

११ असोज, कैलाली । २० बर्षसम्म भारत बसेका बझाङको बुंगल नगरपालिका– १ डौडका रामहरि रोकायाले एकाधबाहेक दशैं र तिहार गाउँमा परिवारका सदस्यसँगै मनाए ।
अरु बेलामा कामका लागि बाहिर गए पनि दशैं तिहारका बेला भने घरै आइपुग्थे । तर यस वर्ष दशैं सुरु हुन एक महिना पनि बाँकी नहुँदा उनी भारत जाँदैछन् ।
‘दसैँमा खर्च बढी हुन्छ । त्यो अनुसारको आम्दानी छैन’ उनले भने ‘यहाँ बसेर दुखी हुनुभन्दा कमाउन हिँडेको ।’ आर्थिक संकट बढ्दै गएपछि पर्वकै मुखमा परदेश जानुपरेको पीडा उनले सुनाए ।
‘घर परिवारलाई पाल्न मुश्किल भइरहेको छ । चाड पर्वमा छोराछोरी नयाँ लगाउने मिठो खाने भन्छन्, म कसरी दिउँला’ गम्भीर हुँदै रामहरिले भने ‘दशैं दशा नहोस् भनेर कमाउन हिँडेको ।’
उनीसँगै भारतको चण्डिगढ जान हिँडेका हरि थापा पनि सीमा नाकामा निकै गम्भीर थिए । कोरोना महामारीको बेला रोगसँग डराएर भारतबाट आएका उनी अहिले भोकसँग हारेर भारत फर्किन लागेका हुन् ।
करिब ७ महिनाको बसाइमा भएको रकम पनि सकिएको उनले सुनाए । ‘पैसा सकिएपछि चाड पर्व आयो, हामी कसरी मनाउनु’ उनले भने ‘१ महिना म भारतमा कमाएर पैसा पठाउँछु अनि यता घरमा रमाइलो गर्छन् ।’
हिन्दु नेपालीहरूको ठूलो पर्व विजया दशमी आउन अब ३ साता मात्रै बाँकी छ । विगतमा यो बेलासम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरू घर फर्किने क्रम बढिसकेको हुन्थ्यो ।
सबै भन्दा धेरै कामदार रहेको भारतबाट त झन् दैनिक हजारौँ संख्यामा नेपालीहरू फर्किरहेका हुन्थे । तर, यस पटक भने सीमा नाकामा फरक दृश्य देखिएको छ । दशैं तिहार मनाउन नेपाल फर्किने बढी हुने समयमा अहिले नेपालबाट भारत जानेहरूको संख्या बढिरहेको छ ।
कैलाली लम्कीचुहाका मात्रिका खनाल पनि विगतमा यही बेला भारतबाट दशैं तिहार मनाउन नेपाल आउने गरेका थिए । तर, यस पटक उनी भारत जान लागेका हुन् ।
‘साँझ बिहान छाक टार्न समस्या छ । यही बेला दशैं आयो’ उनले भने ‘समस्या टार्न भारत जान लागेका हौँ ।’
जाजरकोटबाट भारतको सिम्ला जान हिँडेका १८ बर्षका प्रेम रानाले घरमा कमाउने अरू कोही नहुँदा आफू भारत जानु थालेको बताए । ‘बुबा आमा बुढा भए, दाजु भाउजू अन्तै छन्’ उनले भने, ‘बुबा आमा पाल्न भए पनि भारत जानुप¥यो । मैले दशैं मनाउन नपाए पनि बुबा आमाले रमाइलो गर्नुहुन्छ भनेर भारत हिँडेको हुँ ।’
पछिल्लो केही दिनयता भारत जानेहरूको संख्या ह्वातै बढेको छ । सीमा नाकामा रहेको हेल्थ डेस्कका इन्चार्ज दिनेश ठकुल्लाले दैनिक रुपमा १ हजार ५ सय देखि २ हजारको संख्यामा नेपालीहरू भारत गइरहेको जानकारी दिए । यो अवधिमा नेपाल आउनेहरूको संख्या निकै कम रहेको उनले बताए ।
‘विगतमा यो बेला नेपाल आउनेहरूको धेरै भिड हुन्थ्यो’ उनले भने ‘तर, यस पटक नेपाल छोडेर जानेहरूको भीड बढिरहेको छ ।’ पछिल्लो एक महिनामा २० हजार बढी नेपाली भारत गएको उनले बताए । oninekhabar





Write your Comment