‘बेकार युद्ध लडिएछ’

रातोघर

 १५ श्रावण २०७७, बिहीबार २२:११  मा प्रकाशित
४४४ पाठक संख्या



भिडन्तमा लागेको घाउ बल्झिएर बन्यो क्यान्सर
कस्तो व्यवस्थाका लागि बन्दुक बोकिएछ ? कसका लागि मर्न र मार्न हिँडिएछ ? अहिले सम्झिँदा पनि छाती पोलेर मात्र आउँछ।

काठमाडौं : सिन्धुपाल्चोक सुनकोसीका नैनबहादुर तामाङ (४२) लाई अस्ति भर्खरजस्तो लाग्छ, अन्यायविरुद्ध लड्न बन्दुक बोक्नुपर्छ भन्ने चेतना आएको। तत्कालीन माओवादी विद्रोहीले २०५८ मध्य वैशाखमा उनको गाउँमा जनसरकार घोषणा गर्दै थिए। त्यस कार्यक्रममा प्रमुख नेता थिए, अहिलेका सभामुख अग्नि सापकोटाका भाइ देशबन्धु अर्थात् कृष्णप्रसाद सापकोटा। तामाङ त्यही कार्यक्रम हेर्न पुगे। माओवादीको नाराले आकर्षित गर्‍यो। उनलाई लाग्यो, परिवर्तनका लागि बन्दुक बोक्नुपर्ने रहेछ।

त्यसपछि उनी हिँडे माओवादी युद्धमा। पार्टीमा काम गर्ने मोर्चा धेरै थिए, राजनीतिक, सांस्कृतिक, फौजी आदि। उनलाई अन्य मोर्चाभन्दा फौजी ठीक लाग्यो, जोडिए जनमुक्ति सेनामा। अहिले वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल त्यसबेला स्क्वाड कमान्डर थिए। त्यही स्क्वाडका सदस्य भए तामाङ। पूर्णकालीन भएकै वर्ष सामान्य अभ्यासमै उनले लडे, चैनपुर मोर्चा। त्यसपछि त उनले काठमाडौंपूर्व नलडेको मोर्चा कमै छ।

चैनपुर, भिमान, रुम्जाटार, भोजपुर, बन्दीपुर, लालबन्दी, यदुकुवा, गर्जन चुचुरे, दारेगौंडा, लहान, मैनपोखरी, मुडे, झुरझुरे, चेहेरे, चौतारा, काभ्रेभन्ज्याङ, भकुन्डे, घर्तीछापलगायत मोर्चा उनले प्रत्यक्ष लडे। यीमध्ये कतिपय मोर्चामा उनी घाइते भए, कतिपयमा सकुशल फर्किए। २०६० माघमा भोजपुरको दूरसञ्चार रिपिटर टावरमा आक्रमण गर्दा उनको मुखछेउ छर्रा लाग्यो। जनसेनामै रहेका स्वास्थ्यकर्मीबाट प्राथमिक उपचार गराए। उनले छर्रालाई ध्यान दिएनन्। तर, त्यही छर्राले गर्दा अहिले उनको मुखको क्यान्सर भएको छ। मुखको देब्रे भागको चिउँडो छैन, देब्रे आँखाले काम गर्दैन। १८ महिनायता बिस्कुट पानीमै जीवन धानिइरहेको छ।

‘भोजपुरको रिपिटर टावर आक्रमणका क्रममा मेरो मुखमा गोलीको छर्रा लाग्यो। घाँटीनेर। त्यहाँ मात्र होइन, बन्दीपुरमा खुट्टामा गोली लाग्यो। चैनपुरमा पनि घाइते भएँ। घाँटीमा रहेको छर्रा झिक्न सम्भव थिएन। अहिले गिजा झिकिएको छ’, उनले भने, ‘त्यही छर्राका कारण क्यान्सर भएछ। खटिरा आयो पहिला, त्यसपछि सामान्य सोचेर धुलिखेलमा परीक्षण गर्दा क्यान्सरको लक्षण भन्ने भयो। १८ महिना हँुदै छ, २०७५ पुस ४ गते अप्रेसन गरेको। त्यस बेला तीन महिना अस्पताल बसें।’

