बीमा किन गर्ने, केका लागि गर्ने?

रातोघर

 १६ श्रावण २०७७, शुक्रबार १४:२४  मा प्रकाशित

नेपालको जीवन बीमा बजारमा अग्रणी रहेको नेपाल लाइफमा ८ वर्ष प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पूरा गरेर विवेक झा विदा भइसकेका छन्। यो बीचमा नेपालको जीवन बीमा बजारसँगै नेपाल लाइफको पनि उल्लेख्य बृद्धि भएको छ। कोरोना भाइरसको महामारीको बीचमै अवकाश लिएका झासँग नेपालको बीमा बजार, बीमाप्रतिको बुझाइ, नीतिगत व्यवस्था र ब्यापारको भविष्यका बारेमा  लिएको अन्तर्वार्ताको सम्पादित अंशः

कोरोनाले सबैतिर प्रभाव पार्यो। यसको प्रभाव हरेक क्षेत्रले फरक तरिकाले भोगे होलान्। नेपालको सन्दर्भमा यो बीचमा जीवन बीमा कम्पनीहरुले कस्तो समस्या भोगे?

कोरोना भाइरसले संसारभर मान्छेलाई प्रभाव पार्यो। मान्छेसँग जोडिएका हरेक क्षेत्र ग्रसित भए। मान्छेको सम्पर्कबाट सर्ने तथा फैलिने भएकाले एकआपसमा डराउने अवस्था आयो। सुरुका केही समय व्यापार तथा उत्पादनको श्रृखंला नै अवरुद्ध भयो।
अहिलेसम्म कल्पना नगरिएको संसारभर मान्छेहरु घरभित्र बसे। नेपालमा पनि त्यस्तै भयो। नेपालमा कयौं उद्योग बन्द भए, कतिपय सीमित क्षमतामा चले। लाखौले जागिर गुमाए।
दैनिक काम गरेर खाने मान्छेहरु, कृषि पेशा गरेर बाँच्नेहरु सबैभन्दा बढी प्रभावित भए। मान्छेको गतिविधि तथा आर्थिक गतिविधिसँग जोडिएका हरेक व्यापार प्रभावित भए। उनीहरुको गतिमा ब्रेक लाग्यो।
जीवन बीमाको व्यापारले कोरोना असर विभिन्न रुपले भोग्यो। संसारमा जे जति अटोमेसन, एआईको विकास भएपनि जीवन बीमा कम्पनीको व्यापार परम्परागत मोडलमा चलिरहेको छ। अर्थात् यस्तो बीमाका पोलिसीहरु बिक्री गर्ने भनेका अभिकर्ता हुन्।
चैत ११ गते लकडाउन लागूपछि त कसैले पनि परिवार बाहेक अरुलाई भेट्न नचाहने अवस्था आयो। अभिकर्ता हिँड्न पाएनन्, कसैलाई भेट्न पाएनन्। उनीहरुको पनि मुभमेन्ट रोकिएपछि त स्वभाविक रुपमा काम ठप्प भयो।
यो बीचमा आम्दानी नियमित भएकाहरु पनि नयाँ शिर्षकमा खर्च गर्न हच्किए। मान्छेले बचतमा ध्यान दिन थाल्यो। नयाँ कुरा केही पनि गर्न छाड्यो। खाना तथा औषधिजस्ता अत्यावश्यकीय वस्तुको भण्डारण भयो। बीमा आवश्यक हो। यस्तै जोखिम न्यूनीकरणकै लागि चाहिने हो भन्ने बुझाइ त आयो तर तत्काल बीमा मेरो प्राथमिकता होइन भन्ने धेरैको निष्कर्ष रह्यो।
अहिले भएकै ग्राहक जसले बीमा गरिसकेका छन् उनीहरुले पनि नियमित प्रिमियम तिर्नुपर्ने थियो। यो काम पनि राम्ररी सुचारु हुन सकेन।
शुरुमा केही समयमा सामन्य भइहाल्छ भन्ने लाग्थ्यो। पछि यसले लामो समय लिने देखेपछि कोरोनासँगै बाँच्नुपर्छ भन्ने निष्कर्षमा पुग्यौँ। यसका लागि हामीले केही नयाँ शैली अपनाउने प्रयास गर्यौँ। मिडियाको माध्यमबाट त्यसको जानकारी दियौं। डिजिटल भुक्तानीवालासँग सहकार्य गर्यौँ।
यसबाट हामीले सुरुमा जसले बीमा गरिसकेका छन् उनीहरुको दाबी पर्यो भने भुक्तानी दिन मिल्ने व्यवस्था गर्यौँ। ऋणको पनि त्यसैबाट काम गर्यौँ। यसमा कागजी प्रक्रियालाई मिलाएर गरेका छौं। यो काम हाम्रो सफल हुन थालेपछि बिजनेशमा पनि फोकस गर्यौँ।
सधैजसो परम्पारगत रुपमा काम गर्ने बीमा क्षेत्र यो पटक भने ‘डाइनामिक’ भएर अग्रसर भयो। बीमा समितिले पनि साथ दियो। कहिलेकाही संकटले नयाँ चिज जन्माउँछ भन्ने कुरा हामीमा पनि लागू भयो।
जेठमा आएर हामीले सुरक्षाका नियम लागू गरेर अनलाइनबाटै काम गर्न प्रोत्साहन गरेका छौँ। डिजिटल ब्रान्डिङ गर्यौं। सायद नर्मलको बेलामा गरेको कामभन्दा अहिले राम्रो नतिजा आएको छ। हामीले अब यो वातावरणलाई आत्मसात गर्नैपर्छ। गरेका पनि छौँ।
कोभिड १९ को प्रभावलाई अलग राख्दा जीवन बीमाको बजार नेपालमा कसरी विकास भइरहेको थियो?
