प्रदेश २ का १४४ वटा क्वारेन्टाइनमा ९३६ जना, नाकाबाट राति फर्किन्छन् नागरिक

रातोघर

 २५ चैत्र २०७६, मंगलवार २२:२८  मा प्रकाशित
२११ पाठक संख्या



 

कोरोना भाइरस संक्रमणको आशंकामा अहिलेसम्म प्रदेश २ मा १ सय १९ जनाको थ्रोट स्वाब परीक्षण गरिएको छ । जसमध्ये १ सय ३ जनाको रिपोर्ट निगेटिभ आएको छ भने १६ को रिपोर्ट आउन बाँकी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

त्यस्तै, भारतलगायत अन्य देशबाट फर्केर नेपाल आएका र कोरोनाको आशंका गरिएका व्यक्तिहरूलाई क्वारेन्टाइनमा राख्ने क्रम पनि जारी नै छ ।

प्रदेश २ का विभिन्न जिल्लामा ३ हजार १ सय ७४ बेड क्षमताका १ सय ४४ वटा क्वारेन्टाइनमा ९ सय ३६ जना कोरोना संक्रमणका सम्भावित व्यक्तिलाई राखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिए ।

प्रदेशमा अहिलेसम्म १ हजार २ सय १३ जना व्यक्ति होम क्वारेन्टाइनमा रहेका छन् भने आइसोलेसनमा २२ जना भर्ना गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

दिल्लीको मर्कसबाट आएकाको अवस्था

भारतको दिल्लीमा भएको मुस्लिमहरूको मर्कसबाट २७ जना फर्किएर क्वारेन्टाइनमा बसेको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले बताए । उनले भने, ‘फर्किनेहरूमध्ये रौतहटमा रहेका १४ जना र बारा जिल्लामा रहेका १० जना गरी कुल २४ जनाको स्वाब परीक्षण गरिएको छ ।’ २४ जनाकै स्वाब परीक्षण निगेटिभ रहेको उनले बताए ।

यता सप्तरीको डाक्नेश्वरी नगरपालिकाका नगर प्रमुख शिवनारायण साह पनि तबलिगी जमातबाट फर्किएका ३ जना मुस्लिम समुदायका मानिसलाई स्थानीय नागरिक तथा प्रहरीको सहयोगमा पक्राउ गरेर क्वारेन्टाइनमा राखिएको बताए । ‘डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर ५ स्थित पातो गाउँको विद्यालयमा रहेको क्वारेन्टाइनमा उनीहरूलाई राखिएको छ,’ साहले भने, ‘उनीहरू दिल्लीबाट भने नआएको बताउँछन् ।’

उनीहरूले आफू दिल्लीबाट नभई भारतको विहारस्थित मुझप्फपुरको तबलिगी जमातबाट फर्किएको बताएको साहले जानकारी दिए । दिल्लीजस्तै त्यहाँ पनि जमात गरिएको थियो । करिब १० दिनदेखि सञ्चालनमा आएको उक्त क्वारेन्टाइनमा रहेका कुल १३ जनामध्ये ११ जना मुस्लिम समुदायका व्यक्ति रहेको उनले बताए ।

भारतको दिल्लीस्थित निजामुद्दिनमा आयोजित मर्कसमा सहभागी भएकामध्ये धेरैजसो मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उक्त धार्मिक कार्यक्रम मर्कसमा सहभागी हुन नेपालबाट समेत कतिपय मुस्लिम समुदायका मानिसहरू दिल्ली पुगेका थिए । अहिले उनीहरू नेपाल फर्किएका छन् । तर, सबै संख्या हालसम्म यकिन हुन सकेको छैन ।

प्रदेशका विभिन्न जिल्लामा रहेका नाकाहरूबाट रातिको समयमा लुकीछिपी बाक्लै संख्यामा नेपाली नागरिकहरू भित्रिएको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) प्रद्युम्नकुमार कार्की पनि स्वीकार्छन् ।

 

‘सुसुरुमा ठूलै संख्यामा प्रवेश गरे पनि अहिले भने फाट्टफुट्ट रूपमा नेपाली नागरिकहरू भित्रिएका छन,’ उनले भने । प्रदेश २ अन्तर्गत ४ सय ३१ किलोमिटर दूरी रहेको नेपाल–भारतबीचको सीमामा रहेका कुल १ सय ९ वटा नाकामा अहिले बढाएर ३ सय २९ पुर्‍याइएको कार्कीले बताए । तर त्यसले पनि नियन्त्रण हुन नसकेपछि अब वडा स्तरमा नै नागरिकको सहयोगमा नियन्त्रण गरिने उनले बताए ।

Shilapatra.com

Write your Comment