प्रवासी अनुभव : अहिलेलाई शान्त, सौम्य र अनुशासित बनौँ

रातोघर

 १५ चैत्र २०७६, शनिबार १५:१८  मा प्रकाशित
१५ पाठक संख्या


भवानी नेपाल
चैत १५, २०७६ | शनिबार | 


मेरो स्थायी घर सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका, वार्ड नं १२ खनारमा पर्छ।

हाल म वैदेशिक रोजगारीको सिलसिलामा युएइ देशको नामि सहर दुबईको एक प्रतिष्ठित रिटेल मार्केटमा विगत ४ वर्षदेखि सेल्सम्यानको रूपमा कार्यरत छु। बुबाआमाको डाक्टर, इन्जिनियर बनाउने सपनालाई सपनामै राखेर सन् २०१२ मा कतार हानिएको थिएँ। कतारको कमाइले चित्त नबुझेपछि म सन् २०१६ मा दुबई आएको हुँ।
अहिले कोरोना भाइरस कोभिड-१९ को त्रासले विश्व भयावह अवस्थामा गुज्रिरहेको सर्वविदितै छ। यो अनुभव/अनुभुति लेख्दासम्म विश्वमा ४,३६,६२३ जनामा कोरोनाको सङ्क्रमण देखिसकेको छ जसमा १९,६४३ जनाले ज्यान गुमाइसकेको जानकारी प्राप्त भएको छ।
म रिलेट मार्केट (डिपार्टमेन्ट स्टोरमा) को कर्मचारी भएकोले हाम्रो दैनिकी सदाझैं चलिरहेको भने दुबईमा अन्य सबै सेवा सुविधा लगायत सम्पूर्ण क्षेत्रमा काम ठप्प गरिएको छ।
हाल म जागिरमै छु, सदाभन्दा धेरै त्रास धेरै जोखिम मोलेर ग्राहकहरूलाई अझ धेरै सेवा दिइरहेको छु। जसले मेरो जिम्मेवारी त पूरा हुन्छ, तर जिम्मेवारीसगैँ मनमा डर भने यथावत् नै रहेको छ।
मलाई यतिबेला आफ्नो भन्दा धेरै विश्वको आफ्नो देशको र घर परिवार समाजको चिन्ताले मलाई अलि बढी सताइरहेको छ। सायद विपत्तिमा देशप्रेम, परिवारप्रेम अलि बढी अनुभव हुँदो रहेछ।
अब के होला? के गरी अगाडि बढ्ने? नेपाल जान पाइने हो कि नपाइने हो? पारिवारिक मिलन कहिले हुने हो? कोरोनाको प्रभाव नेपालमा थेग्नै नसक्ने गरी बढयो भने के होला नेपाल र नेपालीहरूको अवस्था? यस्तै प्रश्नहरू आइरहन्छन् मनमा। भोलि के होला? भन्ने भयले मथिङ्गलमा ठुलो भुइँचालो आइरहेको छ। रातमा निन्द्रा राम्रोसँग लाग्न छाडेको छ।
मेरो अहिलेसम्मको अवस्था भने ठिकै छ। डर-त्रास जस्ता भावनात्मक रोग बाहेक कुनै पनि रोग छैन। नहोस्, भगवानसँग प्रार्थना गर्दछु।
हिजोआज मैले मेरो परिवारलाई अरूबेला भन्दा धेरै समय दिने गरेको छु। समाचार हेर्नु/पढ्नु र सही सत्य समाचार सामाजिक सञ्जाल फेसबुकमार्फत् धेरै मित्रहरू सम्म पुर्‍याउनु मेरो दैनिकी बनेको छ। चिन्ताले हरपलको समाचारबाहेक अन्य मनोरञ्जनका सामग्रीतिर मेरो ध्यान गएको छैन।
मेरी जीवनसाथी करुणा भन्ने गर्छिन्, ‘हामीलाई मात्र सल्लाह दिने हैन, हजुर पनि सचेत रहनुहोला, विदेशमा पनि निकै डरमर्दो छ, अरे! खानामा विशेष ध्यान दिनुहोला! बाहिरफेर बिना काम नहिड्नुहोला! माक्स लगाउनु, पन्जा लगाउनुहोला!’
करुणामा मायावी सुझावलाई मनमनै गुन्नेहर्छु। अनि सोच्ने गर्दछु आफै, ‘माया होस् त यस्तो! अहो! भौगोलिक रूपमा टाडा भए पनि भावनात्मक रूपमा कति नजिक छौँ हामी!’
