बाईबाई युएई ! मृत्यु जितेर स्वर्ग आइयाे

रातोघर

 २३ जेष्ठ २०७७, शुक्रबार १९:२१  मा प्रकाशित
२१६ पाठक संख्या



काठमाडौं

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण समस्यामा परेका नेपाली नागरिक स्वदेश फर्किन पाउँदा स्वर्ग पुगेको अनभूति गरेको बताएका छन् ।

ठूलो पीडा भोगी रहेका युएईमा रहेका नेपाली शुक्रबार नेपाल फर्किएसँगै दंग छन् । गत ११ चैतबाट नेपालमा लकडाउन लगाइएकोमा नेपालले शुक्रबार औपचारिक रूपमा पहिलोपटक विदेशमा रहेका नेपालीइलाई स्वदेश फर्काएको हो ।

युएईबाट आएका नेपालीले नेपाल आउँदा स्वर्ग पुगेजस्तो भएको अनुभव रहेको बताएका छन् । युएईको सरकारी अस्पतलामा कार्यरत सिन्धुपाल्चोककी आयुष्मा तामाङ २ महिनादेखि कोठमा बसेकी थिइन् ।

‘नेपाल फर्कन हतार भइरहेको थियो’ उनी भन्छिन् ‘मासिक जम्मा २२ सय दिराम कमाउने गरेकी थिएँ, डेढ महिनादेखि अफिसले तलब दिएको पनि थिएन, अफिसले बिदा बस भन्यो, निकै पीडा भएको थियो, नेपाल आउँदा त स्वर्गमा झरेजस्तो अनुभव भएको छ ।

नुवाकोटका नकुल थापा नेपाल आउँदा अर्को जूनी पाएजस्तो भएको बताउँछन् । ‘३ वर्षको लागिगएको थिए, कोरोनाको कारण कम्पनीले बिदा दिएपछि, यो समय पार्कमा बिताउन बाध्य भए, अब कहिले विदेश जाने छैन’ उनले थपे ‘नेपाल आउँदा मृत्युलाई जितेर आए जस्तो भएको छ ।’

झापा दममका दिपेन्द्र उपाध्यायय पनि नेपाल आउँदा निकै खुसी भएको बताउँछन् । युएईको माइरेट होटलमा ४ वर्षदेखि कार्यरत उनी २ महिना अघिदेखि होटल बन्द भएपछि कोठमा बसेका थिए । आकाशबाट नेपालको जमिन देख्दा नै २ महिना कोरोना लागेर निको भएजस्तो आनन्द भयो’ उनले भने ।

शुक्रबार जापान, यूएई र म्यानमारबाट २ सय २ जना नेपाली स्वदेश आएका छन् । जापानबाट नेपाल एयरलाइन्सको विमानमार्फत् ७ जना नेपाली फर्काइएको विमानस्थल कार्यालयले जनाएको छ । त्यस्तै, म्यानमारबाट एयरफोर्स जहाजमार्फत २६ जना नेपाली ल्याइएको थियो भने यूएईबाट एयर अरेबियामार्फत १ सय ६९ नेपाली आजै ल्याइएको हो ।

विदेशमा रहेका नेपालीलाई आफ्नै खर्चमा ल्याउने गरी सरकारले यसअघि कार्यविधि तय गरेको छ । नेपाल ल्याइएकालाई उपत्यकामा निर्माण गरिएका होल्डिङ सेन्टरमा राखिने भएको छ ।

-Shilapatra

Write your Comment