

सिमरा । भारतको दिल्लीमा तबलिगी जमातको धार्मिकसभामा सहभागी भएर आएका बाराको जीतपुर–सिमरा उपमहानगरपालिकाका दुईजनामा कोरोनाभाइरस ‘पोजिटिभ’ देखिएपछि स्थानीय प्रशासनले बुधबार दिउँसोदेखि वडा नम्बर–७ र १९ लाई ‘सिल’ गरेको छ ।
वडा नम्बर–७ का ४७ वर्षीय सहाबुदिन अन्सारी र वडा नम्बर–१९ का ३१ वर्षीय अब्दुल गफारमा कोरोना पोजिटिभ देखिएको हो ।
वडाहरु सिल गरेलगत्तै अन्सारीका पाँच जना परिवारलाई सिमरास्थित अस्थाई कोरोना अस्थाई अस्पतालमा ल्याइएको छ । गफार भने केही दिनयता घर नपुगेकाले उनको परिवारमा संक्रमणको जोखिम नहुन सक्ने भन्दै उनीहरुलाई प्रहरी निगरानीमा होम क्वारेन्टाइनमै बस्न आग्रह गरेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी प्रमुख गोबिन्द पुरीले जानकारी दिए ।

यसैबिच जीतपुरसिमरामा दुई वडा सिल गरेसंगै संक्रमणको जोखिम बढेको जानकारहरुको भनाई छ । प्रहरीले पनी लकडाउनलाई कडा बनाईने बताएको छ ।
जोखिम बढ्यो
शैली परिवर्तन नभए वीरगन्ज–पथलैया औद्योगिक कोरिडोर क्षेत्र कोरोना भाइरस फैलाउने ‘हट जोन’का रूपमा दरिने सम्भावना बढेर गएको छ । तीन जिल्लाका श्रमिककोश्रमस्थल रहेकोयो कोरिडोर क्षेत्रमा उद्योगलेश्रमिकका लागि आवश्यक मापदण्ड प्रायः अपनाएका छैनन् ।
एक–दुई वटा औषधि निर्माण कम्पनीले भने दुई गाडीमा आउने श्रमिकलाई तीन वटा गाडीमा ल्याउने व्यवस्था गरेको र उद्योगमा पुगेपछि हातमा सेनिटाइजर लाउन दिनेबाहेक अरूखासैव्यवस्था नगरेकोपाइएको छ । यो कोरिडोरको कोयस्ट फर्मास्युटिकल्सले भने दुई सिफ्टलाई तीनसिफ्ट गरेर संख्या केही न्यून गरेको त्यहाँ कार्यरत श्रमिकको भनाइ छ । नेपाल फर्मास्युटिकल्स, नेसनल फर्मास्युटिकल्स जस्ता ठूला कम्पनीले पनि श्रमिकलाई दूरी कायम गरी काममा लगाउन नसकेको ती कम्पनीमा काम गर्ने श्रमिकले नाम उल्लेख नगर्ने सर्तमा बताए ।
श्रमिक जोगाउनै कठिन : श्रमिक अगुवाहरू
अत्यावश्यकीय सामग्री निर्माण गर्नत्यस्ता उद्योगलाई बन्द नगर्नू भनी नेपाल सरकारले भनेको छ । उद्योग सञ्चालकले काममा नआएपछि काममा सधैंका लागि नआउनूसम्म भन्ने गरेको आफूकहाँ गुनासो आएको समग्र उद्योग ट्रेड युनियनका केन्द्रीय अध्यक्ष आनन्द थामीले पनि बताए ।
