नयाँ कम्पनी थपिएपछि बीमा बजारमा बढ्यो प्रतिष्पर्धा

रातोघर

 २०७७ श्रावण १८, आईतबार  मा प्रकाशित
३३३ पाठक संख्या


 

साउन, काठमाडौं । नेपाली बीमा इतिहास ७ दशक लामो भए पनि बीमाको पहुँच भने अझै पनि धेरै नागरिकमा पुगन सकेको छैन । पछिल्लो समय भने बीमाको दायरा विस्तार हुँदै गएको बीमा क्षेत्रको नियामक निकाय बीमा समिति बताउँछ ।

२ वर्ष अघिसम्म बीमाको पहुँच ७ प्रतिशत नागरिकमा मात्रै सीमित थियो । अहिले २७ प्रतिशत नागरिक (वैदेशिक रोजगार समेत) बीमाको दायरामा आएको समितिले बताउँछ । बीमाको पहुँच यसरी विस्तार हुनुमा नयाँ बीमा कम्पनीहरुको पनि राम्रो योगदान देखिएको छ ।

वर्षौदेखि बीमा बजारमा राज गरिरहेका बीमा कम्पनीहरुलाई डेढ वर्षअघि स्थापना भएका कम्पनीहरुले टक्कर दिएका छन् । चिरञ्जीवि चापागाईं बीमा समितिको अध्यक्षमा नियुक्त भएपछि १० वटा नयाँ बीमा कम्पनीहरुलाई सञ्चालन अनुमति दिएका थिए ।

आवश्यकता नभए पछि लाइसेन्स बाँडेको भन्दै अध्यक्ष चापागाईंको आलोचना समेत भएको थियो । तर, सञ्चालनको २ वर्ष नपुग्र्दै नयाँ बीमा कम्पनीहरुको ‘परफरमेन्स’ धेरै राम्रो देखिएको छ ।

वर्षौंदेखि सञ्चालनमा रहेका केहि कम्पनीलाई पनि कतिपय नयाँ कम्पनीहरुले बीमा शुल्क आर्जनमा टपेका छन् । गत आर्थिक वर्ष २०७६/७७ मा १९ बीमा कम्पनीहरुले ९४ अर्ब ३५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

यसमा नयाँ थपिएका बीमा कम्पनीहरुको योगदान १५ अर्ब ७४ करोड रुपैयाँ रहेको छ । उता सञ्चालनमा रहेका २० निर्जीवन बीमा कम्पनीहरुले २५ अर्ब ८४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

बीमक संघका अध्यक्ष भन्छन्- कडा प्रतिष्पर्धा

जीवन बीमा कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृतहरुको संगठन जीवन बीमक संघका अध्यक्ष तथा सूर्या लाइफ इन्स्यारेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे अहिले कम्पनीहरुबीच संगिन प्रतिष्पर्धा चलेको बताउँछन् ।

अध्यक्ष पाण्डेले नयाँ बीमा कम्पनी थपिएपछि प्रतिपर्धा पनि बढाएको बताए । उनले नयाँ कम्पनीका कारण पुराना कम्पनीहरुमा चुनौतीहरु पनि थपिएको बताए । समग्रमा भने यसले राम्रै प्रभाव परेको उनले बताए ।

‘दायरा पनि बढेको छ, गाउँ-गाउँमा बीमाको पहुँच पुगेको छ’  उनले भने, ‘संख्या थपिएपछि प्रतिष्पर्धा त हुने नै भयो पहुँच पनि बढेकाले समग्रमा राम्रै छ ।’ कोभिड-१९को त्रासका बिच अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ३० प्रतिशतले व्यवसाय बढेको भन्दै उनले खुसी व्यक्त गरे ।

‘लकडाउनले गर्दा ३ महिना तनावपूर्ण रहृयो, समग्र अर्थतन्त्रमा प्रभाव परेकोले यसलाई स्वभाविक मान्नु परो, बीमा पनि अर्थतन्त्रकै पाटो भयो’ उनले भने, ‘नयाँ बिजनेस राम्रो देखियो, ३० प्रतिशत हाराहारीमा वृद्धि हुनु राम्रो कुरा हो ।’

नियामक निकाय खुसी

बीमा कम्पनीहरुको प्रगति देखेर नियामक भने खुसी छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईंले पछिल्लो समय बीमा कम्पनीहरुले गाउँ-गाउँमा पुगेर सेवा दिएको कारण राम्रो नतिजा आएको भन्दै खसी व्यक्त गरे ।

उनले बीमामा भारत र चीनकै हाराहारीमा पुगेको भन्दै बीमा कम्पनीहरुका सीईओ र कर्मचारीहरुलाई धन्यवाद दिए । ‘नयाँ कम्पनीलाई धेरै चुनौती थियो, ंअहिले धेरै राम्रो भएको छ भने हामी चीन र भारतको लेभलमा पुग्यौं’ अध्यक्ष चापागाईंले भने, ‘कुल ग्राहस्थ उत्पादनमा हाम्रो योगदान ३.५ प्रतिशत पुगेको छ, भारतमा पनि ३.५ छ चीनको ४.५ छ, कभरेजको हिसाबले पनि करिब उस्तै उस्तै छ ।’

नयाँ कम्पनीहरुलाई लाइसेन्स दिनु अद्धि पुँजी पनि सानो भएको र कम्पनी पनि विश्वास कम हुनुका साथै कम्पनीहरु सहर केन्दि्रत रहेको उनले बताए । आफू अध्यक्ष भएपछि पुँजी वृद्धि र लाइसेन्स दिने निर्णयसँगै भएका कारण यसको राम्रो प्रभाव परेको उनले बताए ।

बीमाको पहुँच राम्रो बढ्नुको परिणाम भने नियामक निकाय र कम्पनीहरुको सक्रियता भएको उनले बताए । अहिले गाउँ-गाउँमा पुगेको भन्दै उनले रेमिट्यान्सको पनि बीमामा सदुपयोग भएको अध्यक्ष चापागाईंको बुझाई छ ।

‘रेमिट्यान्स घरघरमा आउँथ्यो, तर यो बीमामा पुगेको थिएन, हामीले स्थानीय सरकारसँग बीमा समिति भनेर अभियान नै चलायौं’ उनले भने, ‘अर्को भनेको अभिकर्ताहरु आन्दोलनमा थिए । हामीले त्यो विवाद समाधान गर्यौं, त्यसपछि बीमा अभिकर्ता प्रोत्साहित भएर गाउँ-गाउँ पुगे, यसको नतिजा राम्रो देखियो ।’

Onlinekhabar

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban