कविता- बाको मुख हेर्दा: सन्तोष खनाल

रातोघर

 २२ भाद्र २०७८, मंगलवार २०:०९  मा प्रकाशित
१४५ पाठक संख्या


कविता – बाको मुख हेर्दा …..
बाको मुख हेर्दा-
राम्ररी हेर्नू
बाको अनुहारका चाउरीहरु
हेर्नू-
चाउरीभित्र उमेरका समयरेखाहरु
– सन्तापहरु
– तिम्रा सुखका लागि गरिएका त्यागहरु
– बाका बलिदानहरू
अझै नियालेर हेर्यौ भने बाका सेता कपालभित्र
पक्कै देख्नेछौ –
तिम्रा पाखुरा दह्रा पार्न बाले गरेका संघर्षहरु
बाले बगाएका पसिनाहरू
बाको निधार छाम्ने प्रयत्न गर्यौ भने
छामिहेर्नू –
निधारमा नाम्लोको गहिरो डाम हुनुपर्छ
छामिहेर्नू-
नाम्लोको डामभित्र तिम्रो भविष्यको कल्पना हुनुपर्छ
बाले देख्न खोजेका र पूरा गर्न नसकेका सपनाहरु
त्यति कतै नाम्लोको बरियोमा अझै
झुन्डिरहेको हुनसक्छ |
बाका आँखामा गहिरिएर हेर्यौ भने तिमीले
भेट्टाउनेछौ अनिदा रातहरु
जहाँ तिमीले यो पनि देख्नेछौ कि
तिम्रो तातो निधारमा पानीपट्टि लगाउँदै बाले छर्लङ्ग काटेका रातहरु
तिम्रो पेट भर्न चिन्तामा डुबेका लुप्त आँशुका बुँदहरु
बाका सुकेका गोडामा
कथंकदाचित मिल्यो भने तेल दलिदिने मौका
भयो भने बालाई नुहाईदिने मन
रह्यो भने बाका गोडाका मयल सफा गरिदिने चाहना
तिमीले पक्कै भेटेको हुनुपर्छ
सुकेका नीला नशाहरु
हुनसक्छन् ती तिनै नशा हुन्
जसले तिमीलाई सुन्दर आज देखाउन भवितव्य थेगेर
तागतको भेल बगाएको हुनुपर्छ |
छामिहेर्नू-
बाका गलेका नाडीका धुक्धुकिहरु
बाको मुख हेर्दा –
केवल बाको मुख नहेर्नू
हेर्नू बाका प्रत्येक अंगहरु
जहाँ तिमी नबसेको / नकुदेको शायदै कुनै ठाउँ भेटिएलान्
छिर्नू-
बाका प्रत्येक भावहरु भित्र
बालाई केवल बाभित्र नखोज्नू
बालाई तिमी आफ्ना सन्तानभित्र छिरेर पनि खोज्नू
बालाई आफ्नो ढुकढुकीभित्र खोजेर हेर्नू –
बालाई यसरी खोज्नू कि –
जसरी तिमी
भोलि तिम्रा सन्तानले तिमीलाई भेटेको देख्न चाहन्छौ
भोलि तिम्रा सन्तानले तिमीलाई खोजेको हेर्न चाहन्छौ
बाको मुख हेर्दा –
केवल बाको मुख नहेर्नू |

सन्तोष खनाल

२०७८/०५/२२, कुशेऔँशी

Write your Comment