

काठमाडौं ।
नेपाली चलचित्र ‘बगान’ पाँचौँ सातामा प्रदर्शनरत छ । साता बढ्दै गर्दा यसको दर्शक पनि बढेका छन् । दर्शककै ‘वर्ड अफ माउथ’को कारण सफल भइरहेको ‘बगान’ हेर्न हलमा परिवार नै देखिने गरेका छन् । दर्शकले चलचित्रमा आमा बन्नु भएकी करिश्मासँगै छोरीको भूमिकामा रहेकी नव अभिनेत्री प्रमिला कार्कीको तारिफ गरेका छन् । प्राय दर्शक यी दुवैलाई आफ्नो कथा व्यक्त गरेको भन्दै धन्यवाद दिइरहेका छन् ।
नेपालको सफलता पश्चात चलचित्र अमेरिकाको विभिन्न सहरमा प्रदर्शन हुने भएको छ । गीतकार तथा निर्माता सुरेश वाग्लेले अगस्टबाट प्रदर्शन प्रारम्भ हुने जानकारी दिए । उनले भने, ‘हामीले अन्तर्राष्ट्रिय प्रदर्शन सुरू गरेका छौँ । अमेरिकासँगै विभिन्न देशमा हुने प्रदर्शनको विषयमा समेत जानकारी गराउने छौं ।’ उनले अगस्ट १८ र १९ मा बोस्टनमा रहेको रिजेन्ट थियटरमा विशेष प्रदर्शनी हुने जानकारी दिए । यसपश्चात् न्यूयोर्क, ड्याल्स, ह्युस्टन, अस्टिन, लस एन्जल्स, क्यालीफोर्निया, ह्यारिस्वर्ग, कोलोराडो, एटलान्टा लगायतका सहरमा प्रदर्शनको तयारी भइरहेको गीतकार वाग्लेले बताए ।
नेपालमा पाइरहेको प्रतिक्रियाले विदेशमा कहिले प्रदर्शन हुन्छ भन्ने धेरै जिज्ञासा अईरहेको थियो । अहिले हामी बगान टिम नै चलचित्र लिएर अमेरिकामा छौँ’, उनले भने । चलचित्रका निर्देशक सरोज खनाल र अभिनेत्री प्रमिला अमेरिकामा हुने प्रदर्शनीमा सहभागी हुनेछन् ।
अभिनेता सरोज खनालले प्रथम पटक निर्देशन गरेको चलचित्र ‘बगान’मा करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको अभिनय रहेको छ । अभिनेत्री कार्कीले यही चलचित्रबाट अभिनयमा डेब्यु गरेकी हुन् ।





Write your Comment