चन्दा उठाउँदै समाजसेवा : कानूनले के भन्छ ?

रातोघर

 २५ श्रावण २०७७, आईतवार ११:२४  मा प्रकाशित
४५ पाठक संख्या


साउन, काठमाडौं । समाजसेवालाई संसारभर नै पवित्र कार्यका रुपमा लिइन्छ । आफूसँग भएको भौतिक स्रोत–साधन देश र समाजका लागि उपयोग तथा खर्च गर्नु समाज सेवाको मूल मर्म हो । नेपालमा चाहिँ पछिल्ला दिनहरुमा बेग्लै शैलीको समाजसेवा मौलाउन थालेको छ ।

नेपालीहरु स्वभावैले भावुक जाति हुन् । अरुको दुःख देख्न सक्दैनन् । खास गरी विदेशमा बसेका नेपालीहरुलाई स्वदेशमा कसैले दुःख पाएको दृश्यले मर्माहत बनाउँछ । त्यसैले उनीहरु आफूले श्रम गरेर कमाएको पैसाको केही अंश ती दुःखीहरुसम्म पु¥याउन व्यग्र हुन्छन् । आफ्नै गाँस काटेर पनि पीडितहरुलाई सहयोग गर्न चाहने नेपालमै पनि धेरै छन् ।

यस्ता मनकारीहरु सबै आफैं पीडितसम्म पुग्ने अवस्था हुँदैन । यस्तो बेला उनीहरुले विभिन्न युट्युबरको सहारा लिन्छन्, जसले पीडित एवं असहायहरुका बारेमा समाचार वा अन्तरवार्ता प्रशारण गरेका हुन्छन् । यस्तो कार्यबाट धेरै पीडितहरुको जीवन बदलिएको पनि छ ।

जस्तो– करेन्ट लागेर दुबै हात र दुबै खुट्टा गुमाएका कृष्ण ओली अत्यन्त निराश र विक्षिप्त अवस्थामा थिए । जब उनको कथा यूट्युवमा आयो, देश–विदेशका नेपालीहरु उनलाई सहयोग गर्न लालायित बने । एक महिनाभित्रै झण्डै दुई करोड रुपैयाँ संकलन भयो । त्यही पैसाले उनले नक्कली हात–खुट्टा जडान गर्न सकेका छन् । उनको जीवन केही सहज भएको छ । यसरी सहयोग नजुटेको भए, यो सम्भव थिएन ।

कृष्ण ओलीजस्तै ठूलो दुर्घटना परेका, गम्भीर रोगको सिकार बनेका, गरिबीले आक्रान्त बनेकाहरु यसरी युट्युबरमार्फत प्राप्त आर्थिक सहयोगले धन्य बनेका छन् । यसका लागि मनकारीहरु र पीडितबीच पुलको रुपमा काम गरिरहेका युट्युबरलाई धन्यवाद दिन मन लाग्छ नै । तर, यसो भनिरहँदा यस्तो समाजसेवाको आर्थिक पारदर्शिता एवं कानूनी पाटोलाई पूरै नजरअन्दाज गर्न सकिँदैन ।

युट्युबरले गर्ने चन्दा संकलन पारदर्शी नहुने गुनासो आउने गरेको छ । उनीहरु आय–व्ययको हिसाब खासै सार्वजनिक गर्दैनन् । न त कुनै सरकारी निकायमा हिसाब बुझाउँछन् । कुनै घटनाविशेष (जस्तै– भूकम्प पीडित, बाढीपीडित, कोरोना पीडित आदि ) मा आधारित चन्दा संकलन र वितरण पनि अपारदर्शी हुने गरेको पाइन्छ । यस्तोमा उनीहरु आफ्नै तजबिजमा पैसा बाँडिरहेका भेटिन्छन् ।

चन्दा उठाएर समाजसेवा गरिरहेकाहरु उनीहरुको पारदर्शितामा प्रश्न उठाउँदा प्रायः आक्रोशित बन्ने गरेको पाइन्छ । ‘एक पैसा हिनामिना गरेको प्रमाण ल्याउनुस, टुँडिखेलमा झुण्डिन तयार छु’ भनेर उनीहरु भावुकरुपमा प्रस्तुत हुन्छन् ।

हो, उनीहरुले धेरै राम्रो काम गरेरै चन्दादाताको विश्वास जितेका होलान् । यति हुँदाहुँदै पनि उनीहरुले संकलित पैसाको एकदमै स्वच्छ र इमान्दारितापूर्वक सदुपयोग गरिरहेका छन् भनेर ढुक्क रहने स्थितिचाहिँ छैन । उनीहरुले चन्दादाताको विवरण कतै सार्वजनिक नगर्ने, कुनै सरकारी निकायप्रति जवाफदेही नहुने, आम्दानी–खर्चको लेखापरिक्षण नगर्ने भएकाले चुहावटको गुञ्जायस प्रशस्त रहन्छ नै ।

जनसहयोग जुटाएर समाजसेवा गर्नु खराब काम अवश्य होइन । कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरेले चन्दा संकलनबाटै चारवटा एकीकृत वस्ती निर्माण गरे । भूकम्पीडित तथा बाढी पीडितहरुका लागि उनीहरुले खडा गरेको बस्तिबाट सयौं परिवारले आश्रय पाएका छन् । अहिले जनसहयोगबाटै एउटा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण जुटेका छन् उनीहरु ।

तर, युट्युबर र धुर्मुस–सुन्तलीको शैली निकै फरक छ । धुर्मुस–सुन्तलीको काम व्यक्तिकेन्द्रित नभएर समाज केन्द्रित छ । दोस्रो, उनीहरुले फाउन्डेसन स्थापना गरेर संस्थागतरुपमा काम गरेका छन् र आम्दानी–खर्चको पारदर्शी हिसाबकिताब राखेका छन् । तेस्रो, उनीहरुले स्थानीय प्रशासनसँगको समन्वयमै काम गर्दै आएका छन् । युट्युबरले पनि यही शैली पछ्याएमा उनीहरुमाथि प्रश्न उठ्न बन्द हुने छ ।

युट्युबरमा मौलाएको शैली

भिडियो सेयरिङ साइट युट्युवको लोकप्रियता बढेसँगै नेपालमा समाजसेवाको नयाँ शैली प्रवर्तन भएको छ । अत्यधिक फलोअर्स कमाएका केही युट्युवरहरु समाजसेवामा मध्यस्थकर्ता वा ठाडो भाषामा भन्दा ‘विचौलिया’ को काम गरिरहेका छन् ।

उनीहरु विभिन्न दुखः र पीडामा परेका व्यक्तिहरुको अन्तरवार्ता लिएर भिडियो युट्यूवमा हाल्छन् र सहयोगको आह्वान गर्छन् । यसरी संकलित पैसा आफैंले पीडितलाई हस्तान्तरण गरी फोटो–भिडियो खिच्छन् । यस्तो भिडियो फेरि युट्यूवमा हालेर आफूलाई आधार सञ्चारकर्मी र आधा समाजसेवीका रुपमा पेश गर्छन् ।

समाज सेवाको शाब्दिक अर्थ समाजका लागि गरिने सेवा हो । यस्तो सेवामा रमाउने व्यक्तिहरु दुई प्रवृत्तिका हुन्छन् । एकथरि निस्वार्थ समाजसेवी, जो आफू दृष्यमा नआइकन पीडितहरुलाई सहयोग गर्न रुचाउँछन् । उनीहरुलाई न नामको लोभ हुन्छ, न चर्चाको । दुखीहरुलाई केही राहत मिलोस् भन्ने आकांक्षा मात्र उनीहरुको हुन्छ ।

अर्काथरि चाहिँ नाम र चर्चाको भोक मेट्नका लागि समाजसेवामा लागेका हुन्छन् । आफूले समाजका लागि केही दिँदा समाजले पनि आफूलाई इज्जत, मान–प्रतिष्ठा दिने अपेक्षा उनीहरुको हुन्छ । यो पनि गलत होइन । आफ्नो भौतिक सम्पत्ति अरुका लागि समर्पण गरेर कसैले नाम कमाउन चाहन्छ भने अन्यथा लिइरहनु आवश्यक हुँदैन ।

तर, अहिले नेपालमा सामाजिक अभियन्ता कहलिएका कतिपय यूट्युवरहरु चाहिँ यी दुवैमा कोटीमा पर्दैनन् । उनीहरु आफ्नो होइन, अरुकै पैसाले ‘समाजसेवी’ बनेका छन् ।

सामाजिक अभिरुचीका अन्तरवार्ता र विभिन्न सामग्री युट्युबमा हालेर त्यसको भ्युजबाट पैसा कमाउने उनीहरुको मुल पेशा हो । त्यससँगै उनीहरु दुखी–पीडितहरुको आँशु पुछ्न पनि लागिपरेका छन् । चन्दा संकलनबाट उठेको पैसाको बिटो बोकेर घर–घरमा पुग्ने यूट्युवरलाई कतिपयले भगवानै सरह मान्छन् ।

चन्दासम्बन्धी कानूनले के भन्छ ?

नेपालको कानूनअनुसार सरकारको पूर्वस्वीकृति नलिइकन कुनै पनि कामका लागि चन्दा उठाउन पाइँदैन । चन्दा ऐन २०३० ले स्थानीय प्रशासनसँग अनुमति लिएर मात्रै चन्दा संकलन गर्न पाइने स्पष्ट व्यवस्था गरेको छ । तर, युट्युबरहरुले चन्दा संकलनका लागि यसरी अनुमति लिएको पाइँदैन । न त स्थानीय प्रशासनले नै यसको नियमन गर्न कुनै चासो दिएको छ ।

चन्दा ऐन २०३० मा चन्दा संकलन र त्यसको उपयोग सम्वन्धमा विभिन्न प्रावधानहरु उल्लेखित छन् ।

चन्दा ऐनको भाग ३ मा ‘चन्दा उठाउन प्रतिबन्ध’ शीर्षकमा यी दुई बुँदा उल्लेख गरिएका छन् :

(१) ‘नेपाल सरकार वा प्रदेश सरकारको’ पूर्वस्वीकृति लिई धार्मिक, परोपकारी वा अन्य सार्वजनिक कार्यका लागि कसैले स्वेच्छाले दर नतोकी चन्दा लिन–दिनबाहेक कुनै व्यक्ति वा सरकारी वा गैरसरकारी कार्यालय वा संस्थाले कसैबाट चन्दा उठाउन वा लिन हुँदैन ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा ४ बमोजिम गठित कुनै प्रदेशस्तरीय समितिबाट खासगरी शैक्षिक, सामाजिक, संस्था तथा अन्य विकास कार्यको लागि यस ऐनअन्तर्गत बनेको नियममा तोकिएबमोजिम खर्च गर्ने गरी चन्दा उठाउन सकिनेछ ।

सोही ऐनको भाग ५ मा भनिएको छ– ‘समितिले चन्दा उठाउनका लागि चन्दाबाट उठाउनुपर्ने रकम र सो रकम कसरी उठाउने हो सो कुरा निश्चित गरेपछि सो र सो रकम खर्च गरिने कार्य वा योजनाको सम्बन्धमा विस्तृत विवरण खोली ‘नेपाल सरकार वा प्रदेश सरकारको’ स्वीकृतिका लागि पेश गरी स्वीकृति प्राप्त भएपछि मात्र सो बमोजिम चन्दा उठाउन सकिनेछ ।’

अहिले युट्युबरहरुले गरेको समाज सेवाले उल्लेखित मापदण्ड पूरा गरेको देखिँदैन । उनीहरुले चन्दा संकलनका लागि नेपाल सरकार वा प्रदेश सरकारको पूर्वस्वीकृति लिएका हुँदैनन् ।

यसैगरी भाग ११ मा लेखिएको छ :

यस ऐन बमोजिम चन्दा उठाउने व्यक्तिले चन्दा उठाउँदा चन्दादाताले दिएको चन्दाको रकमको अंक, अक्षर वा नाप, तौल, आश्वयकता अनुसार स्पष्ट खुलाई तीनप्रति रसीदमा लेखी दस्तखत गर्नुपर्छ । तर, सिसाकलम वा अरु उड्ने मसीबाट लेख्न र दस्तखत गर्न हुँदैन ।’

तर, युट्युबरको समाजसेवामा चन्दा उठाउने व्यक्ति र चन्दादाताको प्रायः प्रत्यक्ष सम्पर्क नै हुँदैन । उनीहरुले रसीदमा हस्ताक्षर गर्ने टाढाको कुरा भयो । प्रायः चन्दादाताले बैंकमार्फत विचौलिया समाजसेवीको खातामा पैसा हालिदिन्छन् । त्यसपछि त्यो पैसामा युट्युबरको सर्वाधिकर हुन्छ ।

चन्दा ऐनअन्तरगत बनेका नियमहरुको बर्खिलाप हुने गरी चन्दा उठाउने व्यक्तिलाई दुई वर्षसम्म कैद वा दुई हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनमा व्यवस्था छ । र, त्यसरी उठाइएको चन्दाको रकमसमेत निजबाट सरकारी बाँकी सरह असूलउपर गरिने ऐनको भाग ११ मा भनिएको छ ।

यस ऐनअन्तर्गतको मुद्दा नेपाल सरकारवादी हुने र सो मुद्दाको शुरु कारवाही र किनारा गर्ने अधिकार जिल्ला अदालतलाई हुने व्यवस्था छ । यी सबै व्यवस्थाहरु कागजमा मात्रै सिमित छन् ।

सरकार भन्छ– गैरकानुनी हो

सरकारका जिम्मेवार अधिकारीहरु सरकारको अनुमतिबिना चन्दा संकलन गर्नु गैरकानूनी हुने बताउँछन् । समाजकल्याण मन्त्रालयका सहसचिव राजेन्द्रप्रसाद पौडेलले यो विषय आफूहरुको जानकारीमा रहेको बताए ।

‘युट्युबरहरुले चन्दा उठाएर आफैंले वितरण गरिरहेको सुनिएको छ, यससम्वन्धी कुनै स्पष्ट सूचना हामीकहाँ आयो भने प्रहरीलाई लेखेर पठाउन सकिन्छ,’ उनले भने ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले पनि स्थानीय प्रशासनको अनुमतिबिना चन्दा उठाउनु गैरकानूनी हुने बताए ।

उनले भने, ‘जसले पायो त्यसले चन्दा उठाउन पाइँदैन । आफूखुशी पीडितका नाममा यसरी चन्दा उठाउँदा दुरुपयोग हुने खतरा हुन्छ । आफ्नो त्यस्तो नहोस् भनेर स्थानीय प्रशासनको अनुमति लिनुपर्ने प्रावधान बनाइएको हो ।’

उनले यो विषयमा छलफल अघि बढाइने बताए ।

Onlinekhabar

Write your Comment