बच्चा पढ्दैनन् ? कारण खोज्नुस्

रातोघर

 ९ श्रावण २०७७, शुक्रबार ११:५५  मा प्रकाशित

बालबालिका स्वभावैले जिज्ञासु हुन्छन् । तर, अधिकांश अभिभावकमा आफ्ना बच्चाको पढाइमा रुचि नै छैन भन्ने गुनासो हुने गर्छ । बृहत् अन्तर्राष्ट्रिय अध्ययनअनुसार ४१ प्रतिशत अभिभावक यो विषय समस्याकै तहमा रहेको बताउने गर्छन् । धेरैमा समानजस्तो देखिने यस उत्प्रेरणाजन्य समस्याको पछाडिका कारण भने फरक–फरक हुन सक्छन् । त्यस्ता कारणसँग जुझ्दा–जुझ्दै हतास बनेका अधिकांश बालबालिकाले अभिभावकबाट समस्याको निदान र समाधानमा सहानुभूति अनि सहयोगको सट्टा गाली वा आलोचना पाउने गर्छन् । यसले, उनीहरूको संघर्ष झन् कठिन बन्न पुग्छ । सबभन्दा नजिकको व्यक्तिबाटै जान–अनजानमा हुने त्यस्ता व्यवहार कतिपय बालबालिकाका लागि आत्मविश्वास कमजोर बनाइदिने र हीनताबोध थपिदिने कारण बन्न पुग्छ । फलस्वरूप, धेरैलाई पढाइ पार नपाइने समस्याजस्तो लाग्न थाल्छ । अध्ययन बोझ नभई सुनौलो भविष्यको तयारी हो भन्ने छाप बालबालिकामा पर्ने वातावरण बनाउनुपर्छ । यसका लागि अभिभावकले सुझबुझपूर्ण सहकार्य गर्नु जरुरी हुन्छ ।

‘एक्सपेक्सटेन्सी एन्ड भ्यालु’लगायत उत्प्रेरणाका प्रमुख सिद्धान्तहरूका अनुसार कुनै विषयमा उत्प्रेरित हुने वा नहुने भन्ने कुरा व्यक्तिले फल प्राप्तिलाई दिने महत्व र उपलब्धि प्राप्तिको सम्भावनाको मूल्यांकनमा निर्भर गर्छ । अर्थात्, कुनै पनि काममा लगाव र प्रेरणाको मूल आधार त्यो कार्य ‘किन’ गर्ने भन्ने विषयमा स्पष्ट हुनु हो । तर, बालबालिकालाई अध्ययनमा लगाउनका लागि हामी उनीहरूलाइ ‘के’ र ‘कसरी’ भन्ने पक्षमा बढी केन्द्रित गराउँछौँ । मूल बिषय ‘किन’ भन्ने प्रश्नलाई प्रायः उपेक्षा गरिदिन्छौँ । पढाइ व्यावहारिक जीवनमा कसरी उपयोगी हुन्छ, त्यो स्पष्टस“ग नबुझ्दा बालबालिकाको पढाइमा अपेक्षित रुचि बढ्दैन । र, धेरैलाई आप्mना पढाइको विषय अर्थहीन लाग्न थाल्छ । अभिभावकले आफ्ना बालबच्चालाई राम्रो जागिर र सुविधाजनक जीवनको अर्थमा पढाइलाई बुझाउन कोसिस गर्छन् । तर, त्यसले बालमस्तिष्कमा कुनै विशेष प्रभाव पार्न सक्दैन । किनकि उनीहरूले बुझेको सफलता र देख्ने राम्रो जीवन योभन्दा फरक हुन्छ । उदाहरणका लागि, धेरै बालबालिकाको नजरमा सफल व्यक्ति कुनै प्रसिद्ध खेलाडी वा ‘सेलिब्रिटी’हरू हुने गर्छन् ।

