जीतपुरसिमरा : नगरसभाको चर्को आलोचना , मेयर पौडेललाई निरन्तर १०० कल..

रातोघर

 २१ श्रावण २०७८, बिहीबार २२:२५  मा प्रकाशित
२२६४ पाठक संख्या


सिमरा , २१ साउन ।
जितपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख डा.कृष्ण पौडेललाई केहि काम परेर फोन गर्नु भयो भने फोन उठ्छ ? यो प्रश्नको जवाफ आम नगरबासिले एउटै दिन्छन्- मेयर साबको फोन उठ्दैन ।
सर्वसाधारण सेवाग्राहीको मात्रै होइन नगर प्रमुखको फोन नउठाउने बानीले स्वयं नगरपालिकाका कर्मचारी र नगरका विभिन्न पेशाकर्मि प्रताडित छन् ।
असार १० गतेनै सप्पन्न हुनुपर्ने नगरसभा झन्डै २ महिना ढिलो शुक्रबार गर्न लागेको उपमहानगरपालिकाकाको नगरसभाका विषयमा बुझ्न बिहीबार साझ नगरप्रमुखलाई टेलिफोन गरेका पत्रकार महासङ्घ बाराका अध्यक्ष रेशम तिवारीले निरन्तर १०० पटक टेलिफोन गर्दापनि नगरप्रमुखले फोन नउठाएपछि अध्यक्ष तिवारीले यो विषय गम्भीर आपत्तिको भएको बताए । ‘नगरप्रमुख सार्वजनिक ब्यक्ति हो वहाँले सबै नागरिकको टेलीफोन रिसिभ गर्नु पर्छ, तर सार्वजनिक महत्व राख्ने पत्रकारकै फोन सयपटक गर्दा पनि रिसिभ हुँदैन भने आम नागरिकले वहाँ सङ्ग कसरी सम्पर्क राख्ने’ तिवारीले भने ।
सबै नगरसभा सदस्यलाई कोट, सारि र शुट पाइन्ट बाडेर नगरसभाको साइत जुराएको उपमहानगरले शुक्रबार गर्न लागेको नगरसभाका लागि नगर भित्रका कुनै सन्चारकर्मिलाई आमन्त्रित नगरेको विषयमा पत्रकार महासङ्घका अध्यक्ष तिवारीले उपमेयर सरस्वती चौधरीलाई प्रश्न गरेपछि मेयर पौडेलका पिए दिवाकर भण्डारीले केहि पत्रकारलाई कार्यक्रममा आमन्त्रण गरिएको म्यासेज भने पठाएका छन् ।
२०७४ मा निर्वाचित जनप्रतिनिधिको अन्तिम कार्यकालको बजेट भएकाले पनि यसपटकको नगरसभालाई आम नागरिकले चासोका साथ हेरेका छन् त्यसमा पनि नगरबासिलाई सुसूचित गर्ने दायित्व बोकेका सन्चारकर्मिलाई समेत छलेर नगरसभा गर्न लागेको भन्दै पत्रकार महासङ्घका अध्यक्ष तिवारीले उपमेयर चौधरीसङ्ग आपत्ति प्रकट गरेपछि मात्रै मेयरका पिए भण्डारीले म्यासेज पठाएको तिवारीले बताए ।
नगरपालिका श्रोतका अनुसार २४ वटै वडाले मागेजति बजेट बिनियोजन भइसकेको, आन्तरिक रुपमै नगर सभामा उठ्ने विषय टुङ्गिसकेकाले शुक्रबार औपचारिकता पुरा गर्न मात्रै नगरसभा बोलाइएको हो ।
एकजना नगर सभा सदस्यका अनुसार शुक्रबार हुने कार्यक्रमका लागि बुधबार मात्रै खबर गरिएको हो । ‘शुक्रबार हुने नगरसभालाई बुधबार मात्रै खबर गरियो, म काठमाडौ थिए काम छोडेरै दौडनु पर्‍यो’ उनले भने । सिमराको क्लासिक प्लाजा होटलमा बिहान ८ बजेका लागि नगरसभा बोलाइएको छ ।

Write your Comment