मधेश आन्दोलनका घाइते मुन्सीको सपना : घामपानी छेक्ने एउटा घर

रातोघर

 ३ आश्विन २०७८, आईतवार २०:२२  मा प्रकाशित
१७७ पाठक संख्या


असोज, वीरगञ्ज । नारायणी अस्पतालमा एक दिन औषधि सकियो, अस्पतालका नर्स मधेश आन्दोलनका अगुवा नेताहरुलाई फोन गरेर हैरान भए, तर कसैको पनि फोन उठेन ।

मधेश आन्दोलनका घाइते बगहीका मुन्सी पटेल भन्छन्, ‘चुनावअघि प्रायः भेट्न आइरहने नेताहरु चुनाव जितेपछि भेट्न आउन छाडेका छन् । जरुरी परेर फोन गरे पनि कतिपय नेताले फोन उठाउँदैनन् ।’ त्यसैले आफूलाई समस्या पर्दा सामाजिक अभियन्ता प्रकाश थारुलाई फोन गर्ने गरेको उनी बताउँछन् ।

२०७२ साल असोज ३ गते सरकारले संविधान जारी गर्ने तयारी गर्दै थियो । तराई-मधेशमा आन्दोलनरत मधेशी दलले भने त्यसलाई स्वीकारेका थिएनन् । विरोधमा वीरगञ्जमा आन्दोलनको आह्वान गरिएको थियो । वीरगञ्ज गीता मन्दिर नजिकै आन्दोलनकारी र सुरक्षाकर्मीबीच भिडन्त शुरु भयो । प्रहरीको गोली लागेर शत्रुधन पटेल त्यहीं ढले भने वीरगञ्ज बगहीका मुन्सी पटेल र वैरियाविर्ताका विजय यादव घाइते भए ।

गोली लागेदेखि मुन्सी अपांग छन् । काम त परको कुरा एक लोटा पानी सारेर पनि खान नसक्ने अवस्थामा उनी छन् । अहिले उनको स्वास्थ्य अवस्थामा निकै सुधार आइसकेको छ, तर पूर्ण रुपमा भने निको भइसकेका छैनन् ।

आफ्नो लागि एउटा स्वास्थ्य कार्ड र मासिक केही रकम आउने व्यवस्था गरिदिए हुन्थ्यो भन्ने उनलाई लाग्छ । ‘बुवा–आमा बुढो भइसकेका छन्, म आफू अपांग छु, मासिक ६ सय रुपैयाँ भत्ता मिल्छ । जहिलेदेखि वीरगञ्जको धरतीमा गोली लाग्यो, त्यही बेलादेखि औषधि चल्छ,’ उनले दुःख पोखे, ‘बेलाबेलामा उपचारका लागि जानुपर्छ । साधन छैन, गोडा चल्दैन । दिसा पिसाब बसेकै ठाउँमा हुन्छ । एउटा स्वास्थ्य कार्ड बनाइदिन्थे भने सधैंका लागि हुन्थ्यो । अस्पतालमा जाँदा कम्तीमा औषधि उपचारमा पैसा तिर्नु पर्दैनथ्यो ।’

उनले मासिक रुपमा केही खर्च उपलब्ध गराए घर व्यवहार चलाउन सजिलो हुने बताए । ‘मधेसको हक अधिकारका लागि लडेको मान्छे हुँ, मासिक केही रुपैयाँ दिन्थे भने घर व्यवहार चलाउन सजिलो हुन्थ्यो । लत्ता कपडा किनेर लगाउन पाउँथे । खान मन लागेको कुरा खान्थें,’ उनले भने ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मासिक रकम दिलाउने आश्वासन दिएर पनि भुलेको मुन्सीको गुनासो छ । काठमाडौंमा मुख्यमन्त्री राउतसँग भेट हुँदा कुरा राखेको र पटकपटक टेलिफोनमा पनि कुरा भएको तर आश्वासन पूरा नभएको उनले गुनासो गरे ।

‘मुख्यमन्त्री लालबाबुजी, मलाई १ लाख, २ लाख रुपैयाँ नदिनुस, महिनामा १० हजार, ५ हजार जति सकिन्छ दिनुस् भनेको थिएँ,’ उनले भने, ‘उहाँले हुन्छ अहिले घर जाऊ भन्नुभो । घर आएर एक दुई महिनापछि फोन गरे । निवेदन लेखेर मुखिया (वडाध्यक्ष)को सही गराएर सिफारिस पठाउन भन्नुभो, त्यसै अनुसार कागजात तयार पनि गरें । त्यहीबेला कोरोनाको हल्ला शुरु भयो, मुख्यमन्त्रीलाई फेरि फोन गरे । भन्नुभयो, हेर अहिले त कोरोना महामारीको समय छ । महामारीपछि तिम्रो काम हुन्छ । तर अहिलेसम्म हुन सकेको छैन । माछा मासु खान मन लाग्दा पनि पैसा हुँदैन ।’

करारको जागिरको के भर ?

वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले मुन्सीको श्रीमतीलाई करारमा जागिर दिएका त छन् । तर त्यो कमाइले परिवारको खर्च धान्न मुस्किल रहेको उनी बताउँछन् ।

‘मेरो परिवारको नोकरी छ । करारको जागिर हो । मलाई तलमाथि भयो भने उनको कस्तो अवस्था के हुन्छ । जीविकोपार्जन कसरी हुन्छ ? त्यतिबेलासम्म अहिले जितेका नेताको पद पनि रहँदैन । अहिले ध्यान दिन्थे भने पछिका लागि पनि हुन्थ्यो,’ उनले भने, ‘एउटा कमाउने र ४ जना बसेर खाने भएपछि कसरी पुग्छ र ? लुगाकपडा, नून, तेल तरकारी, चामल सबै त किनेर नै खानुपर्छ ।’

घामपानी छेक्ने घर बनाउने सपना

मुन्सीको आफ्नो खेतबारी छैन, सबै कुरा किनेर खानुपर्छ । बाँसको टाँटीले बारेर सिमेन्टको खपडाले घर त्यति गतिलो छैन । उनलाई आफ्नो पनि एउटा पक्की घर बनाउने मन छ । तर उनी आफू कमाउन सक्दैनन् । अरु कसैले बनाउन सहयोग गरेका छैनन् । उनको यो सपना पनि अधुरो नै छ ।

‘आँधीहुरीमा पर्नेको घर बन्यो, तर मधेश आन्दोलनमा गोली खानेको घर बन्न सकेको छैन । कम्तीमा घर त बनाइदिए हुन्थ्यो,’ उनी भन्छन् । मधेस आन्दोलनको बलमा वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म बनेका नेताहरुले केही नगरेका बेला अब आउने केही गर्लान् भन्ने उनलाई आश छैन ।

‘मधेश आन्दोलनका घाइते कति जनालाई भैंसी पनि बाँडेको सुन्छु हामीलाई मिलेन । अस्पतालमा जाँदा नेता हत्तपत्त आउँदैनन्,’ उनी पीडा पोख्छन्, ‘एकदमै पीडामा छु, वर्षा, आँधी, घामपानी जे आउँदा पनि एकै ठाउँमा बसिरहनुपर्छ । आफ्नो हातले केही झिकेर खान सक्दिन, नजिकै ल्याएर कसैले दिएन भने दिनभरि भोकै बस्नुपर्छ ।’

सामाजिक अभियन्ता थारु चन्दा उठाएरै भए पनि मुन्सीलाई घर बनाउनुपर्ने आवश्यकता देखिएको बताउँछन् ।

‘मुन्सीको घर बनाउने सपना छ । हरेक पटक फोनमा कुरा गर्दा वा भेट्दा घर बनाउने नै कुरा गर्छन्, त्यसलाई कसरी पूरा गर्ने भनेर सरसल्लाह हुँदैछ,’ उनले भने, ‘चन्दा उठाएरै भए पनि काम शुरु गर्ने कि भन्ने लागेको छ ।’

Write your Comment