उनीसँग सोमबार भक्तपुर सूर्यविनायकमा भाइको डेरामा भेट भयो। त्यस क्रममा उनले असारमा थेरापी गरिएको सुनाए। ‘थेरापीपछि डढेर सुन्निने भयो। मुखभित्र साइडमा स्टिल हालिएको थियो। अहिले स्टिल झिकेपछि मुख बांगियो’, उनले भने, ‘यस्तो भएको एक महिना जति मात्र भयो। आठ महिनायता एउटा देब्रे आँखा पनि देख्दिनँ।’

उनको पेटमा अन्न नपरेको डेढ वर्ष भयो। युद्धले हराउन नसकी सग्लो ‘नाफाको जीवन’ बाँचेका उनी अहिले भने क्यान्सरसँग जुधिरहेका छन्। क्यान्सरलाई पराजित गर्न उनीसँग खर्च छैन। सेनामा समायोजनका बेला स्वेच्छिक अवकाशमा आउँदा आफू र श्रीमतीको नाममा आएको ११ लाख रुपैयाँ उपचारमै सकियो।

कोही पनि दुई चोटी मर्दैन, एकैपटक त हो मान्छे मर्ने। युद्धमा लाग्दा उनको अठोट थियो, कि मृत्यु कि मुक्ति। चैनपुरबाट बन्दीपुरसम्मका मोर्चामा घाइते हुँदासम्म उनले लड्ने हिम्मत हारेनन्। गोली लाग्दा होस् या छर्रा, अस्पताल देखेनन्। देखून् पनि कसरी ? सरकारले माओवादीविरुद्ध कठोर संकटकाल लगाएको थियो, सेना परिचालनसम्मको निर्णय थियो। सुइँको पाए सरकारी नियन्त्रणमा पर्ने डर उत्तिकै थियो। जोखिम मोलेर सहर पसी उपचार गर्नुभन्दा सहयोद्धाको सामान्य औषधोपचारमै उनले आफूलाई फेरि ठीकठाक पारिहाल्थे र अर्काे मोर्चा लड्ने तयारीमा जुटिहाल्थे। आखिर त्यो के–का लागि थियो ? ‘बेकारका लागि।’ उनलाई अहिले यस्तै भान भइरहेको छ।

‘शोषण, उत्पीडनको अन्त्य, न्याय, समानता र स्वतन्त्रता’को नारा ‘खोक्रो’ लाग्न थालेको छ। १० वर्षको भीषण युद्धपछि शान्ति प्रक्रियामा आएदेखि नेताहरू कहाँबाट कहाँ पुगे। तर, तामाङको अवस्था दयनीय बन्दै छ। उनलाई बन्दुक पड्काउन कासन गर्ने नेता नै सरकारमा छन्। राज्यका ‘डाडुपन्यु’ उनै नेताका हातमा छन्। उनीहरूले आफ्नाका लागि त्यसलाई नियमभित्र रहेर होस् वा बाहिर, जसरी पनि चलाएका छन्। तर, तामाङजस्ता नागरिकका लागि राज्यको ‘डाडुपन्यु’ कहिल्यै सहयोगी बनेन। हिजोका उनका आदर्श नेता अहिले पराई लाग्न थालेका छन्।

क्यान्सर उपचार गर्न नसकेपछि उनी आफ्नै नेता रामबहादुर थापाले सम्हालेको गृह मन्त्रालय पुगे। सरकारले उपचारमा थोरबहुत सहयोग गर्ला भन्ने आस थियो। तर, उनले त्यहाँबाट कुनै सहयोग पाएनन्। निराशा मात्रै हात लाग्यो।

