गौरवका आयोजना वन्यजन्तुमैत्री बनाउन अध्ययन

प्रकाश कुमार लम्साल

 १० फाल्गुन २०७७, सोमबार १४:१२  मा प्रकाशित
७५० पाठक संख्या



बारा 

बारामा बन्ने राष्ट्रिय आयोजनाहरुमा वन्यजन्तु मैत्री पूर्वाधारका विषयमा पर्सा राष्ट्रिय निकुञ्ज बाराले अध्ययन थालेको छ । जिल्लामा तीन वटा गौरवका आयोजना ४ राष्ट्रिय आयोजना बन्दै गरेका र बन्ने चर्चामा रहेकाले निर्माणको पक्षमा बाघ र वन्यजन्तु मैत्री हुन सक्ने आधार यकिन गर्न अनुसन्धान थालिएको हो ।
पर्सा निकुञ्जसँगै जोडिएको काठमाडौं– तराई– मधेस जोड्ने द्रुतमार्ग, प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, पूर्व पश्चिम रेलमार्ग, विस्तार हुने ४ लेनको पूर्व पश्चिम सडक राजमार्ग, हुलाकी राजमार्ग, सिमरा सेज, र वन क्षेत्रभित्र राखिएका हाइटेन्सन लाइनलगायतका विस्तारित पूर्वाधारहरु रहेका छन् ।

पूर्वाधार बन्दै गर्दा आयोजनाको डीपीआरमा वन्यजन्तुका बारे मैत्री रेखा नकोरिए पछि बाघ र अन्य वन्यजन्तुको बासस्थान क्षेत्रहरू टुक्रिँदै र साँघुरिदै गएपछि बाघ वन्यजन्तु दुर्घटनामा पर्ने र मानवीय क्षति बढ्न थालेसँगै सरकार तथा दातृ निकायको सहयोगमा अनुसन्धान थालिएको प्रमुख संरक्षण अधिकृत मनोजकुमार साहले बताए ।

सडक दुर्घटना र मानवीय क्षति रोक्नसमेत निकुञ्जले आफ्नो क्षेत्रमा पर्ने चालु अवस्थाको राजमार्गमा वारपारमा बाघ र वन्यजन्तुले देखाउने व्यवहार र क्रियाकलाप जान्न पनि पर्सा राष्ट्रिय निकुञ्जभित्र रहेका बाघमा अनुसन्धान सुरू गरेको हो ।
निकुञ्ज भित्र अध्ययन टोलीले पहिलो चरणमा स्वस्थ ५ वटा बाघ मध्येबाट एउटा बाघमा डार्ट गरेर १ महिनाको अध्ययन सुरु गरेको छ । विज्ञ र प्राविधिक टोलीले अध्ययनको लागि नियन्त्रणमा लिएको बाघको शरीरमा आधुनिक प्रविधिको रेडियोकलर जडान गरी, जीपीएस लोकेशनसहित जंगलमा छोडिसकेको र सो बाघको गतिविधि अध्ययन सुरु भएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष, आईयुसिएन नेपाल, युएमको प्राविधिक सहयोगमा निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागको सहकार्यमा पर्सा निकुञ्जसँगै जोडिएको पूर्वाधारबाट बढ्दो बाघ तथा वन्यजन्तुको संरक्षणका उपायसहितको डेढ वर्षिय अनुसन्धान थालिएको हो ।
तीनन दशकपछि वन्यजन्तु मैत्री पूर्वाधार बनाउन यो अध्ययन नेपालमै दोस्रो पटक बाराको पर्सा राष्ट्रिय निकुन्जमा सुरु गरीएको हो । अधिकृत साहले अब बन्ने ठूला साना पूर्वाधारहरु निर्माणमा कस्तो संरचना बनाउँदा वन्यजन्तु मैत्री हुने यो अनुसन्धानले प्रष्ट पार्ने बताउँदै आगामी दिनमा वन्यजन्तुहरूको व्यवस्थापन गर्न सजिलो हुने दावी गरे ।

पथलैया–अम्लेखगञ्ज र पथलैया–तामागढी सडक खण्डको १७ किलोमिटर भू–भाग पर्सा राष्ट्रिय निकुञ्जसँग जोडिएको राष्ट्रिय राजमार्ग छ । हाल पर्सा राष्ट्रिय निकुञ्जको करिब १६ हजार हेक्टर क्षेत्रफलमा पाटेबाघ पाइन्छ यहाँ १८ बटा बाघ रहेको छ । पुस १८ गते पथलैया सडक खण्डमा एक वयस्क स्वस्थ्य पोथी बाघको दुर्घटनामा मृत्यु भएपछि पर्सा राष्ट्रिय निकुञ्जभित्र रहेका बाघमा अनुसन्धान सुरू गरीएको हो ।

Write your Comment