राप्रपाको भवन हटाउन २१ दिनको म्याद

रातोघर

 २०८० श्रावण १६, मंगलबार  मा प्रकाशित
१७९ पाठक संख्या


काठमाडौं ।

धुम्बाराहीस्थित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालय २१ दिनभित्र हटाउने सहमति भएको छ।सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा भएको छलफलमा काठमाडौं महानगरपालिका, जिल्ला प्रहरी परिसर काठमाडौं तथा राप्रपाका सचिवालय प्रमुख केदारबहादुर अधिकारीबीच यो सहमति भएको हो।

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले राप्रपाले धुम्बाराहीको पार्टी केन्द्रीय कार्यालय आगामी २१ दिनमा सार्ने सहमति भएको जानकारी दिए। महानगरपालिकाले शुक्रबार मौखिक सूचना गरी तीन दिनभित्र पार्टी कार्यालय हटाउन अल्टिमेटम दिएको थियो। एक्कासी कार्यालय खाली गर्ने सूचना राप्रपाले महानगरसँग लिखितपत्र माग गरेको थियो ।

महानगरको निर्णयप्रति असन्तुष्टि जनाउँदै राप्रपाका नेता कार्यकर्ताले सोमबार पार्टी कार्यालय अगाडि गाडी तेर्साएर आवतजावत ठप्प पार्दै विरोध गरेका थिए।राप्रपाले सो भवनमा एक दशकदेखि केन्द्रीय कार्यालय सञ्चालन गर्दै आएको छ। पार्टी कार्यालय भत्काउन महानगर प्रहरी बलले हाँडीगाउँमा डोजरसहित सुरक्षा बल तयारी अवस्थामा राखेर नेपाल प्रहरीको थप सुरक्षा बल मागेपछि जिल्ला प्रशासन कार्यालयले दुवै पक्षलाई राखेर छलफल गरेको थियो ।

राप्रपाको केन्द्रीय कार्यालय रहेको भवनमाथि नेपाल विद्युत् प्रधिकरणको हाइटेन्सन लाइन छ । महानगरपालिकाको इजाजतबिना मापदण्डविपरीत भवन बनेको भन्दै तत्काल हटाउन महानगरले निर्देशन दिएको थियो।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban