गाउँमा खिरभन्दा पीर धेरै, बर्सेनि बसाइँसराइ गर्नेहरू बढ्दै

रातोघर

 २०८० श्रावण १६, मंगलबार  मा प्रकाशित
२९५ पाठक संख्या


खिर खाने दिन ।

अहिले गाउँमा खिरभन्दा पीर धेरै छ । किनकि गाउँमा युवा छैनन् । कुनै वेला गुल्मी दरबार गाउँपालिका– १ जुभुङका ८१ वर्षीय थम्मनबहादुर खड्काको गोठमा १७ वटासम्म भैँसी थिए । एकै वर्ष नौवटासम्म भैँसी ब्याएको सम्झना खड्कासँग छ । ३१ जनाको ठूलो परिवार । एकैचोटि १५–१६ जना केटाकेटी विद्यालय जान्थे । गोठभरि पशुचौपाया र घरभरि सन्तान हुँदा खड्काको मनभरि खुसी हुन्थ्यो।

अहिले ८१ वर्षीय खड्कादम्पती मात्रै घरमा छन् । उमेरले नेटो काट्यो । छोराछोरीले घर छोडे । जमानामा भैँसीले गोठ भरेका खड्का केही समय त खाली बसे । तर, डेरीको दूध रुचेन । फेरि भैँसी किनेर दूध खान थाले ।

‘दूध–मही खाएर हुर्किएको मान्छे । उमेर र परिस्थितिले केही समय बजारको दूध खाने बनायो,’ उनले भने, ‘मनले मानेन, फेरि भैँसी किनेर ल्याएँ ।’ खड्काले आफूहरूको विगत अहिले कथा बनेको बताए । उनले हुर्केकाले गाउँ छोड्ने र वृद्धवृद्धाले घर कुर्ने अवस्थाले देश परनिर्भर बन्दै गएको गुनासो गरे ।

अचेल गाउँ फेरिएका छन् । बिजुली, सडक, अस्पताल र कलेज घरछेउमै छन् । तर, मान्छेका मन फेरिएका छैनन् । सहर र परदेशमोहले खेतबारी झाडी भएका छन् । बिरामी वृद्धवृद्धालाई डाक्टरले दिएको तालिकाअनुसार औषधि खुवाउने मान्छे छैनन् ।

इस्मा गाउँपालिका– ५ का ८८ वर्षीय डिलाराम अर्यालको गोठमा पनि कहिल्यै भैँसी टुटेनन् । दैनिक १०–११ माना दूध हुन्थ्यो । गाउँभरिकालाई मही पुग्थ्यो । घिउ बेचेर धेरै आम्दानी हुने गरेको डिलाराम सम्झन्छन् । उनको अनुभवमै कुलपूजामा २४–५ घरको दूधले तीन ताउला दूध हुन्थ्यो । अहिले मुस्किलले दुई पाथी दूध हुँदैन । जसका कारण पाउडर दूध खोजेर खिर पकाउने अवस्था आएको छ ।

पहिले गाउँमा पूजापाठ र व्रतबन्ध हुँदा छिमेकीले बोकेर ल्याएको दूध र दहीले नै ताउला भरिन्थे । प्रत्येक घरमा कम्तीमा लैना–बकेर्ना भैँसी र एक हल गोरु हुन्थे । ‘अहिले कृषि गर्नेलाई हेला गर्छन् । जमानामा गोठका भैँसी र खेतबारी हेरेर छोरी दिन्थे,’ उनले भने, ‘अहिले गाउँमा बुढाबुढी मात्रै छन् ।’

गाउँ फेरियाे, मान्छेको मन फेरिएन

अहिले सडक नपुगेका गाउँ छैनन् । केही वर्ष पहिलेसम्म अधिकांश गाउँमा गाडी पुग्दैनथे । प्लस टु पढ्न पनि तम्घास पुग्नुपथ्र्यो । बिजुली नहुँदा गाउँ अन्धकार थिए । प्राथमिकबाहेकका उपचारका लागि पनि सदरमुकाम नै पुग्नुपर्ने बाध्यता थियो । अचेल गाउँ फेरिएका छन् । बिजुली, सडक, अस्पताल र कलेज घरछेउमै छन् । तर, मान्छेका मन फेरिएका छैनन् । सहर र परदेशमोहले खेतबारी झाडी भएका छन् । बिरामी परे डाक्टरले दिएको तालिकाअनुसार औषधि खाने उपाय वृद्धवृद्धासँग छैन ।