गएको १० वर्षमा नेपालमा जीवन बीमाले ठूलो फड्को मारेको छ। एक दशक पहिले नेपालमा भएका सबै कम्पनीको जोड्दा वर्षको कूल प्रिमियम साढे दुई अर्ब हुन्थ्यो। अघिल्लो वर्ष ३० अर्ब थियो। गएको दशकमा नयाँ व्यवसाय मात्र वार्षिक १५ गुणाले बढेको छ।
देशको अर्थतन्त्रमा योगदान पनि बढाइरहेको थियो। यो कालखण्डलाई हेर्दा सुरुका ३ वर्ष राम्रो वृद्धि भयो। त्यसपछिका ३ वर्ष स्थिर भयो र पछिल्ला ३ वर्षमा छलाङ देखिएको थियो।
पछिल्ला ३ वर्षमा नीतिगत परिवर्तन पनि भए। बजारको समिकरण नै परिवर्तन भयो। बिमा समितिले नै बीमाको पहुँच बढाउने लक्ष्य लिएर आयो। त्यहीअनुसार नीतिहरु आए। त्यसपछि कम्पनीमा काम गर्ने अभिकर्तालाई पनि वातावरणमा सहजीकरण गरियो।
जीवन बिमामा १० नयाँ कम्पनीको प्रवेश भयो। ब्रान्डिङ बढ्यो, पहुँच बढ्यो र बजार पनि बढ्यो। कोभिडभन्दा अघिल्लो वर्ष मात्र हाम्रै कम्पनीको वृद्धि ६० प्रतिशत थियो। यो वृद्धिलाई कोभिडले रोकिदियो। हामी अहिले ठ्याक्कै गत वर्षको अवस्थामा छौं। सबै कम्पनीले अघिल्लो वर्षकै बराबरमात्र व्यापार गरे। हाम्रा लागि एक वर्ष ग्रेस जस्तो भएको छ। यसले गर्दा ९ महिना काम गरेरै अघिल्लो वर्षकै बराबर ब्यापार भएपछि वृद्धि त मान्नु पर्यो।
नेपालमा जीवन बीमाको बजार बढ्ने धेरै स्पेश छ। हाम्रो अहिले पनि २३-२४ प्रतिशतमा मात्र पहुँच विस्तार भएको छ। अर्को कुरा आम्दानी बढ्ने क्रममा छ। काम गर्ने जनसंख्याको विस्तार हुँदैछ। पारिवारिक आम्दानीको दायरा विस्तार हुँदैछ। यी सबै कुराले बजार विस्तारको बलियो सम्भावना देखाउँछ।
कोभिड १९ सधै त नरहला। यसको प्रभाव ढिलो चाँडो एकदिन हटेर जान्छ होला। हरेक क्षेत्रमा कोभिड पछिको वातावरण नै परिवर्तन हुन्छ भन्ने गरिएको छ। नेपालको सन्दर्भमा जीवन बीमा व्यवसायमा कस्तो फरक देखिएला?
कोभिडपछिको अवस्थामा केही परिवर्तन हुन्छ। यसले व्यापारको प्रकृति नै परिवर्तन हुन्छ। मान्छे भन्ने जीव नै त्यस्तो हो कि उसले कि वातावरणलाई आफू अनुकुल बनाउछ कि वातावरणअनुकुल आफू हुन्छ। उन्नत भविष्यका लागि थप कमाई त गर्नैपर्छ। त्यसका लागि काम पनि अनिवार्य हुन्छ।
हाम्रो काम गर्ने तौरतरीका परिवर्तन होला। मान्छेले इनोभेट गर्ला। गति त रोकिँदैन। ठिक यसैगरी जीवन बीमाको व्यापारले परिवर्तनसहित गति लिन्छ। अहिलेसम्म जसरी चल्यो त्यही हिसाबले अगाडि जान्छ भन्ने कुरा मैले सम्भावना देख्या छैन। ब्यापारको मोडल, बीमाको पोलिसीहरु अवश्य पनि रुपान्तरण हुन्छन्।
कोभिडका कारण हो कि स्वभाविक रुपमा परिवर्तनको आवश्यकता भएको हो ?
प्रविधिको विकास र त्यसको प्रयोगमा बीमा अछुतो हुन हुँदैन। कोभिड अघि हामी विश्वव्यापीकरणको समयमा थियौं। कोभिड अवधिमा त्यसको ठिक उल्टो छ। सबका सब आ आफ्नो ठाउँमा रोकिएका छन्।
सूचना प्रविधिको विकासअनुसारको व्यवसायमा पनि परिवर्तन गर्नुपर्ने कोभिड अगाडिकै आवश्यकता थियो। किनभने धेरै परिवर्तन भइसकेको थियो। मेसिनभित्रै मान्छेको बुद्धि ‘सेटअप’ गर्ने प्रविधिको प्रयोग व्यावसायिक रुपमा चलिसकेको थियो। यो त चाहिएकै थियो। तर जब कोभिड आयो त्यसले शारीरिक सम्पर्कबिहीन सहकार्यको माग गर्यो।
यसले हामीलाई क्रमिक रुपमा हैन आकस्मिक रुपमै डिजिटल रुपान्तरणमा लग्यो। सामान्य अवस्थामा हामीले तीन महिना वा तीन वर्षको योजना बनाउन सक्थ्यौं, अब हामीलाई तत्काल चाहियो। कोभिडले धेरै यस्ता आकस्मिकताको माग गरेको छ। हामीलाई छिटो गर्नुपर्ने जरुरत बनाइदियो, यो चुनौतिपूर्ण छ।
किनभने नेपाल लाइफमा ४० हजार सक्रिय अभिकर्ता छन्। देशका विभिन्न ठाउँमा छन्। अहिले पनि यस्ता मान्छे छन् जसले कम्प्युटर देखेका छैनन्। चलाउने त परको कुरा। तर उनीहरु धेरै राम्रो अभिकर्ता छन्। उनीहरुले राम्रो व्यापार गरिरहेका छन्। अहिलेको सन्दर्भमा व्यापार पनि राम्रो गरिरहेका छन्। अब ती सबैलाई प्रविधिसँग जोड्नुपर्छ। त्यो सजिलो छैन। तर हामीसँग पन्छिने सुविधा पनि छैन।
तपाईले करिब एक दशक एउटै कम्पनीमा जीवन बीमाको व्यापारको नेतृत्व गर्नुभयो। यो क्रममा तपाइले कयौं प्रश्न पनि सामना गर्नुभयो होला। नेपाली समाजमा जीवन बीमाप्रतिको बुझाइ कस्तो पाउनुभयो?