बालबालिकाको रोमाञ्चक उमेर र विकासअनुसारको अलग दुनियाँ हुन्छ । उनीहरूको त्यही दुनियाँको विस्तृत रूप कस्तो हुन्छ होला, त्यहाँ पढाइको कस्तो भूमिका र फाइदा हुनेछ भन्नेमा उनीहरूको कल्पनाशक्तिको प्रयोग गर्न लगाई अध्ययनको सान्दर्भिकता स्पष्ट पार्न प्रयास गर्दा प्रभावकारी हुन्छ । त्यसैगरी, पढाइको खास उद्देश्य परीक्षा नभई जीवन हो भन्ने छाप पार्नुपर्छ । यसर्थ, साना कक्षाहरूमा परीक्षाको नतिजाभन्दा अध्ययन र सिकाइको प्रक्रियालाई प्राथमिकता दिनु जरुरी हुन्छ । उत्प्रेरणा र सिर्जनात्मकताका लागि कतिपय विकसित मुलुकले एउटा निश्चित उमेरसम्म परीक्षै नलिने नीति अख्तियार गरेका छन् ।

अभिभावकले आफ्ना बालबच्चालाई राम्रो जागिर र सुविधाजनक जीवनको अर्थमा पढाइलाई बुझाउन कोसिस गर्छन् । तर, त्यसले बालमस्तिष्कमा कुनै विशेष प्रभाव पार्न सक्दैन । किनकि उनीहरूले बुझेको सफलता र देख्ने राम्रो जीवन त्योभन्दा फरक हुन्छ ।

कतिपय विद्यार्र्थी एकाध असफलता वा अनपेक्षित नतिजामै आफ्नो अध्ययन क्षमतामाथि शंका गर्न थाल्छन् र थप प्रयास गर्नु औचित्यहीन ठान्न थाल्छन् । धेरैजसो बालबालिकाले पढाइका लागि आवश्यक स्मरण शक्ति, बुझ्न सक्ने शक्ति वा ध्यानकेन्द्रित गर्न सक्ने शक्तिमा अत्यन्त अवास्तविक धारणा पालेका हुन्छन् । र, आफूमा जन्मजात कमजोरी छ भन्ने सोच्न पुग्छन् । यस्तोमा अभिभावकका निराश बनाउने अभिव्यक्ति र व्यवहारले थप मलजल गर्छ । बालबालिकाका आदर्शको रूपमा रहेका आमाबुवाको ‘यसले जीवनमा केही गर्न सक्दैन’ जस्ता कठोर टिप्पणी ती कलिला बालबालिकाको अन्तस्करणमा गढ्न जान्छ र त्यो उनीहरूको विश्वास बन्छ । यसरी, प्रयास गरे सफलता प्राप्त गर्न सकिन्छ भन्नेमा विश्वास नहुँदा ‘लर्नड् हेल्पलेसनेस’का कारण अध्ययनमा मन नलाग्ने हुन सक्छ । अर्काेतर्फ, कतिपय विद्यार्थी आफ्नो विशेष क्षमता अन्य क्षेत्रमा छ भन्ने सोच्दै अध्ययनलाई प्राथमिकतामा नै नराख्ने पनि हुन्छन् ।

