जीतपुरसिमराको नगरसभा : लामो बिवादपछी उद्घाटन, पानस नबाली थन्क्याइयो

नगरमा न्यायिक समितीको संयोजक रहेकी उपप्रमुख चौधरीले न्याय सम्पादनमा कुनै चासो नदिएको आरोप लगाएका छन् ।

रातोघर

 २२ श्रावण २०७८, शुक्रबार २२:१७  मा प्रकाशित
४१० पाठक संख्या


सिमरा ।

बिहान ८ बजे सिमराको होटल क्लासिक प्लाजामा नगर सभाको तामझामको रोमाञ्चक दृष्य देखियो । कार्यक्रममा आउन कोट, पाइन्ट र साडीको तयारी थियो । कोट, पाइन्ट टेर्लरमा समयमै सिलाईदिएन भन्दै बाहिर एक जनप्रतिनिधी चुकचुकाउँदै थिए ।

सभाहलको बाहिरपट्टी सभा सदस्यका लागी एक थान डायरी र पाइलट पेन राखिएको झोला बाँडन नगरका कर्मचारीलाई भ्याईनभ्याई थियो । कतिपय जनप्रतिनिधीले झोलाभित्र के छ भ्याउ समेत पाएनन् । झोलाको चेन खोल्नै नपरेपछी केही लेख्न, टिपोट गर्न र सुन्न आवश्यक नै भएन । केहीले मेरौ झोलामा डायरी छैन भन्दै गुनासो गर्दै थिए । केहीले होटलको बाहिरी दृष्यको तस्विर मोबाइलमा कैद गर्दै थिए ।

असार १० भित्रै सम्पन्न गरिसक्नुपर्ने जीतपुरसिमरा उपमहानगरपालीकाको पाँचौ नगरसभा शुक्रबार आज उदघाटन गरिएको छ । उद्घाटन अघि बिवाद समाधान भन्दै होटलको एक बिशिष्ट कक्षमा बसेका प्रमुख र उपप्रमुख सहित केही जनप्रतिनिधी बिच नै तनावको अवस्था देखियो । सिमरा स्थित होटल क्लासिक प्लाजामा बोलाईएको सभालाई महँगौ होटलमा किन बोलाईयो भन्दै जनताको करमाथी मनोमानी गरिएको भन्दै केही जनप्रतिनिधीले आक्रोस ब्यक्त गरे ।

समस्या स्थानको मात्रै थिएन । तयारी नगरी, अघिल्लो आर्थिक वर्षको हिसाव सार्वजनिक प्रतिवेदन नदेखाई औपचारिकता मात्रै पुरा गर्न सभाको मञ्चन गरिएको भन्दै जनप्रतिनिधी बिच भनाभन भयो । शान्त मुद्रामा देखिएका नगर प्रमुख डा. कृष्ण पौडेलमाथी बितेको चार वर्ष नबोलेरै बितेको भन्दै केही वडा सदस्यहरुले अबको बाँकी समय केही गरेर देखाउनेगरी नगरको बजेट बिनियोजित गर्न दवाद दिए ।

डा. पौडेलले एकल प्रयासबाट केही हुदैन सबैले मिलेर गर्ने हो, समाधान र सहमतीबाट अगाडी बढाँै भन्दैगर्दा उनीमाथी आक्रोस पोख्ने क्रम रोकिएन । निर्वाचित भएकै बेलादेखी चौतर्फी घेराबन्दीमा पर्दै आएका प्रमुख डा. पौडेलले बिभिन्न आरोप र आक्रोसहरुको सहज स्विकार गर्दै अन्ततः नगरसभाको औपचारिक शूरुवात गर्न अनुरोध गरेपछी केहीबेरको तनाव शान्त भयो र नगरसभा शुरु भएको हो ।

लामो बिवाद र आरोप प्रत्यारोप भएपछी उद्घाटनका लागी अगाडी राखिएको पानस नबाली थन्क्याइएको छ । सोफा अगाडी राखिएको टेवलमाथीको पानसमा उपमेयर चौधरीको आँखा परेपछी उनले टेवलबाट हटाइन् ।

उदघाटनपछी महिला जनप्रतिनिधिबाट आफ्ना प्रतिकृया राख्न दिइएसंगै प्रमुख र उपप्रमुखको कार्यशैली प्रति नै अधिकाँश सदस्यहरुको आपत्ती देखियो । यसैबिच केही महिला जनप्रतिनिधिले उप प्रमुख सरस्वती चौधरीमाथी आक्रोस ब्यक्त गरेका छन् । नगरमा न्यायिक समितीको संयोजक रहेकी उपप्रमुख चौधरीले न्याय सम्पादनमा कुनै चासो नदिएको आरोप लगाएका छन् । त्यस्तै एक वडा सदस्यबाट नगरको सामाजिक बिकास शाखा अन्तर्गतको बजेटमा उपप्रमुखको नेतृत्वमा भएको खर्च बिवरण समेत सार्वजनिक गनुपर्ने आवाज समेत उठेको छ ।

यस्तै जनप्रतिनिधीहरुबाटै आफ्नो नगरमा नितिगत भ्रष्टाचार मौलाएको भन्दै बिकास निर्माणमा ठेकेदारी प्रथाको चर्को आलोचना गरे । जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सदस्यहरूले भ्रष्टाचार नियन्त्रण, रोजगारीको व्यवस्था, स्वास्थ्य सुरक्षा, शिक्षामा एकरूपता, महामारी तथा प्राकृतिक विपत्तिले हातमुख जोड्न नपाउनेहरूलाई राहत तथा खाद्यान्नको व्यवस्था, नगरभित्रको फोहोरका व्यवस्थापन, नगरबाट सञ्चालित हरेक कार्यक्रमको अनुगमन, मूल्याङ्कन लगायतका कुराहरूलाई योजनामा समेट्नुपर्ने जनाएका थिए ।

साथै महिला, बालबालिका, जेष्ठ नागरिकका क्षेक्रमा गरिएका कार्यत्रमहरू र दलितका लागि भएका कार्यक्रमहरू सम्बन्धित वर्गसमक्ष नपुगेको गुनासो समेत गरेका थिए ।

Write your Comment