

काठमाडौँ ।
गत पुस महिना यता नेपालमा डेंगु सङ्क्रमित सङ्ख्या १३ हजार पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार हाल देशभरि ७४ जिल्लामा डेंगु फैलिँदा १३ हजार २९२ जना सङ्क्रमित भएका छन् । डेंगु सङ्क्रमणका कारण १० जनाको मृत्यु भएको छ ।
७४ जिल्लामध्ये सुनसरीमा डेंगु सङ्क्रमण प्रकोपका रूपमा फैलिएको छ । ईडीसीडीका अनुसार सुनसरी जिल्लामा मात्रै सात हजार ८९ केस पुष्टि भएको छ ।सात प्रदेशमध्ये सबैभन्दा धेरै कोशी प्रदेशमा १० हजार १८२ केस पुष्टि भएको छ भने कर्णाली प्रदेशमा ३६ केस पुष्टि भएको ईडीसीडीले जनाएको छ ।पुस महिना यता बागमती प्रदेशमा १ हजार ७९३, गण्डकी प्रदेशमा ५१०, सुदूरपश्चिम प्रदेशमा ४१७, लुम्बिनी प्रदेशमा २६३, मधेस प्रदेशमा ९२ र कर्णाली प्रदेशमा ३६ केस पुष्टि भएको छ ।
नेपालमा डेंगु सङ्क्रमण देखा पर्न थालेको १९ वर्ष पुग्यो । सन् २०२२ मा ५४ हजार ७८ केस पुष्टि हुँदा ८८ जनाको मृत्यु भएको थियो । यस वर्ष पनि डेंगु सङ्क्रमण दरले तीव्रता पाउने जनस्वास्थ्य विज्ञहरू बताउँछन् ।

काठमाडौँ महानगरपालिकाले के गर्दैछ ?
काठमाडौँ जिल्लामा डेंगु सङ्क्रमणका १९६ वटा केस पुष्टि भएको छ । जसमध्ये हाल काठमाडौँ महानगरपालिकामा ४० वटा केस पुष्टि भएको स्वास्थ्य विभागका विभागीय प्रमुख रामप्रसाद पौडेलले बताए । सङ्क्रमण पुष्टि भएकामध्ये ४ जना अस्पतालमा उपचाररत रहेको उनले बताए ।
यस्तै, ललितपुर महानगरपालिकामा अहिले २१ जना डेंगु सङ्क्रमित पुष्टि भएको महानगरपालिकाका सूचना अधिकारी देवप्रसाद गुरागाईले बताए । महानगर क्षेत्रमा लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियानलाई तीव्रता दिएको उनले बताए ।
यस्तै, डेंगु परीक्षण गर्नका लागि महानगरपालिकाभित्र ४ स्थानमा ल्याब राखिएको समेत उनले जानकारी दिए ।सरकारले डेंगु सार्ने लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियानलाई सञ्चालन गर्न निर्देशन दिएको छ । ललितपुर महानगरपालिकाका वडाहरूले साताको एक पटक आफ्नो समय अनुकूल पारेर अभियानलाई तीव्रता दिएको उनको जिकिर छ ।
उता काठमाडौँ महानगरपालिका अन्तर्गतको स्वास्थ्य शाखाका प्रमुख पौडेलले महानगरभित्र पानी जमेको स्थानमा स्वास्थ्य स्वयंसेविकासँगै अन्य कर्मचारीले पुर्ने काम गरिरहेको जानकारी दिए ।महानगरपालिकाका तर्फबाट खोज र नष्ट गर अभियानलाई प्रत्येक वडामा हरेक दिन सञ्चालन गरिएको उनले बताए ।महानगरका स्वास्थ्य स्वयंसेविकाहरू, अन्य कर्मचारी र वडा प्रतिनिधिहरू निरन्तर डेंगु सङ्क्रमण हुन नदिनका लागि खटिएको उनको जिकिर छ ।
महानगरपालिका निरन्तर खोज र नष्ट गर अभियानमा खटिएकाले काठमाडौँमा डेंगु सङ्क्रमितको सङ्ख्या कम भएको उनको भनाइ छ ।महानगरपालिका सबै वडामा प्रत्येक हप्ताको बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म डेंगु सार्ने लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गरिएको उनको भनाइ छ । महानगरपालिकासँगै अन्य सामाजिक संघसंस्थाहरूले नियमित रूपमा लार्भा नष्ट गर्ने काम गरिरहेको विभागीय प्रमुख पौडेलले बताए ।
महानगरले वातावरणमैत्री औषधि छर्किँदै
काठमाडौँ महानगरपालिकाले पानी पर्न रोकिएपछि वातावरण मैत्री औषधि प्रयोग गरी लार्भा नष्ट गर्ने कार्ययोजना अघि बढाउने भएको छ ।वातावरणमैत्री औषधि प्रयोग गरिने भएकाले यसले अन्य कुनै पनि किटजन्य किरालाई नोक्सान नगर्ने उनको जिकिर छ ।‘पानी अब ५–६ दिन पर्दैन भन्ने भयो भने प्रत्येक वडामा यो औषधि छर्किने काम गर्छौँ,’ उनले भने ।प्रमुख पौडेलले लामखुट्टेबाट बच्नका लागि काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न, सधैँ झूल टाँगेरमात्र सुत्न नगरवासीलाई सुझाव दिए ।





Write your Comment