‘म दुई–तीन पटक गृह मन्त्रालय गएँ। हाम्रा नेता बादल (थापा) कमरेड मन्त्री हुनुहुन्छ। उहाँलाई नै भेटें, तीन महिनासम्म धाएँँ। उहाँले केही गर्न नसक्ने देखें। कुनै पार नलाग्ने भएपछि धाउनै छोडिदिएँ’, उनले भने, ‘बादल सरले कुरा अगाडि बढाउनू भन्नुहुन्छ। तर, कर्मचारी अटेर गर्छन्, कार्यान्वयन नै गरेनन्। तपाईंजस्ता कति छन कति ? यसरी सहयोग गरेर साध्य लाग्छ भनेर पन्छिने काम भयो। घरि कहाँ जा भन्छ घरि कता।’

उनी पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खुमलटार पनि पुगे। ‘जोगबहादुर महरा (प्रमुख स्वकीय सचिव) सरले अध्यक्षसँग भेट गर्ने समय मिलाइदिनु भएन’, उनले भने, ‘खुमलटारमा गएर दिनभर बसें। तर, भेट्न सकिनँ। साहै चित्त दुख्यो, फर्केर आएँ। यस्तै रहेछन्, हाम्रा नेता अब हाम्रा रहेनछन् भन्ने लाग्यो।’

आफूले आदर्श मानेका नेतासँग भेट्नै नपाउने, थापाबाट कुनै सहयोग नपाएपछि भने उनलाई अरू नेताप्रति विश्वास लागेन। ‘मुख्य नेताहरूले नै चासो दिन छाडिसकेछन। झन् अरूले के गर्लान् र खोइ ? हामीलाई प्रयोग मात्र गरेका रहेछन्’, उनले भने, ‘त्यसपछि नेताहरूकहाँ धाउन्नै छोडिदिएँ।’

उनलाई दाहालले बुधबार निवासमा बोलाएर भेटेका छन्। राज्यबाट उपचारका लागि व्यवस्था गरिने भन्दै दाहालले उनलाई तत्काल उपचारका लागि ५० हजार दिएर फर्काएका छन्।

माओवादी शान्ति प्रक्रियामा आएपछि तामाङ चितवनको शक्तिखोरस्थित शिविरमा बसे। संयुक्त राष्ट्रसंघीय मिसन अनमिनको सुरक्षार्थ उनकै कम्पनी खटिएको थियो। शिविरमै भेट गरी विवाह गरेकी तीर्थमाया तामाङ ‘करुणा’सँगै उनले स्वेच्छिक अवकाश रोजे। गाउँ फर्किएर पुनःस्थापित भए। स्वेच्छिक अवकाशमा आउँदा पाएको पैसाले सानो घर बनाए, केही जमिन जोडे। श्रीमती खेती किसानीमा लागिन्, उनी भने गाउँकै अस्पतालको एम्बुलेन्स चलाउन थाले। उनीहरूका ९ र ७ वर्षका दुई छोराछोरी भए।

फुर्सदका बेला पार्टी काममा जोडिन थाले। तर, उनी अहिले न एम्बुलेन्स चलाउन सक्छन्, न पार्टी काममै जोडिन। पूरै थलिएका छन्। दुःखका पहाड आफैं काट्दै उनी अगाडि बढ्दै छन्। ‘हिजो के सोचिएको थियो, आज यो हालत भयो। विगत सम्झिँदा मन भाँचिएर आउँछ। कुरा गर्न मन लाग्दैन’, उनले दुःखेसो पोखे, ‘अहिले पार्टीको यो अवस्था, नेताहरूको यो ताल हुन्छ भन्ने थाहा भएको भए किन लागिन्थ्यो र ? देशका लागि लडेको मान्छे, अहिले यसरी आफैं लडेर कुजिएर बस्नुपर्ने अवस्था आयो। एउटा विश्वासका साथ पार्टीमा लागेको थिएँ तर इमानदारको काम रहेनछ पार्टीभित्र। जसले बदमासी गर्न सक्छ, चतुर्‍याइँ गर्न सक्छ, उसलाई मात्रै रहेछ यो राजनीति, पार्टी भन्ने कुरा। हामीजस्ताका लागि होइन।’

जीवनमरणको लडाइँ

म नैनबहादुर तामाङ। पार्टीमा हिँड्दा पार्टी नाम जमिन। मेरो घर सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका–५ सुनखानीमा पर्छ। २०३५ सालमा जन्मिएको हुँ। ठ्याक्कै ४२ वर्षको भएँ। २०५८ सालमा माओवादी युद्धले लोभ्यायो। गाउँमै जनसरकार घोषणा गर्न आएका साथीहरूसँगै युद्धमा पूर्णकालीन भएर लागें। सीधै जनसेनामा जोडिएँ। त्यही वर्ष चैनपुर भिडन्तमा सहभागी भएँ। त्यसपछि त युद्ध कति लडियो, लडियो। काठमाडौं उपत्यकापूर्वका साना–ठूला सबै भिडन्तमा सहभागी भएँ। कम्पनी कमान्डरसम्म भएँ।

भोजपुरको रिपिटर टावर आक्रमणका क्रममा मेरो मुखछेउ घाँटीमा गोलीको छर्राले लाग्यो। त्यसभन्दा अगाडि र पछाडि पनि म घाइते नभएको होइन, भएँ। कहिले खुट्टामा गोली लाग्यो, कहिले छर्राले भेट्यो। तर मुख छेउमा लागेको छर्राले अहिले मलाई मुखको क्यान्सर निम्त्याएको छ। त्यसैसँग अहिले म जीवनमरणको लडाइँ लडिरहेको छु।

घाइते हुँदा सहरमा अस्पताल आउन सम्भव थिएन। जनसेनामै रहेका स्वास्थ्यकर्मी साथीहरूको उपचारमा म तंग्रिएको थिएँ। तुरुन्तै ठीक भएर अन्य मोर्चामा पनि लडाइँ लड्न तयार भइहाल्थें। तर, के थाहा त्यही छर्रा राम्ररी निकाल्न नसक्दा अहिले यो अवस्था आउँला भनेर। हुन त घाँटीमा रहेको छर्रा झिक्न सम्भवै थिएन। अहिले गिजा नै झिकिएको छ। क्यान्सर भएछ।

तुरुन्तै अप्रेसन गर्नुपर्छ, मासु फाल्नुपर्छ भन्ने भयो। धुलिखेल अस्पतालमा २०७५ पुस ४ मा अप्रेसन गरियो। अहिले १८ महिना भयो। त्यसबेला तीन महिना अस्पताल बसें। तर ठीक भएन। गत असारमा थेरापी गरियो। तर मुख र घाँटी डढेर सुन्निने भयो। साइड स्टिल हालिएको थियो। अहिले स्टिल झिकेपछि मुख बांगियो। यस्तो भएको एक महिना जति मात्र भयो। अप्रेसन गरेको एक वर्षसम्म आँखा देखेकै थिएँ तर त्यो पनि अहिले एउटा देब्रे आँखा देख्नै छोडें।

श्रीमती गाउँमै छिन्। बच्चा साना छन्। भलिबल खेलाडी करुणासँग पार्टीमै विवाह गरेको हुँ। अहिले उनी खेतीकिसानी गर्छिन्। क्यान्टोनमेन्टबाट स्वेच्छिक अवकाश रोजेर आउँदा मेरो ६ लाख र बूढीको पनि अलिकति पैसा आएको थियो। त्यसले गाउँमै सानो कटेरो हाल्ने, केही जमिन जोड्ने गरेर दुखजिलो गरिरहेकै थियौं। श्रीमती गाउँमै खेतीपाती गर्थिन्, म गाउँकै एम्बुलेन्स चलाउँथे। गुजारा त्यसरी चल्दैथियो। जब एक्कासी क्यान्सर भयो एकदमै बिलखबन्दमा छु। भएको पैसा उपचारमा सकिइसक्यो। हिजो परिवर्तनका लागि लड्दा लागेको छर्राबाट क्यान्सर निम्तियो।