सत्यवती– २ का ७१ वर्षीय पदम केसीले ऋण हुनेले परदेश खोज्ने र पैसा हुनेले सहर खोजेको कारण गाउँ रित्ता भएको बताए । केसी पनि केही समयमा गाउँ छोडेर बुटवल जाँदै छन् । उनले छोराबुहारीहरू सम्पत्ति सम्झेर सहरबाट नफर्किएपछि आफूहरू पनि घर र बाँदर रुँगेर नबस्ने मानसिकता बनाएको बताए । ‘गाउँमा बिरामी परे अस्पताल र मरे घाट लैजाने मान्छे छैनन् । बाटा र स्कुललगायतका विकास कसका लागि गर्ने ?’ उनले भने, ‘गाउँ फेरिए पनि मान्छेका मन नफेरिने भयो ।’

सत्यवती गाउँपालिका– ८ को भार्से गाउँमा मान्छे बस्नेभन्दा छोडेका घरहरूको संख्या बढी छ । अधिकांश व्यक्ति बुटवल झरेका छन् । मुसिकोट नगरपालिका ५ र ६ मा पनि गाउँ छोड्नेहरूको संख्या बढिरहेको छ । युवाहरू काम गर्न परदेश पसेपछि श्रीमती पनि बच्चा बोकेर सहर झरेसँगै अधिकांश परिवार बसाइँ सर्ने गरेका छन् ।

यता, धुर्कोट गाउँपालिका– १ नयाँगाउँ पनि बसाइँसराइको चपेटामा परेको छ । अरौदी, काब्राबोट, भाँखर्चका अधिकांश घर खाली हुने अवस्था रहेको वडाध्यक्ष चेतमान कुँवरले बताए । रोजगारी र शिक्षाकै कारण गाउँ छोड्नेहरू बढिरहेको कुँवरले बताए । ‘छिटो आम्दानी र सुख खोजेर पछिल्लो पुस्ता गाउँमा बस्नै खोज्दैनन्,’ उनले भने, ‘बुबाआमा बाध्य भएर घरमा ताल्चा ठोक्न बाध्य छन् ।’

गुल्मीबाट गत वर्ष करिब दुई हजार परिवार बसाइँ सरेका थिए । स्थानीय तहको तथ्यांक हेर्दा सबैभन्दा धेरै मुसिकोट नगरपालिकाबाट बसाइँसराइ भएको छ । त्यस्तै, सत्यवती, गुल्मीदरबार, छत्रकोट, चन्द्रकोट र मदानेबाट पनि उल्लेख्य रूपमा बसाइँसराइ भइरहेको छ ।

स्थानीय सरकारको सीमित बजेट छ । त्यो बजेट पनि प्रत्येक वडामा कार्यकर्ता रिझाउने टुक्रे योजनामा सीमित छन् । जसका कारण बसाइँसराइ रोक्ने दीर्घकालीन योजना बन्न सकेका छैनन् ।

कृषकलाई पनि पीर

रेसुंगा नगरपालिका– १२ का ४३ वर्षीय नेत्रबहादुर बस्नेतले उन्नत जातका गाई र भैँसी पालेका छन् । उनी केही वर्ष पहिले कुखुरापालन गर्थे । कुखुरापालन व्यवसायबाट घाटा भएपछि तीन वर्षदेखि गाई र भैँसीपालन थालेका थिए । मासिक एक–डेढ लाखको दूध बिक्री गर्थे । गत वर्ष २५ वटा भैँसीका पाडा थपे । तर, नौ महिनामै सबै मरेर सकिए ।

बस्नेतको सोच पाडी वा भैँसी थप्ने हो । तर, नगरले ५०–५० प्रतिशत साझेदारीमा पाडा प्रवद्र्धन कार्यक्रम ल्याएपछि अरूले निवेदन नदिएपछि आफैँले निवेदन दिएर पाडा पाल्न थाले पनि उल्टो क्षति भएको उनको भनाइ छ । किसानको आवश्यकताको आधारमा कार्यक्रम र अनुदानभन्दा निब्र्याजी कर्जा नभए उपलब्धि गर्न नसकिने बस्नेतले बताए ।

रेसुंगा नगरपालिका– ४ का गुणनिधि शर्माले पनि लामो समयदेखि व्यावसायिक रूपमा पशुपालनमार्फत दूध बिक्री गर्दै आएका छन् । रेसुंगा गाई फर्मका सञ्चालकसमेत रहेका भण्डारीले सरकारले किसानलाई सहयोग गर्ने प्रक्रिया नै किसानमारा भएको गुनासो गरे । उनले अनुदान वा अरू सहयोगको नाममा काम गर्ने किसानलाई कार्यालयमा बोलाएर प्रक्रियामा बल्झाउन नहुने भन्दै कामको आधारमा अनुदान र व्यवस्थापन सहजीकरणको माग गरे । ‘गाई अनुदानमा दिने, तर बाच्छा व्यवस्थापन नगर्दा किसानको उठीबास हुने अवस्था आयो,’ उनले भने, ‘काम गरेर खाने किसान जताततैबाट मारमा छन् ।’

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban