निजी अस्पतालले मान्दैनन् उपचार गर्न, सरकारीमा ठाउँ छैन

रातोघर

 १५ चैत्र २०७६, शनिबार १४:१२  मा प्रकाशित

 

१५ चैत, वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका-५ का रविकुमार गुप्तालाई सञ्चो नभएपछि चैत १० गते नारायणी अस्पतालमा उनी आफैं चेकजाँचका लागि गए । अस्पतालमा उनले रगत र पिसाब जाँच गर्न दिए र चिकित्सकले लेखिदिएको औषधि बोकेर उनी घर फर्किए ।

तैपनि उनलाई निको भएन । ज्वरो एक सय डिग्री फरेनहाइट भन्दा तल झरेन । ज्वरोले थलिएपछि उनी एक्लै अस्पताल जान नसक्ने अवस्थामा पुगे । रविलाई उनका दाजु राजेशले उपचारका लागि फेरि अस्पताल पुर्‍याए ।

अस्पतालबाट पहिले परीक्षण गराएको रगत र पिसाबको रिपोर्ट लिए । रविले चिकित्सकसँग दिसा नखुलेको थप समस्या सुनाए । चिकित्सकले लेखिदिएको थप औषधिसहित उनीहरु घर फर्किए ।

औषधि सेवनपछि उनको दिशा खुलेपनि ज्वरो ठिक हुन सकेन । भाइलाई ज्वरो ठिक नभएपछि राजेश शुक्रबार साँझ ५ बजेतिर स्थानीय मेडिकलमा सल्लाह लिन पुगे । मेडिकलले वीरगञ्ज लिएर जान सुझाव दिए । राजेश भाइलाई लिएर वीरगञ्ज स्थित तराई हस्पिटल एण्ड रिसर्च सेन्टरमा पुगे । ‘गेटमा सुरक्षा गार्डले थर्मल गनले रविको ज्वरो नाप्ने बित्तिकै भित्र जानै दिएनन्,’ राजेश भन्छन् । भाइलाई बाहिरै छोडेर उनी अस्पताल प्रशासनसमक्ष पुगे । जहाँ राजेश र अस्पताल प्रशासनबीच केहीबेर भनाभन पनि भयो । तरपनि अस्पतालले भर्ना लिन मानेन । ज्वरोको बिरामी हामी जाँच्दैनौं भन्दै अस्पतालले राजेशलाई फर्काइदियो । राजेशले भने, ‘त्यसपछि भाइलाई लिएर फेरि नारायणी अस्पतालमा पुगेँ ।’

नारायणीमा लैजाँदा रविलाई ज्वरो आइरहेकै थियो । प्रारम्भिक चेकजाँचपछि चिकित्सकले रविलाई सुई लगाईदिए । एक सातादेखि ज्वरो आइरहेका बिरामीलाई चिकित्सकले आइसोलेसनमा राखेर उपचार गर्नुपर्ने ठाने । अस्पतालमा ५ वेडको आइसोलेसनमा शंकास्पद मानिस राखिएका छन् । त्यसैले नेशनल मेडिकल कलेजमा रिफर गरियो ।

तर, राति नेशनल मेडिकल कलेजले बिरामीलाई फर्काइदिएको भन्दै बिरामी पुनः नारायणीमै आइपुगेको डा‍. दिपक चौरसिया बताउँछन् । त्यसपछि बयोधा अस्पतालतिर लैजाने कि भन्ने तयारी हुँदै गर्दा ज्वरो पनि घटेका कारण बिरामीका आफन्तले रविलाई घरतिरै लैजाने निर्णय गरे ।

रवि गुप्ता एक उदाहरण मात्र हुन्। कोरोना भाइरस (कोभिड–१९)को लक्षण मध्ये ज्वरोलाई मुख्य मानिएको छ । ठाउँ ठाउँमा थर्मल गनले संक्रमण भएनभएको यकीन गर्नका लागि सर्वसाधारणको तापक्रम लिने गरिएको छ । तर, यसले गर्दा सामान्य ज्वरो आएका बिरामी र उनीहरुका आफन्तले सास्ती भोग्नु परिरहेको छ । वीरगञ्जका निजी अस्पतालले ज्वरो आएका बिरामीलाई उपचारका लागि नारायणी अस्पतालमै रिफर गरिरहेका छन् । फिभर क्लिनिक नै सञ्चालन गरेको नारायणीमा दिनहुँ निजी अस्पतालमा भर्ना नलिएको गुनासो गर्दै बिरामी उपचारका लागि आउने गरेका छन् । बारा र रौतहटबाट समेत ज्वरोका बिरामी नारायणी अस्पतालमै आइरहेको चिकित्सकहरु बताउँछन् ।

डा. चौरसियाका अनुसार १२ जना ज्वरोका बिरामी आउँदा आठ जना जति अन्य अस्पतालले नलिएको गुनासो बोकेर आउँछन् । ‘कोभिड–१९ को हल्ला चलेदेखि निजी अस्पतालले ज्वरोका बिरामीलाई गेटबाटै फर्काइरहेका छन्,’ डा चौरसियाले भने, ‘ हिजै बेलुका नेशनल मेडिकल पठाएका एउटा बिरामी फिर्ता आए । नारायणीको ५ वटा आइसोलेसन वार्ड खाली छैन । शंकास्पद बिरामी आउँदा भर्ना गर्न गाह्रो छ ।’

ज्वरोको बिरामी आउँदा कुनैपनि निजी अस्पतालले लिन नमान्ने गरेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्याय बताउँछन् । ‘पहिले त ज्वरो आएको बिरामी कुनैपनि निजी अस्पतालले लिँदै लिँदैनन्,’ उनले भने, ‘हाम्रो फिभर क्लिनिकमा चेकजाँचपछि कतै आइसोलेटका लागि पठाउँदा पनि अरुले लिन मान्दैनन् । बिरामीले हैरानी व्यहोर्नु परिरहेको छ ।’

किन लिन मान्दैनन् त निजी अस्पताल ?

नेशनल मेडिकल कलेज वीरगञ्जले ५० बेडको आइसोलेसन वार्ड तयार गरेको छ । तर, नेशनल मेडिकल कलेज कोभिड–१९ को शंकास्पद बिरामीलाई लिन नसक्ने अवस्थामा रहेको अस्पतालका प्रमुख डा. प्रमोद सर्राफ बताउँछन् । ज्वरोको बिरामीलाई नभई कोभिड– १९ को शंकास्पद केसलाई भने नारायणी मै पठाउने गरेको उनको भनाई छ ।

‘ज्वरो कोभिड-१९ संक्रमण भएका कारण मात्रै आउँदैन, अन्य ब्याक्टेरियल कारण पनि हुन्छ, टाइफाइड मलेरियाका कारण पनि हुनसक्छ । पिसाबमा इन्फेक्सन हुँदा आउनसक्छ । त्यसका लागि छुट्टै फिभर ओपिडी र फिभर वार्ड नै बनाइसकेका छौं,’ उनले भने, ‘ तर, कोभिड–१९को शंकास्पद केसका लागि स्वास्थ्यकर्मीको बचाउमा जुन जुन सामाग्री चाहिन्छ, त्यो हामीसँग छैन । अस्पतालमा भएको ग्लोब, मास्क मात्रै हो । एप्रोन त लगाउँछन्, कोभिड-१९ का लागि त्यो उपयुक्त हुँदैन, त्यसैले स्वास्थ्यकर्मी पनि शंकास्पद केस आउँदा उपचार गर्न मान्दैनन् । ’

भौतिक पूर्वाधार र जनशक्ति पर्याप्त रहेकोले राज्यले पीपीई उपलब्ध गराउने बित्तिकै काम सुरु गर्न सकिने दाबी उनको छ ।

‘भौतिक पूर्वाधार, जनशक्ति छ, प्रमुख जिल्ला अधिकारी सहितको टोली आएर अवलोकन पनि गर्नुभएको छ । तर, स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने पीपीई नारायणीलाई मात्रै उपलब्ध गराइएको छ । कल्चर डाइग्नोसिस गर्ने भिटिएम पनि नारायणीमा छ ।’ डा सर्राफले भने ‘दुई सय चिकित्सक, दुई सयकै हाराहारीमा नर्सिङ स्टाफ छन्, अन्य बिरामी छन्, विद्यार्थी छन् । उनीहरुलाई जोखिममा राखेर कसरी काम गर्ने ? एउटा सिफ्टमा आठ जना चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी खट्नुपर्ने हुन्छ, उनीहरुका लागि पीपीई उपलब्ध भए काम सुरु गर्न सकिन्छ ।’

आइसोलेसन बनाउँदैमा चिकित्सकको टोली आएर पीपीई नल्याई किन आइसोलेसन बनाएको भनेर कराएको उनी बताउँछन् ।

प्रजिअ भन्छन् : उपचारका लागि व्यवस्था मिलाउँछौं

निजी अस्पतालले चिकित्सकका लागि चाहिने ‘व्यक्तिगत सुरक्षा उपकरण’ पीपीई खरिदका लागि चासो नदेखाएको नारायणीका मेसु उपाध्याय बताउँछन् । सरकारको मुख ताकेर बस्दा पीपीई नपाएको र निजी अस्पतालले शंकास्पद बिरामीलाई फर्काइरहेको उनको तर्क छ ।

‘सम्भावित संक्रमणले शंकास्पद बिरामीलाई सामान्य बिरामीसँग राखेर उपचार गर्न मिल्दैन । त्यसका लागि अब्जर्भेसन वार्ड, क्वारेन्टाइन वा आइसोलेसन चाहिन्छ,’ डा. उपाध्यायले भने ‘त्यहाँ उपचारमा खटिने चिकित्सक र सहयोगी सबैलाई पीपीई चाहिन्छ । पीपीई संघ, प्रदेश कसैले दिएको छैन, नारायणी अस्पतालले आफैंले जोहो गरेको हो । अरुले जोहो गर्न सकेनन् ।’
नारायणीले आफ्नै खर्चमा प्रतिगोटा १२ हजारका दरले एक सय वटा पीपीई किनेर मौज्दात राखेको उनी बताउँछन् ।

पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीले भने भएका स्रोत साधनको सदुपयोग गरेर शंकास्पद बिरामीको उपचार गरिने बताउँछन् । ‘जिल्लामा आइसोलेसन, क्वारेन्टाइन बनाएका छौं भन्ने तर ज्वरो आउने बित्तिकै नारायणी पठाउने गरिएको पाएका छौं,’ उनले भने, ‘साँच्चिकै आईसोलेशन राख्नुपर्ने बिरामीलाई जसरी पनि उपचार गराउँछौं । हामीसँग भएका स्रोत साधनको अधितम सदुपयोग गर्छौ ।’

नारायणीको आइसोलेसन भरिएपनि शंकास्पद बिरामीलाई लिन नेशनल मेडिकललाई भनिसकेको उनले बताए । ‘पीपीई नहुँदा समस्या भएको हो, हामीले एकसय पिस मगाएका छौं । महानगरपालिकाले पनि मगाएको भन्ने सुनेको छु । एक दुई दिनमा आइपुग्छ,’ उनले भने, ‘आवश्यक पर्दा नारायणीमा भएको दुई चार पिस पठाएरै भएपनि काम चलाउछौं ।’

 

Onlinekhabar.com

Write your Comment