गाउँपालिकाले १६ हजार दियो। लकडाउनका बेला धुलिखेल आएँ। धुलिखेलले भक्तपुर क्यान्सर अस्पतालमा रिफर गरयो अनि यता आएँ। हिजो के सोचिएको थियो, आज यो हालत भयो। विगतको कुरा सम्झिँदा मन भाँचिएर आउँछ। कुरा गर्न मन लाग्दैन आजभोलि। देशका लागि लडेको मान्छे, अहिले यसरी आफैं लडेर कुजिएर बस्नुपर्ने अवस्थामा आइयो।

आज यो हालत छ। विश्वासका साथ पार्टीमा लागेको। इमानदारको काम रहेनछ, पार्टीभित्र। अरुले जस्तै केही चलाखी गरेको, बदमासी गरेको भए म यो अवस्थामा किन हुन्थे हुँला र ! केही घरघडेरी सुखसयलमा हामी पनि रहन्थ्यौं होला। हामी समान साथीहरूको घर छ, गाडी छ। हाम्रो हालत यो छ।

महिनैपिच्छे उपचारमा फलोअपका लागि जानुपर्नेछ। एकपटक जाँदा सबै नयाँ चेकअप गर्नुपर्छ। महिनामा ७० हजार जति उपचारमा लाग्छ। मसँग पैसो छैन। हिजो जसका लागि लडियो, उसैले वास्ता गर्दैनन्। प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलाल भेट्न आउनुभयो। अरू कोही आएका छैनन्। प्रदेशका मन्त्री युवराज स्क्वाड कमान्डर हुँदा म सदस्य भएर काम गरेको। उहाँले आएर आफ्नो एक महिनाको तलब सहयोग गर्छु भनेर जानु भएको छ। अरू कुनै नेताहरू आउनु भएको पनि छैन, के छ भनेर सोधखोज पनि गरे जस्तो लाग्दैन।

लामो समयपछि बुधबार दाहालसँग भेट भयो। उहाँले उपचारमा राज्यले सहयोग गर्छ । हाललाई मेरो तर्फबाट उपचारका लागि ५० हजार भनेर दिएर फर्काउनुभयो।

किमो चलाउनुपर्छ भनेका छन्। तर, २०७५ पुसमा अप्रेसन गरेदेखि मैले खान राम्ररी सकेको छैन। अन्न मेरो पेटमा परेको छैन। पानी र बिस्कुटकै भरमा छु त्यो बेलादेखि आजसम्म। अन्न नै शरीरमा नपरेपछि बिस्कुट पानीले मात्र के दरिलो होला र शरीर। तर त्यही बिस्कुट पानीले धानेको छ जीवन। किमो लगाउन शरीर दरिलो भएन। इन्जेक्सनबाट थाम्न नसक्ने भएकोले क्याप्सुल खान भनेका छन् डाक्टरहरूले।

घाउ पाक्यो, गाह्रो भयो भने आउनु नत्र महिनामा एकपटक आउनु भनेका छन्। अहिले पनि एक साता मात्र भयो भक्तपुर क्यान्सर अस्पतालबाट डिस्चार्ज भएको। यहाँ भाइको डेरामा बसेको छु। यहाँ पनि कतिन्जेल यसरी बस्ने ? के गर्ने मेरो ठेगान छैन। उपचार गर्न पैसो साथमा छैन। गरिबको राज्य व्यवस्था ल्याउन भनेर लडियो तर अझै गरिबको राज्य रहेनछ। राज्यले क्यान्सर, मिर्गौलाजस्ता रोगमा मात्र भए पनि उपचारको व्यवस्था गरिदिएको भए हामीजस्ता गरिबलाई राज्य छ भन्ने अनुभूति हुन्थ्यो। तर नेताहरू फेरिएका रहेछन्, जनता उस्ताको उस्तै छन्। परिवर्तनका लागि के आन्दोलनमा लागिएछ भन्ने लाग्छ। मन दुखिरहन्छ। बूढाबूढी भेटिँदा कहिलेकाहीँ भक्कानिएर रुन्छौं, कस्तो व्यवस्थाका लागि बन्दुक बोकिएछ ? कसका लागि मर्न र मार्न हिँडिएछ ? अहिले सम्झिँदा पनि छाती पोलेर मात्र आउँछ।

Aanapurnapost.com

Write your Comment