स्वर छ, ‘सङ्गठनले कोरोनाबाट बच्ने सामग्री केही पनि दिएको छैन । मास्क र ह्याण्ड स्यानिटाइजरसमेत आफैँले किनेर प्रयोग गरिरहेका छौँ ।’

भीडभाड र कोरोनाको आशंकामा अस्पताल जानेदेखि अस्पतालसम्म पुर्‍याउनुपर्ने प्रहरीलाई कोरोनाबाट बच्ने सामान्य सामग्रीसमेत नहुँदा उनीहरू कोरोनाको उच्च जोखिमा रहेको चिकित्सकहरू नै बताउँछन् ।

पीपीई उपलब्ध हुन्छ : प्रहरी प्रवक्ता

फिल्डमा खटिएका प्रहरीलाई पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) उपलब्ध हुने प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) उमेशराज जोशीको भनाइ छ ।

यो नयाँ प्रकारको भाइरस हो । हामीले अरू प्रकारको विपदसँग सामना गरेका छौँ, कोरोनासँग बच्ने भनेर हामीसँग छुट्टै पीपीई छैन । ह्याण्ड स्यानिटाइजर, मास्क सम्बन्धित प्रहरी कार्यालयबाट उपलब्ध गराउने भनेका छौँ ।’

विभिन्न संघसंस्थाले प्रहरीलाई पीपीई उपलब्ध गराउने क्रममा रहेको र प्रहरी सङ्गठन आफैँ पनि पीपीई खरिद गर्ने क्रममा रहेको एसएसपी जोशीले बताए ।

Shilapatra.com

Write your Comment