कोरोनाले भावनात्मक सम्बन्ध अझ सुदृढ बनाएको होला अरूहरूको पनि- करुणा र मेरो झैँ। अरूबेला पनि हृदय ओइराएर माया गर्ने मेरी करुणा यो विपत्तिमा कति विचलित भएकी होलिन्? म उनको असीमित मायालाई प्रवासबाट भए पनि महसुस गर्न सक्छु।
हरेक क्षण परिवारलाई सुरक्षित र सचेत रहेन प्रभावकारी सुझाव र सल्लाहहरू दिइरहेको हुन्छु।
युएइ सरकारले कोरोनाको फैलावटलाई सूक्ष्म तरिकाले अध्ययन गरेको छ। जनतालाई सुरक्षित र सचेत गराउनका निमित्त व्यवहारमा पनि लागु गरेको पाइन्छ। दुईजना नेपालीहरूमा कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो र हाल वहाँहरूको स्वास्थ्य अवस्थामा सुधार आएर अस्पतालबाट डिस्चार्ज भइसक्नु भयो। पछिल्लो तथ्यांकअनुसार पुन: दुईजना नेपाली कोरोना संक्रमित भएका छन्। यो महामारीलाई तह लाउन युएइ सरकारको अथक प्रयत्न देखिन्छ।
मार्चको अन्तिम सातामा युएइ सरकारले सारा बाटोघाटो, कुनाकाप्चा, घरहरू सरसफाइ गरिरहेको छ। कोरोनालाई नियन्त्रण गर्न यो सरकारले गरेको प्रयास सराहनीय छ। कोही संक्रमण परेमा आफ्नै देशका बासिन्दा सो सरह अन्तर्राष्ट्रिय गुणस्तरको उपचार सुविधा नि:शुल्क दिएको छ। युएइ सरकारप्रति हामी ॠणी छौं। कृतज्ञता प्रकट गर्दछौं।
यो अवस्थामा सबै आतंकित भएका छन् र हाम्रो मष्तिस्कमा पनि सोही अनुसारको एउटा आतंक फैलिएको हुनाले स्वतः हाम्रो दैनिकीमा केही परिवर्तनहरू आउनु स्वभाविकनै हो। अरू बेला भन्दा धेरै सचेत रहनु, माक्स पन्जाको प्रयोग गर्नु, हरेक केही मिनेटको फरकमा साबुनपानीले हात धुनु, सामाजिक दुरी कायम राख्नु यावत् कुराहरूमा ध्यान गएको छ।
अन्त्यमा, हामी परदेशमा रहेका परदेशीहरूको अभिभावक भनेकै राजदुत हो र हाम्रो घर राजदुतावास हो।
अहिलेसम्म नेपाली राजदूतावासले चालेका कदमहरू उदाहरणीय छन्। यो कोरोना भाइरस सम्बन्धी विविध उपयोग जानकारीहरू नेपाली दूतावासबाट पनि सार्वजनिक भइरहेका छन्। हामीलाई वहाँहरूले पलपलमा नयाँ-नयाँ सूचना र सतर्कताबारे जानकारीहरू, गाह्रो-साह्रो पर्दा सम्पर्क गर्ने मोबाईल नम्बरहरू उपलब्ध गराइरहनु भएको छ।
सही सत्य समाचारहरू सम्प्रेषण गर्नु हुने युएइमा कार्यरत सम्पूर्ण पत्रकार मित्रहरूलाई म नमन गर्न चाहन्छु।
नेपाल सरकारले यहाँ रहेका नेपालीहरू जो अत्यावश्यक कारणले घर फर्किन चाहन्छन्, वहाँहरूलाई नियम कानुनमा रहेर शारीरिक चेकजाँच गरेर सकुशल घर फर्किने वातावरणमा केही विशेष र प्रभावकारी कदमहरू चाल्नुपर्छ। केही दिनको अन्योलता पछि स्थिति नियन्त्रणमा आउने विश्वास लिएको छु। युएइ र नेपालबीच आवागमन खुल्नेछ भन्ने विश्वास लिएको छु। यसमा नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। यता हामी सुरक्षित छौँ। तपाईंहरू पनि नेपाल सरकारले लागू गरेको लकडाउनको पुर्ण पालना गरेर बस्नुहोला। केही दिनको अन्योलतापछि हामी पुनः आफ्नो लयमा फर्किनेछौँ। अहिलेलाई शान्त, सौम्य र अनुशासित बनौँ।

 

nepalnews.com

Write your Comment