सूचना प्रविधिको यो युगमा सिकाइका अनेक प्रभावकारी तरिका छन् । अतः विद्यालयस्तरको परीक्षाको नतिजालाई भन्दा उसको सिक्ने प्रयास र सिकाइको प्रक्रियालाई आधार मानेर प्रोत्साहन दिनुपर्छ । साथै, पढाइसम्बन्धी जस्तोसुकै समस्यामा आमाबुबाको साथ र सहयोग छ भन्ने विश्वास दिलाउनु जरुरी हुन्छ । प्रसिद्ध ‘पिग्मेलियन इफेक्ट’का अनुसार आमाबुबा वा शिक्षकले विद्यार्थीको क्षमतामा देखाएको सकारात्मक विश्वास प्रायः सकारात्मक नतिजामा परिणत हुने कारण बन्छ । त्यसैगरी, समस्या समाधानका लागि बालबालिकालाई घरमा अभिभावकले नियमित सिकाइका क्रियाकलाप गराउनु अनि लक्ष्य निर्धारण र मूल्यांकनमा सहयोग, सहकार्य र चासो दिनु जरुरी हुन्छ । अभिभावकले आफ्ना बालबालिकालाई अध्ययन तथा अन्य सबै किसिमका मनका बह र अप्ठ्याराहरू व्यक्त गर्न सहज एवं सुरक्षित वातावरण बनाइदिनु पनि उत्तिकै जरुरी हुन्छ ।

मनोवैज्ञानिक दृष्टिले अध्ययनमा दीर्घकालीन लाभका लागि स्वाभाविक तात्कालिक इच्छामा नियन्त्रण गर्न सक्ने खुबी आवश्यक हुन्छ । मनोवैज्ञानिकहरूका अनुसार व्यक्तिको समग्र सफलता बौद्धिक क्षमताभन्दा बढी ‘ग्रिट’ अर्थात् दीर्घकालिक सोच एवं त्यस सोच वा लक्ष्य प्राप्तिका खातिर लागि पर्न सक्ने खुबीमा निर्भर गर्छ । यसैगरी असफलताको डर, अरूको अगाडि हा“सोको पात्र बनिने डर, लजाउने बानी वा अरूसँग घुलमिल हुन गाह्रो लाग्ने जस्ता परिस्थितिमा भावनात्मक नियमन, स्वनियन्त्रण र तनाव व्यवस्थापनजस्ता उमेरसापेक्ष आधारभूत मनोसामाजिक सीपको पनि आवश्यकता हुन्छ ।

यसप्रकारका क्षमता तथा सीपको कमी पनि कतिपयको विद्यालय जीवन र अध्ययनमा अरुचिको कारण बन्ने गर्छ । यस्ता समस्यामा परिस्थितिको सामना गर्न, समस्या समाधान गर्न र सहने शक्ति बढाउन आमाबाबुले उमेर सुहाउ“दा जिम्मेवारीमा बालाबालिकालाई सरिक गरार्ई व्यावहारिक एवं मनोवैज्ञानिक अभ्यास गराउनु प्रभावकारी हुन्छ । एकातर्फ सामाजिक सञ्जालको बढ्दो प्रभाव र अर्काेतर्फ परिवार अति सानो हुने र कार्यबोझले आमाबाबुले समय नदिने हुँदा बालबालिकाले भावनात्मक घुलमिल हुने यथेष्ट अवसर नै पाउँदैनन् । त्यसैले, विकसित मुलुकमा हिजोआज विद्यार्थीका लागि ‘भावनात्मक साक्षरता कार्यक्रम’ नै सञ्चालन गर्ने गरिएको छ ।

पारस्परिक संवाद, संवेदनशीलता, यथार्थपरक अपेक्षा र सहयोगको तत्परताजस्ता विशेषता हुने ‘अथोरिटेटिभ अभिभावकत्व’ बालाबालिकालाई उत्प्रेरणा दिने खालको हुन्छ । यसले उनीहरूमा निहित सम्भावनाको प्रस्फुटनमा सघाउ पु-याउँछ । तर, उनीहरूका क्रियाकलापमा वास्तै नराख्ने, डर देखाउने, अति नियन्त्रण वा आवश्यकताभन्दा बढी संरक्षण दिने अभिभावक अनुत्प्रेरणाको स्रोत बन्न पुग्छन् । गल्ती कहिल्यै गर्नुहुँदैन भन्ने मान्यताले पनि बालबालिका नयाँ प्रयास गर्नै डराउने बनाइदिन सक्छ । आमाबुबाको झगडा र अर्काे सन्तानलाई बढी माया (पक्षपात) गर्नुहुन्छ भन्ने भावनाले पनि पढाइमा उत्प्रेरणा कम बनाउन सक्छ ।