पहिलेको तुलनामा सकारात्मक बुझाइ बढेको छ। त्यसको पछाडि हामी यो क्षेत्रमा काम गर्नेहरुको कर्मको फल पनि हो। पहिले त म अभिकर्ता हुँ भन्न पनि लाज मान्थे। एजेन्ट हो भनेर कसैले प्रश्न गर्यो भने शिक्षक, कर्मचारी वा अरु केके पेशा देखाउथे। आजको दिनमा भने अवस्था फरक छ। यो बुझाइ परिवर्तनका लागि हामी आफैले पनि काम गरेका छौं। अभिकर्तालाई प्रोत्साहन र सम्मान पहिला हामीले नै गर्नुपर्छ भनेर मैले पनि धेरै काम गरेँ।
सुरुमा अभिकर्ताहरुले कम्पनीलाई चिनाए। ग्राहकहरु पनि विश्वस्त हुँदै गए। निरन्तरको प्रयासमा यसको प्रगति भएको छ। नेपाल लाइफले आजसम्म अर्बौ दाबी भुक्तानी गरिसकेको छ। त्यस्तै नयाँ व्यापार पनि ल्याइरहेको छ।
लगानीकर्तालाई पनि सुरुदेखि प्रतिफल दिइरहेको छ। सेयर बजारमा पनि टप कम्पनीमा आउने भएको छ। यी सबै कुराले कम्पनीप्रतिको विश्वास बढ्यो र मान्छेहरुलाई पनि लाग्न थाल्यो कि जीवन बीमाले जोखिम न्यूनीकरणसँगै भविष्यका लागि बचतको काम गर्नेरहेछ। आजको दिनमा ग्राहकको संख्या पनि बढेको छ। आज बीमांक पनि बढेको छ। यो सबै कुरा बीमाप्रतिको फराकिलो बुझाइकै कारण हो।
बीमालाई आम नागरिकले कसरी बुझ्ने? तपाईं कसरी बुझाउन रुचाउनुहुन्छ?
जसरी हामी एउटा बिन्दुमा पुगेपछि आफ्नो जीवनको योजना बनाउछौं। त्यसमा वित्तीय योजना हुन्छ। अर्थात् व्यक्तिगत वित्तीय योजना। दैनिक खर्च, आम्दानी र बचतका रुपमा त्यस्तो योजना बन्छ। यो योजनामा बीमालाई पनि राख्नुपर्छ।
यसो किन गर्नुपर्छ भन्ने केही आधारहरु छन्। जिन्दगीमा आउने आर्थिक जोखिमलाई टार्नुपर्यो। आर्थिक जोखिम कसरी थाहा पाउने? जस्तै एउटा व्यक्तिले आफ्नो परिवारका लागि काम गर्ने उमेरसम्म जुन कूल पैसा कमाएर घर चलाउँछ त्यो उसको आर्थिक मूल्य हो। कसैले महिनामा १ लाख कमाउँछ भने उसको भ्यालु १ लाख भयो।
यदी त्यो ब्यक्तिको जीवन तलमाथि भयो भने पारिवारिक जोखिम बढ्छ। मेरो बिचारमा बचतभन्दा पहिला जोखिम न्यूनीकरण गर्नुपर्छ। त्यो भनेको बीमा हो। त्यस्तो जोखिमको व्यवस्थापन गर्न २ हजार रुपैयाँ पनि लाग्दैन। उमेरअनुसार तलमाथि होला।
बीमा कहिले गर्ने भन्दा अहिलेनै तत्काल गर्ने। किनभने १ मिनेटपछि महंगो पर्नसक्छ। कुनै रोग पहिचान भयो भने बीमा गर्नै पाइँदैन। कसैको १ लाखको कमाइ भए वर्षमा १२ लाख कमाउँदा १० वर्षमा १ करोड २० लाख कमाउँछ। यसमा महिनामा २ हजार मात्र बीमाका लागि बचत गर्दा पनि कूल जोखिम न्यून हुन्छ। यो त परिवारका लागि धेरै राम्रो हो।
दोस्रो कुरा हामी काम गर्दै जान्छौँ। नेपाल यस्तो देश हो यहाँ बहुसंख्यक जागिरे छन्। यहाँ उद्दमी कम, जागिरे धेरै छन्। बच्चैदेखिको स्कुलिङ राम्रो पढेर जागिर खानुपर्छ भन्ने छ। हामी सबैको त्यही ध्येय छ। जागिर खाएर भविष्यमा एकैपटक १०, १५ वर्षपछि एकमुष्ट पैसा चाहिएमा कहाँबाट ल्याउने? बीमा यसको सही समाधान हुन्छ।
धेरै कमाइ भएपछि बचत धेरै हुन्छ भन्ने पनि हुँदैन। हामीले भोगेकै कुरा हो। पाँच हजार कमाइ हुँदा पनि टाइट खर्च हुन्छ। १ लाख हुँदा पनि त्यस्तै हुन्छ। यसो हुँदा कुनै कालखण्डमा एकैचोटी धेरै पैसा निकाल्न त गाह्रो हुन्छ। यसका लागि योजनाबद्ध बचत चाहिन्छ। बीमा जस्तो अनुशासित बचत अरु हुनैसक्दैन। एकैचोटी पैसा आउँदा बच्चाको शिक्षादेखि घर बनाउनेसम्मको खर्च टार्न सकिन्छ।
धेरैजसो जनतासँग ऋण हुन्छ। केही न केही ऋण छ। जव हामीले त्यस्तो ऋण लिन्छौं। त्यसरी ऋण लिनेहरुलाई के लाग्छ भने ऋणको अवधिसम्म त पक्कै बाँच्छु भन्ने लाग्छ। तर त्यो त सत्य होइन। त्यो त विचार मात्र हो। यदी सोचेको जस्तै भएन भने त्यो परिवारका लागि भार हुनजान्छ। त्यसैले बैंकहरुले जति अंकको ऋण दिन्छ त्यही बराबरको बीमा गराउनैपर्छ।
त्यस्तै हाम्रोमा कर छुटको कुरा पनि छ। सरकारले निश्चित रकम वर्षमा बीमा गरेमा त्यसमा आयकर लगाउँदैन। भविष्यको सुरक्षा र बचतका लागि यो छुट सुविधा उपयोग गर्नलाई पनि उपयुक्त हुन्छ। अर्को कुरा सरकारी तथा संस्थागत क्षेत्रमा पो कोषको सुविधा हुन्छ रपाउँछन्। तर जो स्वरोजगार तथा अनौपचारिक क्षेत्रमा काम गर्छन् उनीहरुका लागि अवकाशपछिको जीवन सहज पार्न पनि बीमा भएपछि सजिलो हुन्छ।
मृत्युको बारेमा कुरा गर्न अप्ठेरो त लाग्छ तर सत्य त त्यही हो। बाँचुन्जेल त आफै गरिन्छ नि। तर शेषपछि पनि काम लागोस् भनेर गर्नुपर्छ। अन्ततः व्यक्तिको दैनिक खर्चमा बीमाका लागि पनि खर्च छुट्याउनुपर्छ। यसबाट धेरै कुरा सुरक्षित हुन्छ।
ब्यापारमा लिडर हुनु। अरुभन्दा धेरै अगाडि हुनु आफैमा धेरै कुराको संयोग होला। तपाईले नेतृत्व गर्दा पनि राम्रै पोजिसनमा थियो नेपाल लाइफ। तपाईंले केही समय अघिमात्र नेपाल लाइफ सबै अर्थमा अब्बल छ भन्ने विज्ञापन गर्नुभएको थियो। अब तपाईंले कम्पनीको जिम्मेवारी छोड्नुभएको छ। यो ‘गुड टु ग्रेट’को यात्रालाई कसरी सम्झनुहुन्छ?
कम्पनीको कार्यकारी भूमिकामा आएपछि मेरो कहिलै पनि बजारमा लिडर हुने भन्ने मुख्य रणनीति थिएन। अब्बल सर्भिस प्रोभाइडर बन्ने थियो। यसका लागि बीमालाई सबैतिर विस्तार गर्नु, बुझाउनु उत्तिकै महत्वपूर्ण काम थिए। बीमा कसैले गरिसकेपछि उहाँको अपेक्षाभन्दा राम्रो सेवा दिनुपनि पनि उत्तिकै जिम्मेवारी थियो। हाम्रो ध्यान तिनै तीन पक्षमा थियो। हामी त्यसरी नै अगाडि बढ्यौँ।
यसको दौरानमा म आफू ड्राइभिङ सिटमा थिएँ। जति पनि मेरो टिममा साथीहरु थिए ती सबैले इमानदारीका साथ काम गर्नु जरुरी थियो। किनभने मुख्य कुरा जो व्यक्ति संस्थामा काम गर्छ उसले इमानका साथ काम गर्यो भने २ सय प्रतिशत हुन्छ। स्वतस्फुर्तको वातावरण भयो भने उसले आफ्ना लागि काम गर्छ।
त्यसमा उसको स्वामित्व विकास हुन्छ। त्यसपछि डोरी तान्ने खेल जस्तो हुन्छ। डोरी तान्दाखेरी म एक्लैले तान्ने भन्ने भावना हुनुपर्छ सबैमा। सकेजति म आफै बल लगाउछु भन्ने हुनुपर्छ। टिममा कसैले मैले किन तान्ने भनेपछि राम्रो हुन्न। मैले त्यही गरेँ सुरुमा, सबैमा त्यो भावना आउने वातावरण बनाएँ। आजको दिनमा हेर्दा नेपाल लाइफमा त्यो वातावरण निर्माण पनि भयो जस्तो लाग्छ।
तथ्यांकमै हेर्दा आज त्यो देखिएको छ। कुनै पनि संस्थामा काम गर्ने वातावरण राम्रो छ भन्नेमा केही मानकहरु हुन्छन्— जस्तै, स्टाफ टर्नओभर रेसियो हो। काम गर्ने वातावरण भएन, पैसा राम्रो भएन वा कम्पनीको नीति नै ६ महिनामा कर्मचारी परिवर्तन गर्ने भएमा उनीहरु छोडेर जान्छन्। बजारमा १० नयाँ कम्पनी आउँदा पक्कै पनि अवसर धेरै सिर्जना भएको थियो। तर हाम्रोबाट नगन्य मात्र मानिस गए।
