बारामा ‘लकडाउनको सकस्’ :  ‘ज्यालादारीमा बाँच्नेको चुल्हो बल्न छाड्यो’

उनीहरुलाई संक्रमणको भन्दापनी भोकसंग लड्न ठुलो चुनौती छ । उनीहरुसंग न मास्क छ न स्यानिटाइजर । केवर छाक टार्ने ध्याउन्न मात्र छ ।

रातोघर

 १९ चैत्र २०७६, बुधबार ०८:१७  मा प्रकाशित

सिमरा , १९ चैत्र ।

कोभिड १९ को संक्रमणले बिश्व असान्त छ । छिमेकी मुलुक भारतको दैनिक सँक्रमण बृद्धिदरले नेपालीलाई अत्याइरहेको छ । डर र त्रासका बिच नेपाल सरकारले पनी देशैभरी लकडाउन गरिदियो ।

हुनेखानेले घरमै बसेर मिठो पकपानसंगै इन्टरनेट र टेलिभिजनले दिन बिताईरहेका छन् । सामाजिक संजालभरी घरघरका कहानी पोस्टिएका छन् । ‘आजको परिकार’ पोस्टिन्छन् । नाचगान पोस्टिन्छन् ।

स्यानिटाइजर बेचेर औषधी पसलेलाई भ्याई नभ्याई छ । उता मास्कको कालोबजारी मौलाएको छ । तरकारीको दररेट आकासिंदो छ । खाद्यान्न पसल उत्तीकै भिड छ ।

मरिन्छ कि भन्ने पीर संगै हुनेखानेले होम क्वारेन्टाइनमा राम्रेैसंग बासिरहेका छन् । सरकारले पनी लकडाउन गरी होम क्वारेन्टाइन नबस्ने बिरुद्ध प्रहरीलाई कठोर हुन आदेश दिइरहको छ ।

तर बारामा ज्यालादारी र बिहानभरी काम गरेर बेलुका छाक टार्ने परिवारहरुको जिवन भने कठिन बन्दै गइरहेको छ । मंगलबार बाराको सिमरा स्थित कोरोना अस्थाई अस्पताल अघि नगरपालीकाले संक्रमण बिरुद्धको औषधी छर्किने कार्यक्रमको भिडमा नजिकै घर भएकी साम्भा पासवान आइपुगिन ।

‘यहाँ चामल बाँडन लागेको हो ?’ उनले जिज्ञासा राखिन् । उनले गुनासो थपिन, खानेकुरा सकियो । हिँजो माइतीबाट ल्याएको चामल पनी सकिनै लाग्यो । बेलुकालाई पुगे बिहान के खाने भन्नेमा साम्भा आत्तिएकी छिन् ।

चिया खाइरहेका केहीले उनलाई हातमा पाउरोटी र चिया थम्याइदिए । तर उनले घर लैजाान खोजिन । ‘चारवट बच्चा छन् , हामी घरमै बाँडेर खान्छौँ ।’ उनले निरास हुँदै भनिन् ।

साम्भाको माइतीबाट ल्याएको बेलुकाको छाक मात्र छ । आज नगरपालीकाले केही दिन्छ कि भन्ने उनको आस रहेछ । तर नगरपालीकाले बाटोमा औषधी छिट्न तयारी गरेको भन्ने सुनेपछी उनी आँखाभरी आँसु लिँदै घर फर्किन् ।

उनको पथलैया बिरगञ्ज औधोगिक करिडोर स्थित सुकुम्बासी बस्तीमा बाँसले बेरेको घर छ । उनी जस्तै छाक टार्न नसक्ने अन्य धेरै परिवार छन् गाउँमा ।
प्राय गाउँका सबै ज्यालादारी र मजदुरी गरेर छाक टार्थे । लकडाउन पछी २÷४ दिन पुग्ने छाक उनीहरुले खाइसके । अब कमाउने ठाउँ पनी छैन, खाने छाक पनी छैन ।

नागेन्द्रको चुल्हो बलेन

राम्भाको घरसंगै जोडिएको नागेन्द्र प्रसाद यादवको हिँजो साँझ चुल्हो बलेन । बिहान छिमेकीको घरबाट सापटीमा एक छाक चामल ल्याएर दिनभरी र रातका लागी पनी पुग्नेगरी खाए । अब भोलीको छाक कसरी टर्ला भन्ने पिरले उनीहरुलाई सताइरहेको छ ।

वडाले खानेकुरा दिन्छ रे भन्ने उनीहरुले सुनेका छन् । तर चुनावमा भोट माग्दा बोलेजस्तो अपठ्यारो पर्दा सहयोग गर्न कोही नआउने रहेछन् भन्ने नागेन्द्रलाई लागेको छ ।

‘‘अब तपाईहरुले केही गरिदिए बाँच्ने हो, नत्र के खाने ?’ उनले प्रश्न गरे, ‘भोक लागे सुत्ने हो, तपाई आफै हेर्नुस न अलपत्र भयौँ ।’

उता नगरपालीकाले भने प्रत्येक वडामा समिती नै गठन गरेर घरघरमा खाद्यान्न पुर्याउने र नागरिकका समस्या समाधान गर्ने भन्दै समिती समेत गठन गरेको छ । यस्तै बिपन्न र दैनिक ज्यालादारीका नागरिकलाई लकडाउन अवधीभर सामान्य खाद्यान्नको अभाव हुन नदिन खाद्यान्नको प्याकेज बितरण गर्न भन्दै प्रत्येक वडामा लगत संकलन गर्ने कार्य शुरु गर्रे तयारी गरिएको छ ।

तर चुल्हो निभ्नै लागेका नागेन्द्र र साम्भा जस्तै गाउँमा अन्य धेरै छन् । त्यसो त यि दुई परिवार जिल्लाका प्रतिनिधी परिवार हुन् । उनीहरुलाई संक्रमणको भन्दापनी भोकसंग लड्न ठुलो चुनौती छ । उनीहरुसंग न मास्क छ न स्यानिटाइजर । केवर छाक टार्ने ध्याउन्न मात्र छ ।

यसरी दलित र गरिब बस्तीहरुमा स्थानिय तहले लकडाउन अवधीभर बेलैमा खाद्यान्नको जोहो नगर्ने हो भने उनीहरुलाई संक्रमणले भन्दा भोकले छिट्टै थल्याउँछ ।

Write your Comment