यस्ता गल्तीबाट जोगिन घरमा अध्ययनको सकारात्मक माहोल हुनु महत्वपूर्ण हुन्छ । बालबालिकामा अध्ययनको आदत बसाउन अभिभावकले पत्रपत्रिका, किताबलगायत सामग्रीको अध्ययन गरी उदाहरण प्रस्तुत गर्नुपर्छ । घरमा अध्ययनका सामग्री उपलब्ध हुनु अनि पढेका विषयमा छलफल गरिनु पनि प्रभावकारी हुन्छ । अथवा भनौँ, सिकाइका लागि आदेशभन्दा उदाहरण र वातावरण महत्वपूर्ण हुन्छ ।

स्वतन्त्रताको अनुभूतिलाई मनोवैज्ञानिक अध्ययनहरूले उत्प्रेरणाको प्रमुख स्रोत मानेका छन् । साथै पढाइको समयलाई बालबालिकाको सहमतिमा तय गर्नु, अध्ययन सामग्री छनोटमा स्वतन्त्रता प्रदान गर्नु बालबालिकाका लागि प्रेरणादायक हुन्छ । कुनै पनि विधाको ज्ञान वा जानकारी प्राप्तिमा उत्सुकता जागेर अध्ययनको बानी लागेपछि बिस्तारै पढाइलाई आवश्यकतानुसार पाठ्यक्रममा केन्द्रित गर्न सकिन्छ ।

विद्यालयमा शिक्षकसँग तनावपूर्ण सम्बन्ध, साथीसँग झगडा, बुलिङ वा शारीरिक एवं मानसिक हिंसाको सिकार, शिक्षक–शिक्षिकाबाट पक्षपातपूर्ण व्यवहारको अनुभव, आफ्ना कुरा राख्ने अवसरबाट वञ्चित हुनु आदि विद्यार्थी विद्यालय जान नचाहने कारण हुन् । शिक्षक-शिक्षिकाका एकाध कठोर वा निराश पार्ने टिप्पणी नै बालबालिकालाई पढ्न मन नलाग्ने परिस्थिति सिर्जना गर्न काफी हुन सक्छन् । त्यसैगरी, कुनै कारणले केही दिन कक्षा छुट्यो वा कुनै अध्यायमा अस्पष्टता रह्यो भने त्यहीँबाट कमजोर जगको सुरुवात हुन्छ ।

आधारभूत कुरामा स्पष्ट नभई पछिका पाठ पढ्नु वा पढ्न लगाइनु अध्ययनमा मन नलाग्ने अर्काे कारण हो । परम्परागत परीक्षा ज्ञान र सीपभन्दा मूलतः पाठको स्मृतिमा केन्द्रित हुने गर्छ । यसले अन्य पक्षमा राम्रो भईकन पनि स्मरण शक्तिमा कमजोर विद्यार्थीलाई पढाइप्रति विरक्ति लाग्न सक्छ । आमाबाबुले सम्भव भएसम्म हरेक दिन बालबालिकाको विद्यालयमा आजको दिन कस्तो रह्यो चासो राख्नुपर्छ । विद्यालयमा हरेक विद्यार्थीले आफूलाई सुरक्षित महसुस गर्ने वातावरण हुनु जरुरी छ । विद्यार्थीको व्यक्तिगत भिन्नता र फरक बौद्धिक क्षमताको यथासम्भव कदर हुने वातावरण निर्माण गरी विद्यालयले गुणस्तरीय वातावरण निर्माण गरिदिन सक्छन् ।

(लेखक क्लिनिकल साइकोलोजिस्ट हुन्)

ग्राफिकमा प्रयाेग भएकाे फाेटाे आर्कफ्रिडम डटकमबाट

Write your Comment