भारतीय प्रधानमन्त्री मोदीको तस्वीर टाँसेर फुटबल खेले पोखराका विद्यार्थीले

रातोघर

 २९ बैशाख २०७७, सोमबार १६:३८  मा प्रकाशित
३४३ पाठक संख्या



पोखरा।

भारतले दार्चुलाको लिपुलेक हुँदै तिब्बत जोड्ने सडकमार्ग निर्माण गरी नेपालको सीमा मिचेको भन्दै विरोध स्वरुप पोखरामा विद्यार्थीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्वीर टाँसेर फुटबल खेलेका छन् ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनका नेताहरुले पोखराको मुख्य बजार महेन्द्रपुलमा दिउँसो २ः३० बजे विरोध स्वरुप फुटबल खेलेका थिए ।

‘भारतीय विस्तारवाद मुर्दावाद, लिपुलेक हाम्रो हो, कालापानी हाम्रो हो, नरेन्द्र मोदी खबरदार’ लगायतका नाराहरु लगाउँदै विद्यार्थीहरुले सडकमा फुटबल खेलेर विरोध प्रदर्शन गरेका थिए ।

अनेरास्ववियूका केन्द्रीय नेता सदस्य क्षितिज सापकोटाले मिचिएको भूमि तत्काल फिर्ता नगरेसम्म कडा आन्दोलन गरिरहने चेतावनी दिनुभयो ।

कार्यक्रममा अनेरास्ववियूका केन्द्रीय नेता गोविन्द गौतम र पोखरा महानगर पालिकाका अध्यक्ष विशाल तामाङ लगायतले भारतले लिपुलेक हुँदै तिब्बत जोड्न सडकमार्गको निर्माण गरेर नेपाली आमाको अस्मितामाथि धावा बोलेको भन्दै आपत्ति व्यक्त गर्नुभयो ।

सडकमा बल खेलिरहँदा प्रहरीले खोस्न खोज्दा एकछिन तनाव भएको थियो । प्रहरीलाई छल्दै विद्यार्थीहरुले बल एकापसमा पास गरिरहेका थिए । निकै समयसम्मको घम्साघम्सीपछि कास्की प्रहरीले बल खोसेर लगेपनि कुनै पनि विद्यार्थी नेतालाई भने पक्राउ गरेन ।

 

 

-news24

Write your Comment