अर्को कुरा, म थोरै स्टाफमा काम गर्ने मान्छे हुँ। २०६९ सालमाा सिइओ हुँदा ३२० कर्मचारी थिए। आजभन्दा २ वर्षअघि मात्र त्यति नै थिए। गएको वर्षमात्र थपेका थियौं। बढीमा १० जना जति बाहिरिए होलान्।
अर्को कुरा ब्यापार कसरी गर्छौं भन्ने हो। अग्रपङ्तिमा ग्राहकहरुसँग काम गर्ने भनेका अभिकर्ता हुन्। अभिकर्तालाई मैले नियुक्ति दिएको त होइन। उनीहरु स्वतन्त्र छन्। अरु कम्पनीसँग पनि काम गर्न स्वतन्त्र हुन्छन्। बीमित खोज्न गाह्रो छ भन्छन् अरु। म भने अभिकर्ता पाउन गाह्रो देख्छु। बजारमा १९ कम्पनी पुग्दा पनि उनीहरु नेपाल लाइफमा जोडिएर बसे। हामीप्रति विश्वास गरे। हामीले अभिकर्ताको विश्वास पनि बनायौं।
कम्पनीको लोकप्रियता विज्ञापन दिएरमात्र हुँदैन। मैले पहिले पनि भनिसके कि ब्रान्डिङ र काम। बाचा र एक्सन सँगै जानुपर्छ। अर्को कुरा क्यापिटल मार्केट थियो। जहाँ कम्पनीको प्रगति र विश्वास देखिन्छ। त्यहाँ लगानीकर्ता हुन्छन्। उनीहरुको विश्वास जित्ने कुरा हो। यी सबै कुरा कम्पनीभित्रका गतिविधबाट आउँछ।
त्यसपछि आउछ— रिजल्ट। नेपाल लाइफले पहिलो पटक ७० प्रतिशत बोनस सेयर र ५६ प्रतिशत नगद लाभांस दिंदा बजारमा तरंग उत्पन्न भयो। त्यो बेला मलाई धेरैले १० वर्ष लगाएर आएको हो नि यो भनेका थिए। अब अर्को १० वर्ष कुर्नुपर्छ भन्थे। तर त्यसपछि आजसम्म कुनै पनि वर्ष प्रतिफल बन्द भएन। टप फाइभमा यो कम्पनी मार्केटमा परिरह्यो। यो कम्पनीले ‘एफपिओ’ पनि जारी गर्यो। साढे चार अर्बको माग गर्दा ५३ अर्बको प्रस्ताव पर्यो। २ लाख सेयर सदस्य भए। बार्षिक आय लगातार बढिरहेको छ। जो लगानीकर्ता छन्, ती बीमित पनि छन्।
अर्को कुरा ‘कर्पोरेट गभर्नेन्स’मा पनि हामी अब्बल रहने प्रयास गर्यौँ। हाम्रो देशमा अधिकांश नियामकको फ्रेमवर्कमा काम हुन्छ। नियामकले भनेअनुसार काम गर्नुपर्छ। तर संस्थागत सुशासन भनेको त्यहीमात्र होइन। त्यो त कानूननले न्यूनतम यति पालना गर भनेको मात्र हो। खासमा सुशासन भनेको त अभ्यास द्वारा पुष्टि भएका अभ्यासहरु हुन्। त्यसको कार्यान्वयन गर्नुपर्छ। हामीले त्यही गर्न प्रयास गर्यौँ।
हामीले दुई अर्ब सेयर क्यापिटल गरे पुग्ने थियो। कम्पनी जब कमाउँदै गयो। बीमितको विश्वास कायम गर्नुपर्छ। सेयरहोल्डरले त्याग नै गर्नुपरे पनि बीमितको विश्वास भने धर्मराउन दिनु हुँदैन। हामीले साढे पाँच अर्ब क्यापिटल लिएर बसेका छौं। विभिन्न कानून छन्। ती सबै कानूनको मर्म पनि बुझेर काम गर्नुपर्छ। हामीले ती सबै गर्यौं। यी सबै गरेपछि अरु सब कुरा हुँदै जान्छन् भन्ने हाम्रो शुरुदेखिको विश्वास थियो। हाम्रो दौड नम्बरको थिएन। मैले पढ्दाखेरी पाएको ज्ञान भनेको कम्पनी ‘चान्स’ले पनि राम्रो हुन सक्छ। तर त्यो कम्पनी ‘ग्रेट’ भने कामले मात्र हुन्छ। ‘गुड टु ग्रेट जर्नी’ भन्ने एउटा किताब नै छ।
त्यो बेलामा हाम्रो बजार हिस्सा २० प्रतिशत थियो। प्रतिस्पर्धा थियो ठूला ठूला बहुराष्ट्रिय कम्पनीहरुसँग। जसले विश्व बजारमै छाप छोडेका छन्। जोसँग अहिले पनि म सिक्दै छु। उनीहरुसँग शताब्दी लामो बिरासत छ।
सबैको आफ्नो कम्पनी अगाडि लिएर जाने इच्छा हुन्छ। हामी स्वभाविक रुपमा पूर्णांकका पछाडि दौडिएका थियौं। लक्ष्य भनेको नयाँ बजार सिर्जना गर्ने र अर्को प्रतिस्पर्धीसँगको दुरी कायम राख्ने थियो। म विदेशमा जाँदा ग्राफ देखाउँथे— पुरा देशको बजारमा ठूला पाँच कम्पनीले कति व्यापार गरेका छन्। बाँकीले कति गरेका छन् र हामी नजिकको प्रतिस्पर्धीसँग कति दुरीमा छौं भनेर देखाउँथे।
