काँग्रेसद्वारा रामकुमारी झाँक्रीलाई रिहा गर्न माग (विज्ञप्तिसहित)

रातोघर

 २९ माघ २०७७, बिहीबार १८:३१  मा प्रकाशित
४४२ पाठक संख्या



काठमाडौँ । नेकपा बहुमत पक्षकी नेत्री रामकुमारी झाँक्रीलाई राज्यविरुद्धको अपराध गरेको अभियोगमा पक्राउ गरिएसँगै नेपाली काँग्रेसले पनि विरोध जनाएको छ ।

काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले बिहीबार एक विज्ञप्ति जारी गर्दै झाँक्रीलाई तत्काल रिहा गर्न माग गर्नुभएको छ ।

संविधानले सुरक्षित गरेको अभिव्यक्ति स्वतन्त्रताको मर्यादा राख्न नेकपाको दुबै पक्षलाई आग्रह गर्दै अभिव्यक्तिलाई नै राज्य विरुद्धको अपराध करार गरेर अधिनायक चिन्तन साथ प्रतिशोधपूर्ण राजनीति नगर्न सरकारलाई आग्रह समेत गर्नुभएको छ ।

‘संविधानले सुरक्षित गरेको अभिव्यक्ति स्वतन्त्रताको मर्यादा राख्न हामी दुवै थरिलाई आग्रह गर्दछौं । साथै एकपक्षीय रूपमा पूर्वाग्रहपूर्ण ब्यवहार गरेर अभिव्यक्तिलाई नै राज्य विरुद्धको अपराध करार गरेर अधिनायक चिन्तन साथ प्रतिशोधपूर्ण राजनीति नगर्न सरकारलाई सजग गराउँदछौं’ शर्माको विज्ञप्तिमा भनिएको छ, ‘अहंकारयुक्त, अमर्यादित र अशोभनीय अभिव्यक्तिहरु जो जसबाट प्रकट भएका हुन् सबै आलोच्य छन् ।

यस्ता अभिव्यक्तिले त्यस्ता दल र ब्यक्तिप्रति समाजमा नकारात्मक प्रभाव त पार्छ नै सिंगो राजनीतिप्रति वितृष्णा जन्माउन योगदान गर्छ, नेपाली कांग्रेस संयमपूर्वक यसको समाधान पहिल्याउन अपील गर्दै नेकपाकी नेतृ रामकुमारी झाँक्रीलाई अविलम्ब रिहा गर्न माग गर्दछ ।’

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि आक्रामक विरोध गर्दै आउनुभएकी नेत्री झाँक्रीले यसअघि गोरखामा दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले पक्रेको हो ।

 

Write your Comment