

काठमाडौं । ललितपुरको खोकनाका स्थानीय किसान र प्रहरीबीच झडप हुँदा प्रहरी निरीक्षकसहित दुईजना घाइते भएका छन् । राष्ट्रिय महत्त्वको आयोजनामा किसानहरुले अवरोध गर्दा भएको झडपमा दुईजना सुरक्षाकर्मी घाइते भएको ललितपुर महानगरीय प्रहरी परिसरका प्रवक्ता तुलबहादुर कार्कीले बताए ।
बिहानैदेखि खोकनाको किसानलाई प्रहरीले रोक्न खोजेपछि झडपको अवस्था सिर्जना भएको थियो । स्थानीयबासीले प्रहरीलाई खेतमा पुग्न अगाडि नै रोक्ने प्रयास गरेको भए पनि अरूले खनजोत गरेका थिए । काठमाडौं-तराई द्रुतमार्ग, बाहिरी चक्रपथ र मातातीर्थ-भक्तपुर १३२ केभी प्रसारणलाइन खोकना हुँदै बनाउने तयारी छ ।
स्थानीयबासीले विकासका नाममा सांस्कृतिक शहरमाथि अतिक्रमण गरेको भन्दै विरोध गर्दै आएका छन् । उनीहरूको आन्दोलनमा नेवा सांस्कृतिक पुनर्जागरण अभियानसहित विभिन्न संघसंस्थाले पनि समर्थन गर्दै आएका छन् ।





Write your Comment