

काठमाडौं।
देशभर डेंगी सङ्क्रमण बढ्दै गएको छ । सन् २०२३ सुरु भएयता डेंगी संक्रमितको संख्या १२ हजार नाघेको छ ।हालसम्म ७४ जिल्लामा फैलिसकेको डेंगीको संक्रमण सुनसरी, मोरङ, धादिङ, झापा, कास्की, धनकुटा, दार्चुला, काठमाडौं, संखुवासभा र कञ्चनपुर गरी १० जिल्लामा सबैभन्दा धेरै देखिएको छ ।इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको तथ्याङ्कअनुसार संक्रमितको संख्या १२ हजार ४९९ पुग्दै गर्दा सुनसरीको धरान उपमहानगरपालिकामा मात्रै ९ हजार ९७३ जनामा संक्रमण पुष्टि भएकाे छ ।
त्यस्तै, सन् २०२३ सुरु भएदेखि धरान उपमहानगपालिका डेंगी संक्रमणको ‘हटस्पट’ बनेको छ । सरकारले संक्रमण रोकथाम गर्नका लागि विभिन्न अभियान सञ्चालन गरिरहेको बताउँदै आए पनि यहाँ डेंगी तत्काल रोक्न नसकिने अवस्थामा पुगेको छ ।तत्काल डेंगीको संक्रमण रोकिने अवस्थामा नदेखिए पनि यसलाई रोकथाम गर्नका लागि उपमहानगरले २० वटै वडामा विभिन्न जनचेतनमूलक कार्यक्रम गर्दै आइरहेको उपमहानगपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहता बताउँछन् ।
उनी भन्छन्, ‘हामी डेंगीको रोकथामका लागि ‘खोज र नष्ट’ अभियानलगायत अन्य सचेतनामूलक कार्यक्रम नियमित रूपमा गर्दै आइरहेका छौँ । अब चाँडै नियन्त्रणमा आउँछ । यसका लागि हामी काम गरिरहेका छाैँ ।’महाशाखाका अनुसार लगातार परिरहेको पानीका कारण डेंगी सङ्क्रमण बढ्दै गएको छ । यही अवस्थामा संक्रमण भइरहे डेंगी सङ्क्रमण असोजमा उच्च रहने विज्ञहरूको भनाइ छ ।सन् २०२२ मा ५४ हजार ७८४ जनामा सङ्क्रमण र ८८ जनाको मृत्यु भएको थियो । यो संक्रमण हालसम्मकै उच्च रहेको छ ।
डेंगीका लक्षण
विज्ञहरूका अनुसार ज्वारो यसको मुख्य लक्षण हो । त्यसबाहेक वान्ता हुने, आँखा, मांशपेसी र जोर्नीमा अत्यधिक दुखाइ हुने गर्छ ।त्यस्तै, हरेक वर्ष विश्वका ४० करोडभन्दा बढी मानिस डेंगी संक्रमणबाट प्रभावित हुने गरेका छन् । तर, डेंगी भएका अधिकांश व्यक्तिलाई संक्रमण भएको एक हप्तापछि आफैँ निको हुने गर्छ । कतिपयलाई भने गम्भीर हुन सक्छ ।गम्भीर भएका व्यक्तिमा रक्तश्राव हुने, बेहोस हुनेसमेत हुन सक्छ । र, यसकै कारण केहीको मृत्युसमेत हुने गरेको छ ।
जोगिने उपाय
डेंगीबाट बच्ने सबैभन्दा उपयुक्त विधि भनेको लामखुट्टेको टोकाइबाट बच्नु नै हो । यसका लागि शरीर ढाक्ने गरी कपडा लगाउनुपर्छ । घरभित्र र घरबाहिर घुम्दा अझ विशेष गरी बालबालिकालाई लामखुट्टेको टोकाइबाट जोगाउनुपर्छ ।सुत्ने बेला झुलको प्रयोग गर्नुपर्छ । यस्तै, झ्याल ढोकामा जालीको प्रयोग गर्न सकिन्छ । त्यसैगरी, डेंगीबाट बच्नका लागि आफ्नो घरवरपर सरसफाइ गर्नुपर्छ । खल्डा खुल्डीमा पानी जम्ने भएका कारण पुर्नपर्छ । टायर, लामो समयसम्म पानी जम्मा गरेर राख्ने भाँडालगायतका सरसामानको व्यवस्थापन गर्नु उपयुक्त मानिन्छ ।यस्तै, सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न सकिन्छ ।





Write your Comment