मैले नेपालमा पहिलो र दोस्रोमा कति ग्याप छ भनेर सोचें। त्यतिबेला हाम्रो २० प्रतिशत थियो भने प्रतिस्पर्धीको १९ प्रतिशत थियो। आज हामी ३० प्रतिशतमा छौं, दोस्रो ११,१२ प्रतिशतमा छ। त्यो ग्याप बढाउन हामी प्रयास गर्यौ। हामीले कसैको भाग खोसेर यो सब गरेका होइनौं। किनभने ब्यापार त सबैको बढेकै छ। हामीले बजार बनायौं। हाम्रा लागि प्रतिस्पर्धा बिहीन जस्तै बजार बनायौं। हामीले एक्लै पौडी खेल्न मिल्ने पोखरी बनायौं।
रणनीति हामीले कागजमा बनायौं तर त्यो भन्दा राम्रोसँग कार्यान्वयन गर्यौं। कुनैबेला हामीलाई वर्षमा १ अर्बको नयाँ व्यापार थपिने कुरा अनौठो लाग्थ्यो तर अहिले १० अर्बकै आइसक्यो। आजको दिन सबैको मेहनत, साथ र सहयोगकै बलमा यो सम्भव भएको हो। यो भनिरहँदा पनि यो अन्तिम गन्तव्य त होइन। बीमाको बजार अझै धेरै ठूलो छ।
तपाईंले सुरु गर्दा र छोड्दाको बीचमा भएका प्रगतिलाई तथ्याङ्कमा कसरी भन्नुहुन्छ?
मैले २०६८ सालमा शुरुवात गर्दा साढे सात अर्बको लगानी थियो। ०६९ सालमा म सिइओ भए। साढे ३७ करोडको सेयर क्यापिटल थियो। वार्षिक व्यापार ५३ करोड गरिरहेका थियौँ। हिजोको तथ्याङ्क अनुसार लगानी ९३ अर्ब भएको छ। वार्षिक व्यापार गएको वर्षमात्र ९ अर्ब भइसक्यो। सेयर क्यापिटल साढे ५ अर्ब भइसक्यो।
हामीले हालसम्म ७ अर्ब बढी लाभांश वितरण गरिसकेका छौँ। कुनै पनि वर्ष खाली गरेका छैनौं। कम्पनीको रिजर्भमा ४ अर्ब थपिएको छ। बार्षिक रुपमा नाफा आफ्नो लेबलमा बढिरहेको छ। करिब २७ लाख मान्छेको बीमा गर्न सफल भइसकेका छौं। शाखा ३६ बाट दुई सय पुगे।
सबै जिल्लामा पुगेका छौं। कुनैबेला ५ हजार अभिकर्ता भएकोमा अहिले ३५ हजार सक्रिय छन्। स्टाफको तलब तथा सुविधा पनि प्रगतिअनुसार बढेको छ। अहिले न्यूनतम तलब नै २३ हजार पुगेको छ।
नियामक निकायले निश्चित फ्रेमवर्क दिएको हुन्छ। त्यही एउटा बनिबनाउ ढर्रामा खेल्ने अवस्था हुन्छ। यसमा तपाइले कसरी खेल्नुभयो? जसले तपाइहरुलाई अरुभन्दा फरक बनायो।
शुरुवाती दिनमा हामी प्रतिस्पर्धीसँग ‘नेक टु नेक’ थियौं। लामो अनुभव भएका कम्पनी र ब्रान्डसँग हामी प्रतिस्पर्धामा थियौँ। म युवा पनि थिएँ। त्यतिबेला ३७ वर्षको मात्र थिएँ।
मलाई केही गर्नुथियो। मलाई एउटा जोखिम थियो कि केही गरेर प्रमाणित गर्नु। यदि गर्न नसके म फेजआउट हुने जोखिम थियो। किनकि ५५ वर्षअघि त सिइओ बन्न हुन्न भन्ने सोच हुन्छ।
मुख्य कुरा प्रडक्टको थियो। हाम्रा प्रतिस्पर्धी विश्व बजारमा प्रमाणित ‘प्यारामिटर’मा आधारित प्रडक्ट ल्याएर बसेका थिए। मलाई भने के लागिरहेको थियो भने ब्यापार नेपालमा गर्नु छ, नेपाली प्यारामिटर बनाउनुपर्छ। किनकि बीमा भनेको विश्वास हो। यो विश्वास नेपालीपन सहितको भएमा उत्तम हुने थियो।
पहिले भावना बुझ्न सक्छुपर्छ भन्ने लाग्यो। मैले नै बीमा किन गरेको थिइनँ, आफैले सोचेँ। साथीहरुसँग बसे। उनीहरुले भारतमा त्यस्तो राम्रो बीमा छ भन्थे। किनभने उनीहरुले टिभीमा देखेका हुन्थे। ‘जीवनका साथ भी बाद भी’ भन्ने विज्ञापन आउथे।
त्यो प्रडक्ट नेपाल लाइफले वर्षौदेखि बेचिरहेको थियो। तर त्यसको जानकारी नेपालमै थिएन। पहिलो कुरा कि तपाईंसँग भएको जानकारी लिएर जानुपर्छ। किनभने राष्ट्रवादी भावना हरेक देशमा हुन्छ। तर त्यो प्रतिस्पर्धी हुनुपर्छ। पहिलो त हामी एनएलआइसी भन्थ्यौं। पछाडि एलआइसी अगाडि एबिसिडी हुन्थ्यो, त्यतिबेलाको समयमा। सबै दुविधामा थिए।
राम्रो ब्रान्डसँग नाम मिल्नेवित्तिकै हुन्छ भन्ने भ्रम थियो। तर मलाई त्यस्तो लागेन। नेपाली भएरै चिनिनुपर्छ भन्ने लाग्यो। त्यसका लागि आफ्नै नामले चिनिनुपर्छ भन्ने लाग्यो। मलाई त्यतिबेला रोक्न पनि खोजेका थिए। अन्ततः हामीले ‘नेपाल लाइफ’ हुनुपर्छ भनेर रिब्रान्डिङ गर्यौ। त्यो ब्रान्डिङसँगै हामीले मिडियासँग सहकार्य गर्यौ।
हामीले डिजिटल टुल्सको पनि प्रयोग गर्यौं। हामीले बीमा किन गराउँदैनन् भन्ने कुरा जान्न खोज्यौं। यो बुझ्न जाँदा त्यतिबेला ठूलो घटना पनि भएको थियो। त्यसले पनि नकारात्मक प्रभाव परेको थियो। कम्पनी भागिहाल्यो भने? भन्ने पनि प्रश्न थियो। १५ वर्षको बीमा भनेको छ त्यसपछि पैसा दिएन भने? यस्ता प्रश्न व्यापक थिए। यहाँ बाचा पुरा गर्ने, नगर्ने बीचमा दोधार थियो।
यहाँ बीमाले पैसा दिन्छ भन्ने भावना हामीले जागृत गर्नुपर्ने थियो। त्यसका लागि म्याचुरिटीमा मात्र पेमेन्ट भन्दा पनि बीचबीचमा पनि पेमेन्ट गर्ने योजना आवश्यक थियो। २ वर्ष, ३ वर्ष र ५ वर्षमै। अर्को महंगो छ भन्ने थियो। त्यतिबेला लो मार्जिनमा धेरैमा जाने तर नाफा थोरैमात्र राख्ने योजना ल्यायौं।
यसबाट बीमाले पैसा दिनेरहेछ भन्ने भावना आउने भयो। त्यसो भएमा उसले पक्कै पनि थप बीमा गर्छ भन्ने विश्वास थियो मेरो। वर्षमा ६ हजार राखेर पाँच वर्षपछि बीमा पायो। त्यो प्रडक्ड यति धेरै बिक्यो कि त्यसले बजारमा ह्वीम नै ल्यायो। त्यो नेपालकै धेरै लोकप्रीय भयो। ‘जीवन समृद्धि’ नामको प्लान थियो।
अघि व्यवस्थापकीय स्थिरताको कुरा तपाइले पनि निकाल्नुभयो। नेपालको कर्पोरेट क्षेत्रमा यो कुरा धेरै उठेको छ। पब्लिक कम्पनीहरुमा त झनै उठेको छ। स्थिरता तुलनात्मक कुरा होला। तपाईंलाई के लाग्छ उन्नतिका लागि व्यवस्थापकीय स्थिरता कत्तिको आवश्यक छ?
स्वामित्व र व्यवस्थापन अलग कुरा हो। लगानीकर्ता आफ्नो दायरामा बस्नुपर्छ। व्यवस्थापन पनि आफ्नै दायरामा बस्नुपर्छ। सुशासनले पनि के भन्छ भने व्यवस्थापनमै लगानीकर्ता भयो भने उसले आफ्नो फाइदाका लागि सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्नसक्छ। त्यसैले यस्तो मान्छेलाई व्यवस्थापनमा राख्नुपर्छ जसको सेयर पनि हुँदैन। जसले आफ्नो स्वार्थमा काम गर्ने सम्भावना न्यून हुन्छ।
यी दुइको बीचमा प्रष्ट रेखा हुन्छ। त्यो रेखा दुईमध्ये एकले क्रस गर्यो भने दुर्घटना हुन्छ। यसको एउटा उदाहरण नेपाल लाइफ नै छ। १० वर्ष मैले आफै काम गरेको छु। हाम्रो परिणाम देखिएकै छ। केही गडबड हुनेवित्तिकै देखिहाल्छ। केही समयका लागि व्यवस्थापन गर्न सकिएला तर लामो समयसम्म सकिंदैन। सार्वजनिक पैसा परिसकेपछि त्यहाँ गल्ती गर्ने छुट कसैलाई पनि हुँदैन।
बीमा कम्पनीहरु ‘फन्ड जेनेरेटर’ पनि हुन्। यसको बजार जति बढ्दै जान्छ। त्यति नै लगानीका लागि विकासका लागि उपयोग हुनसक्छ पनि भनिन्छ। नेपालमा भइरहेको छ त?