तर,श्रमिकको सुरक्षाको लागि यो औद्योगिक कोरिडोरमा रहेका अधिकांश उद्योगले सतर्कता नअपनाएको पाइएको छ । उद्योग चलाउने भनेको डब्लूएचओको मान्यता अनुसार हो । त्यस्ता अत्यावश्यकीय सामग्री उत्पादन गर्ने उद्योगमा कार्यरत श्रमिकलाई पीपीईसहितको स्वास्थ्य सामग्री दिएर काममा लगाउनुपर्ने हुन्छ । ‘तर, हामीकहाँ केही उद्योगले साबुन, घरेलु मास्क, स्तरहीन पन्जा र सेनिटाइजरबाहेक केही सुरक्षा सतर्कता अपनाएका छैनन्,’ उनले भने ।
श्रमिक संगठनहरूले श्रमिकका पीरमर्का बुझ्ने गरी एकद्वार प्रणालीबाट सम्बन्धित पक्षसँग कुरा गर्न जेटीयूसीसी, आईपीयूसी⁄नेक जस्ता संयुक्त समिति बनाए पनि यो संकटमाश्रमिक संगठनहरू खुलेर नबोलेको नेपाल ट्रेड युनियन कांग्रेसका पर्सा अध्यक्ष छोटेलालप्रसाद साहले पनि स्विकारे । ‘यो महामारीमा फ्रन्ट लाइनमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको सवालमा सरकारले बिमालगायतको सुविधाबारे बोलेको छ । तर, १७ गाउँबाट जम्मा भएका मानिसका बीचमा काम गरेर फर्कने श्रमिकबारेसरकार पनि प्रस्ट बोलेको छैन,’ उनले भने । सरकारले भने जस्तो उद्योग सञ्चालकले सुरक्षाको आवश्यक पूर्वाधार तुरुन्त गर्न सक्ने अवस्था छैन । त्यसो हुँदा कोरिडोरमा कार्यरत श्रमिकका कारण गाउँगाउँमा कोरोना फैलिने सम्भावना बढेर गएको शिक्षक महासंघका केन्द्रीय सदस्यसमेत रहेका साहले तर्क गरे ।
‘बिमा, सुरक्षित सामग्री बाहिरी मानिससँग सम्पर्कविहीन हुने गरी व्यवस्था गरिनुपर्छ । यसमा राज्यले पनि त्यो कुरा कार्यान्वयन भए–नभएको अनुगमन गर्नुपर्छ । सरकारले बोल्दियो । उद्योग प्रतिष्ठानमा के भएको छ ? खै अनुगमन ?’नेपाल कारखाना श्रमिक संघका केन्द्रीय अध्यक्ष अमृतलाल जोशीले भने ।
औषधि उत्पादक कम्पनी सुरक्षा सतर्कता अपनाउन चुक्दै
औषधि उत्पादक कम्पनीहरूले समेत श्रमिकका लागि आवश्यक सुरक्षा सामग्री उपलब्ध गराउन नसक्नु र उद्योग प्रतिष्ठानमा नै आवासीय तथा क्वारेन्टाइनको व्यवस्था नहुनु दुर्घटना निम्तिने काम भएन भन्ने सवालमा नेपाल औषधि उत्पादक संघका कोषाध्यक्ष प्रभात रुंगटाले यो कमजोरी नै भएको स्विकारे । ‘भारतमा औषधि उत्पादन गर्ने कम्पनी कार्यरत २६ श्रमिकमा कोभिड–१९ देखा पर्नु र यहाँ पनि सबै उद्योगले क्वारेन्टाइनसहितको व्यवस्था एकैपटक गर्न नसक्नु चुनौती देखिएको छ । तर, सरकारले अत्यावश्यकीय औषधि उद्योग बन्द गर्न नमिल्ने भनेपछि हामीले चलाउनुको विकल्प छैन । यसैमा सेनिटाइजरको केही व्यवस्था, मास्क, पन्जा जस्ता कुरा उपलब्ध गराउने त हो । यीबाहेक डब्लूएचओले भने जस्तो पीपीईसहितको सामग्री उपलब्ध गराएर श्रमिकलाई काममा लगाउन उद्योगी समर्थ छैनौं,’ रुंगटाले भने ।





Write your Comment