

वीरगन्ज ।
वीरगञ्ज महानगरपालिकाको पटके सवारी व्यवस्थापन करको ठेक्का आरपीए कन्स्ट्रक्सनले ३ करोड ६ लाख ५१ हजार रुपैयाँमा सकारेको छ । चालु आर्थिक वर्षको ठेक्का आर्थिक वर्ष २०७८/७९ को भन्दा ३ करोड ४ लाख ४९ हजार रुपैयाँ कममा सकार हुँदा ठेकेदारको मिलेमतोमा ठेक्का सकार भएको भन्दै बिरोध सुरु भएको छ ।
आर्थिक वर्ष २०७८/७९ मा ६ करोड ११ लाख रुपैयाँमा आयरा निर्माण सेवाले सकारेको ठेक्का चालु आर्थिक वर्ष २०८०/८१ मा जम्मा ३ करोड ६ लाख ५१ हजारमा सकार हुनुले आशंका उब्जिएको छ । सवारी कर ठेक्काको १९ वटा बोलपत्र फारम बिक्री भएको मध्ये ६ वटा दर्ता भएको महानगरको राजस्व महाशाखाका प्रमुख मनोज कर्णले जानकारी दिए ।
ठेकेदारहरुले भेला गरेर एकआपसमा १०÷१० लाख रुपैयाँ कमिसन बाँड्ने निचोडका साथ मिलेमतो गरी टेण्डर सकार गरिएको स्रोतले बताएको छ । प्राप्त स्रोतकाअनुसार बिरोध नगर्न भनेर केही वडाअध्यक्षलाई समेत कमिसनको रकम दिने पनि सहमती भएको खुलेको छ ।
६ वटा ठेकेदारले पनि न्यूनतम फरक मूल्यका साथ फारम दर्ता गराएका थिए । ६ जनामध्ये एकजनालाई परिहाल्छ भनेर एक हजार देखि ५ सय रुपैयाँसम्मको फरकमा ठेक्काको लागि फारम दर्ता गराएको पाइएको छ ।
१९ वटा बोलपत्र फारम लिएर पनि ६ जनाले मात्रै दर्ता गर्नुले पनि मिलेमतो भएको प्रमाणीत हुने वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष प्रदीप चौरसिया बताउँछन् । उनले भने, ‘यो ठेक्का पक्कै पनि मिलेमतोमै भएको हो । अहिलेसम्म बोर्ड बैठक बसेको छैन, बस्ने बित्तिकै यसको बिरोध गरेर ठेक्का खारेज गर्न दबाब दिनेछु ।’ महानगरपालिकाले यो ठेक्कालाई रद्द गरेर पुनः न्यूनतम मूल्य बढाएर ठेक्का आह्वान गर्नुपर्ने वडाअध्यक्ष चौरसियाको भनाई छ ।





Write your Comment