बीमा बजारलाई दिगो बनाउने हो भने जुन ‘प्रिमियम’ हामीले ल्याएका छौं त्यसको उचित व्यवस्थापन जरुरी छ। त्यो भनेको देशलाई आवश्यक पूर्वाधार हो, यसको माग लामो समयका लागि हुन सक्छ।
फेरि हाम्रो कोष भनेको सार्वजनिक पैसा हो। त्यसैले यसको जोखिमलाई सबैभन्दा पहिला ध्यान दिनुपर्छ। जथाभावी लगानी गर्न सकिँदैन। यसमा फेस भ्यालु भनेको पैसाको ग्यारेन्टी हो। जस्तोसुकै अवस्थामा पनि त्यो पैसा तिर्नैपर्छ। यो जोखिम मुक्त हुनका लागि सरकारी बन्डहरुमा लगानी हुनुपर्छ भनिन्छ। विदेशमा पनि बीमाको पैसा यस्तै ठाउँमा लगानी भएको हुन्छ। इन्फ्रा बन्डमा लगानी भएको हुन्छ, लामो समयका लागि। जीवन बीमा कम्पनीले आफै लगानी गरेका हुन्छन्।
हाम्रोमा एकातिर देशलाई पनि पुँजी चाहिएको छ। हामी पनि १५, २० वर्षका लागि बीमा लिएर बसेका छौं। तर हामी पैसा लिएर बैंकको मुद्दती खातामा हाल्छौँ। बैंकमा पैसा हाल्नु भनेको अन्तिम रोजाइ हो अन्यत्र। तर हाम्रो देशमा पहिलो रोजाइ नै यही भएको छ।
फेरि अर्को बिडम्बना पनि छ। विदेशबाट टेलिभिजन ल्याएर बिक्री गर्ने व्यापारी जसले डेढ लाखमा बिक्री गर्छ। उसको कमाइ भनेको ५० हजार भयो। त्यो ५० हजारबाट बचत भएको २,४ हजार बैंकमा राख्छ। उसलाई कर्पोरेट डिपोजिटर भनिन्छ। त्यही वर्गमा बीमालाई पनि राखिएको छ। यहाँनेर विभेद छ।
सरकार वा अन्य कुनै पूर्वाधार विकास बैंकजस्ता संस्थाले यस्ता फन्डलाई जोड्ने हो भने आजकै दिनमा ३ खर्बभन्दा बढी पुँजी उपलब्ध हुनसक्छ। जसरी १० वर्षको दौरानमा १५ गुणा बढेको छ, यसैगरी आगामी १० वर्षमा बढ्ने हो भने अहिलेको ३ खर्ब ४५ खर्ब हुनसक्ने अवस्था छ। त्यसका लागि उपयुक्त उपयोग योजना बनाउनुपर्छ। एकातिर हामी बीमाको पहुँच बढाउने भनिरहेका छौं। यदि यसको सदुपयोगको नीति आएन भने अबका दिनमा अस्थिर ब्याजदरको सिकार बीमा क्षेत्र पनि हुनसक्छ।
बीमा क्षेत्रले अहिले पनि विभिन्न समस्यासँग फेस गरिरहेको होला। यसका लागि नीतिगत सुधार खोजिरहेका होलान्। कस्तो नीतिगत परिवर्तन आवश्यक भएको छ?
हाम्रोमा बीमाको ७५ वर्षको इतिहास भयो। पहिलाको ५० वर्ष दुई कम्पनी मात्र थिए। त्यसपछि अरु आउन सुरु गरे। अहिले आएर दर्जनौ भएका छन्। खेलाडी बढेपछि प्रतिस्पर्धा पनि बढेको छ। त्यहीअनुसार नियमनको खाँचो पनि देखिएको छ।
आज पनि जब चौमासिक रिपोर्ट बन्छ त्यसमा नाफा एउटा हुन्छ। जब बार्षिक प्रतिवेदन आउँछ, त्यसमा व्यापक परिवर्तन आउँछ। जनता तथा लगानीकर्तालाई सुसुचित गर्नलाई दिनुपर्ने रिपोर्टको हालत त्यो छ अहिले पनि।
अहिले जसरी बजारमा पोलिसीहरु गइरहेका छन्। ती साँच्चिकै कम्पनीले खर्च गरेअनुसारको आम्दानी छ? कि कम्पनीलाई भार मात्र थपिरहेको छ? ‘क्रसचेकु हुनुपर्ने समय आयो अब। हामी पुँजीको ‘क्याप’ तोकिरहेका छौ। जोखिमअनुसार पुँजी हुनुपर्ने समय अब आएको छ। व्यापार कति गर्ने र त्यसका लागि कति पुँजी चाहिन्छ? जोखिमका आधारमा पुँजको क्याप हुनुपर्छ अब। यस्ता कानूनी नीतिगत व्यवस्था गरेर बिमा समितिको बलियो नियमन क्षमता विकास गर्नुपर्ने बेला आएको छ।
८ वर्ष एउटै कम्पनीको सिइओ भएर बाहिरिनुभएको छ। अबको योजना के छ?
०६९ सालमा मलाई ८ वर्षका लागि सम्झौता गरिएको थियो। मेरा लागि यो लामो इनिङ भयो। राम्रो पनि भयो। मेरो करियरको पहिलो दशक अडिटमा बिताएँ। दोस्रो दशक बैंकिङ र बीमामा। एक किसिमको काम सिकियो। अब केही समय आराम गर्ने बेला हो। ६ महिना आराम लिने सोचिरहेको छु। त्यसपछि दोस्रो इनिङ कता जान्छ, कुन क्षेत्र जान्छ हेर्न बाँकी छ।
मेरो मनमा अझै केही भोक भने बाँकी नै छ। म उद्मशिलता बढी रुचाउछु। म ‘इन्ट्रेनपेनर’ हुन चाहन्छु। यो सब मनन गर्दै छु। यहीबीचमा म योजना बनाउन चाहन्छु। अहिलेसम्मको मेरो यात्रा राम्रो भयो, मेरा हरेक सहयात्रीप्रति कृतज्ञ छु।

Write your Comment