प्रदेश २ : थप १२१ जनामा संक्रमण, ९२ डिस्चार्ज, पाँचको मृत्यु

रातोघर

 २०७७ भाद्र २२, सोमबार  मा प्रकाशित
४५५ पाठक संख्या


बारा ।  प्रदेश २ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट पाँचजनाको मृत्यु भएको छ । सर्लाही र सिरहामा दुई/दुई जना र पर्सामा एकजना गरी पाँचजना पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मृतकमध्ये दुईजना सर्लाहीको एउटै स्थानीय तहका छन् । चक्रघट्टा गाउँपालिका ३ का ३५ पुरुष र ४० वर्षीय पुरुषको उपचारको क्रममा नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यस्तै, प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा सोमबार बिहान मिर्चैया नगरपालिका- ६ का ६० वर्षीय पुरुषको मृत्यु भएको छ । सिरहाकै गोलबजार नगरपालिका- ३ का ७७ वर्षीय पुरुष र पर्सा ५४ वर्षीय पुरुषको कोरोना संक्रमणबाटै मृत्यु भएको स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।

योसँगै यस प्रदेशमा  कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ६ पुगेको छ । मृत्यु हुनेमा १६ जना महिला र ९० जना पुरुष छन् ।
झाका अनुसार सोमबार समेत १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सिरहामा ५६ जना, धनुषामा ४२ जना, सर्लाहीमा २० जना, महोत्तरीमा २ जना र पर्सामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए । योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ११ हजार २६१ पुगेको छ । पछिल्लो २४ घण्टामा १७ महिलासहित ९२ जना उपचारपश्चात् कोरोनामुक्त भएर डिस्चार्ज भएको उनले बताए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban