झाँक्रीलाई वैवाहिक बर्षगाँठमा ओलीको उपहारः गलत कानूनको प्रयोग गरी गिरफ्तार

रातोघर

 २०७७ माघ २९, बिहिबार  मा प्रकाशित
५४८ पाठक संख्या


काठमाडौँ । विहिबार माघ २९ गते नेकपा बहुमत पक्षकी नेत्री रामकुमारी झाँक्रीको विवाह गरेको ११ बर्ष पुगेको दिन हो ।

उक्त कुराको जानकारी गराउँदै नेत्री झाँक्रीले सामाजिक सञ्जाल फेसबुक मार्फत खुशी साटेकी थिइन् । उनले भनेकी थिइन्ः ‘सोचे जस्तो हुन्न जीबन भन्ने थाहा छ, तिमी आयौं जिन्दगीमा यसै आहा छ ।’

तर यस खुशीयालीको दिनमा झाक्रीलाई ओली सरकारले गलत कानूनको प्रयोग गरी गिरफ्तार गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोली झाँक्रीलाई संविधानको धारा ५८ अनुसार राज्यविरुद्धको अपराध गरेको अभियोगमा उनकै घरबाट पक्राउ गरेको हो ।

संहिताको धारा ५८ मा राष्ट्रपति वा संसदलाई धम्की दिन नहुने उल्लेख गरिएको छ। धारा ५८ को उपदफा १ का अनुसार कसैले नेपालको राष्ट्रपति वा संसदलाई संविधान तथा कानून बमोजिम गर्नु पर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा वञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्य सम्पादन गर्न वाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाव दिन हुँदैन भन्ने उल्लेख छ ।

उपदफा १ बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

गोरखामा एक कार्यक्रममा झाँक्रीले बोलेको वाक्यले राष्ट्रपतिको मानमर्दन भएको भन्दै उनलाई प्रहरीले राज्य विरुद्धको कसूर गरेको अभियोग लगाएको छ ।

तर झाँक्रीको पक्राउ कानून सम्मत छैन । मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ को दफा ५८ अनुसार कुनै पनि व्यक्तिलाई पक्राउ गर्नु पूर्व अपराध महाशाखाले मुद्दा हर्ने अदालतसँग अनुमति लिनु पर्छ ।

तर प्रहरीको अपराध महाशाखाले झाँक्रीलाई पक्राउ गर्नु पूर्व जिल्ला अदालत काठमाडौँसँग अनुमति लिएको छैन ।

पक्राउ गर्नुपर्ने व्यक्ति देश छोडेर भाग्ने, अवस्था रहेको खण्डमा कानून अनुसार प्रहरीले अदालतको अनुमति नलिइकन तत्काल पक्राउ गर्न पाउँछ । तर झाक्रीको अवस्था त्यसप्रकारको थिएन ।

झाँक्रीलाई धेरै वर्ष कैद सजाय गर्ने मनसायका साथ प्रहरी राज्यविरूद्धको कसुरको दफा ५८ प्रयोग गरेर पक्राउ गरेको देखिन्छ। यो कसुर प्रमाणित भएमा झाँक्रीलाई सात वर्षसम्म कैद हुन सक्ने व्यवस्था रहेको छ ।

यसअघि उनलाई सोधपुछको निम्ती बोलाएको प्रहरी पछि सादा पोशाकमा उनको घरमै पुगेको थियो ।

त्यसलगत्तै झाँक्रीले यो राजनैतिक मुद्धा भएकोले पक्राउ पूर्जी लिएर आउन भनेकी थिइन् ।

त्यसपछि दिउँसो १२ः४० बजे प्रहरीले उनलाई राज्यविरुद्धको अपराध अभियोगमा पक्राउ पूर्जी थमाएको थियो । लगत्तै झाँक्रीले आफू गिरफ्तार हुन सहमत भएको बताइन् ।

नेत्री झाँक्रीले केपी ओली नेतृत्वको सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउँदै आफूलाई पक्राउ गरेको बताइन् । गिरफ्तार हुने क्रममा बोल्दै उनले संविधान, लोकतन्त्र र जनताको शासनको रक्षाका लागि आन्दोलिन हुने क्रममा व्यक्त गरेका विचारहरुका आधारमा ओली सरकारले आफूलाई पक्राउ गरेको बताइन् ।

‘कहिल्यै नखोसिने लोकतन्त्रको लागि लडेका थिए । लोकतन्त्र सँगै धेरै कुरा पायौँ भनेका थियौँ ।’, उनले भनिन्, ‘तीन बर्ष अघि बहुमत पनि पाएको थियौँ । आज दिन यस्तो आयो कि जुन पार्टीमा म थिएँ । आज त्यही सरकारले गरेको असंवैधानिक निशरंकुश कदमले गर्दा, संविधानको सुरक्षाको लागि बोलेका केही विचारहरुले गर्दा संविधानको धारा ५८ को अवशिष्ट अधिकार प्रयोग गरी राज्यविरुद्धको अपराध गरेको भन्दै प्रहरीले ल्याएको पक्राउ पूर्जि अनुसार म गिरफ्तारी दिन तयार छु ।’

उनलाई अहिले प्रहरीले भ्यानमा राखेर महाशाखा ल्याएको छ।

-jyotinews.com

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban