नगरप्रमुखले रिबन काटेर अस्पताल उद्घाटन गरे, उपप्रमुख भर्ना भइन्

रातोघर

 २४ बैशाख २०७८, शुक्रबार १९:४३  मा प्रकाशित
२२४ पाठक संख्या


वीरगन्ज । वीरगन्ज महानगरपालिकाले संचालनमा ल्याएको अस्थाई कोभिड अस्पताल तथा आइसोलेशन सेन्टरमा महानगरपालिकाकै उपप्रमुख पहिलो संक्रमितको रुपमा भर्ना भएकी छन् । दुई दिन अघि संक्रमण पुष्टि भएकी महानगरपालिकाकी उपप्रमुख शान्ति कार्की महानगरले शुक्रबारबाट संचालनमा ल्याएको अस्थायी कोभिड अस्पतालको पहिलो बिरामी भर्ना भएकी हुन् ।

दुई सय ३० बेडको अस्थायी कोभिड अस्पताल तथा आइसोलेशन सेन्टरमा महानगरका नगरप्रमुख विजय कुमार सरावगीले रिबन काटेर उद्घाटन गरे लगत्तै उपप्रमुख पहिलो बिरामी भर्ना भएको महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदिपकुमार निरौलोले बताए । कोरोनाको पहिलो लहरमा गण्डक अस्पताल भाडामा लिएर अस्थायी कोभिड अस्पताल संचालन गरेको महानगरले यो पटक भने आफै अस्पताल संचालन गरेको उनको भनाइ छ ।

वीरगन्जको नारायणी अस्पतालमा बिरामी नअट्ने भएपछि महानगरले आफ्ना नगरवासीलाई बचाउन २ सय ३० बेडको कोभिड अस्पताल तथा आइसोलेशन सेन्टर संचालनमा ल्याउनु परेको नगरप्रमुख विजय कुमार सरावगीले बताए । अब केन्द्र र प्रदेश सरकारको मुख ताकेर मात्र यो भयावह अवस्था पर्गेल्न नसकिने भएपछि तुरुन्तै विकल्पमा गइएको उनको तर्क छ । ‘८८ बर्षीय उपप्रमुख शान्ति दिदीलाई बाहिर बस्न गाह्रो थियो । महानगरले नै अस्पताल संचालनमा ल्याएपछि उहाँ यतै बस्न रुचाउनु भयो ।’ उनले भने ‘ एट्याच बाथरुम सहितको कोठामा एक चिकित्सक र सहयोगी सहित उहाँलाई पनि राखिएको छ ।’ नगरप्रमुख सरावगीले भने । उपप्रमुखको स्वास्थय अवस्था भने सामान्य नै रहेको स्वकीय सचिव विजय पौडेलले बताए ।

कोभिड अस्पतालमा डा. र स्वास्थ्यकर्मी ३१ जना

वीरगन्ज महानगरले अस्थायी रुपमा संचालनमा ल्याएको कोभिड अस्पतालमा कोभिड हेर्ने विशेषज्ञ डाक्टर १ जना डीएम, एमडी मेडिकल २ जना, मेडिकल अफिसर ७ जना, प्यारामेडिकल स्टाफ २१ जना, सरसफाइकर्मी ८ जना र प्रशासनिक कर्मचारी १० जना रहने छन् ।

अस्थायी कोभिड अस्पतालमा अक्सिजनको व्यवस्थादेखि बिरामीलाई निशुल्क खाना, बस्नको सुविधा मिलाइएको छ । अब अक्सिजन चाहिएर नारायणी अस्पताल पुग्ने धेरै बिरामीको उपचार यता हुने र त्यहाँ लोड कम हुनेछ । ‘नारायणीमा धेरै डाक्टर तथा स्वास्थ्यकर्मी पनि संक्रमित हुन थालेकोले थप स्वास्थ्यकर्मीको अलग व्यवस्था गर्न पनि जरुरी थियो । यही अवस्थालाई ख्याल गरेर वीरगन्ज महानगरपालिकाले अर्को व्यवस्था गरेको नगरप्रमुख सरागीले बताए ।

महानगरले स्वाब पनि संकलन गर्ने तयारी

वीरगन्ज महानगरपालिकाले बिहान ७ बजेदेखि १० बजेसम्म वीरगन्ज १० आदर्शनगरको दमकल राखेको कार्यालय भवनमा स्वाबको नमूना पनि संकलन गर्ने जनाएको छ । बढी संक्रमित भेटिएको वडामा दिउँसो २ बजेदेखि घुम्ती टोलीले पनि स्वाब संकलन गर्न परिचालन गर्ने तयारी छ । यसअघि महानगरपालिकाले एम्वुलेन्स, शव वाहन सेवा, होम आइसोलेसनमा रहेका कोभिड संक्रमितलाई निःशुल्क औषधी वितरण सेवा पनि संचालन गर्दै आएको थियो ।

घरमै रहेका संक्रमितहरुको लागि लायन्स क्लबसँगको सहकार्यमा निःशुल्क अक्सिजन सेवा उपलब्ध गराउँदै महानगरले अस्पताल सञ्चालनपछि भने निःशुल्क अक्सिजन सेवा बन्द गर्न सक्ने जनाएको छ । ‘अस्पताल सञ्चालन गर्न नसक्दा घर–घरमा अक्सिजन पु¥याइरहेका थियौं,’ ‘अस्पताल सञ्चालनपछि अक्सिजन यतै खपत हुन सक्छ । त्यसैले होम डेलिभरी सेवा चाही बन्द गर्नुपर्ने हुन्छ ।’ नगरप्रमुख सरावगीले भने ।

Write your Comment