स्वतन्त्र उम्मेदवार वाग्लेलाई काँग्रेसले निलम्बित गर्यो, सघाउनेलाई समेत कार्वाही गर्ने तयारी

वाग्लेलाई सघाउने हरुलाई समेत कार्वाही गर्ने तयारी छ : क्षेत्रीय सभापति गुप्ता

रातोघर

 २०७९ कार्तिक २४, बिहिबार  मा प्रकाशित
९५८ पाठक संख्या


बारा । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा निर्वाचन क्षेत्र नं ४ का स्वतन्त्र उम्मेदवार ईच्छाबहादुर वाग्लेलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ । केन्द्रीय अनुशासन समितिले आज विज्ञप्ति जारी गरेर कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम ५ वर्षका लागि पार्टी सदस्य समेत नरहनेगरी अभिलेखबाट हटाउने निर्णय गरेको हो ।

सो निर्णयमा वाग्लेको मनोनयन दर्ताका प्रस्तावक, समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएकाहरूको नामावली समेत अभिलेखबाट हटाइएको विज्ञप्तिमा उल्लेख छ । कांग्रेसभित्र सक्रिय राजनीतिमा योगदान नै नभएका वाग्लेले सत्ता गठबन्धनका उम्मेदवारलाई अप्ठ्यारो पार्ने उद्देश्यले बारा– ४ मा प्रतिनिधिसभा सदस्यमा वागी उम्मेदवारी दिएका थिए । वाग्ले आफू जित्ने उद्देश्य राखेर भन्दा पनि पैसाको बलमा गठबन्धनलाई अप्ठ्यारो पार्ने उद्देश्यले उम्मेदवारी दिएको स्वतन्त्र उम्मेदवार पूर्ण पन्तले जनाएका छन् ।

नेपाली कांग्रेस बारा–४ का क्षेत्रीय सभापति सुनील गुप्ताले वाग्लेलाई पार्टीले ५ वर्षका लागि निलम्बन गरिसकेकोले वाग्लेको चुनाव प्रचारप्रसार र घरदैलोमा हिँड्ने कांग्रेस कार्यकर्ता समेत कारबाहीमा पर्ने बताए ।

‘केही कांग्रेस कार्यकर्ताले भित्री रुपमा लुकेर वाग्लेलाई सहयोग पुर्याएको हामीले सूचना पाएका छौं, यदि उनीहरू बाटो बिराएर जानुभएको हो र सच्चिएर आउनुहुन्छ भने ठीक छ होइन भने भोलिदेखि उहाँहरू पनि कारबाहीमा पर्नुहुन्छ’ क्षेत्रीय सभापति गुप्ताले भने–‘बारा–४ मा हाम्रो साझा उम्मेदवार संघमा किसान श्रेष्ठ, प्रदेशमा क्षेत्रबहादुर श्रेष्ठ र जितेन्द्र सोनल हुन्, उहाँहरूले जिते मात्रै कांग्रेसको साख रहन्छ’ केन्द्रीय अनुशासन समितिले बुधबार देशभर ७४ जना कांग्रेसका वागी उम्मेदवारहरूलाई कारबाही गर्ने निर्णय गरेको थियो, सो निर्णयमा वाग्लेको नाम छुटेकोले क्षेत्रीय सभापतिको सिफारिसमा बिहीबार वाग्लेलाई कारबाहीको निर्णय गरिएको सभापति गुप्ताले जनाएका छन् ।

अनुशासन समितिको निर्णयसँगै वाग्लेसँग चुनावी प्रचार प्रसारमा हिँडेका कांग्रेसका केही कार्यकर्ता पनि ५ वर्षका लागि पार्टीको साधारण सदस्य समेत नरहनेगरी निलम्बनमा पर्ने भएका छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban