

भ्युजका लागि युट्युबरमाझ सनसनीपूर्ण हेडलाइन र थम्बनेल समान्य भइसकेको छ । यसरी पनि भिडियो नचलेपछि केही समययता अन्तवार्ताका क्रममा कुटाकुट गर्ने वा गराएरै भए पनि दर्शक तान्ने होडबाजी चल्न थालेको छ । यस्ता झगडा कुनै ‘योजनाबद्ध (स्क्रिप्टेड) हुन्छ भने कुनै वास्तविक हुने गरेको छ ।
हालै मात्र युट्युब र टिकटकमा एउटा भिडियो भाइरल भइरहेको छ, जसमा आफूलाई सामाजिक अभियन्ता बताउने सर्मिला वाइबाले आफूलाई कलाकार बताउने तेजेन्द्र परियारलाई हातपात गरेकी छन् ।
युट्युबमा उपलब्ध भिडियोमा सर्मिला युट्युबर बनेर तेजेन्द्रको अन्तर्वार्ता लिँदै गरेको देखिन्छिन् । बालकलाकार सचिन परियारका बुवा भएकैले तेजेन्द्रलाई पहिल्यैदेखि युट्युबरले ‘हट केक’ बनाउँदै आएका छन् । विभिन्न युट्युब च्यानलको ‘बूम’ लिएर अन्तर्वाता लिन बसेकी सर्मिलाले तेजेन्द्रलाई अन्टसन्ट प्रश्न गरेकी छन् । यसको प्रतिवाद गर्दा उनले तेजेन्द्रलाई थप्पड हानेको देख्न सकिन्छ ।
सार्वजनिक भिडियोमा सर्मिलाले जे पायो, त्यही प्रश्न गरेकाले अन्तर्वार्ता नदिने भन्दै तेजेन्द्र उठ्छन् । यस क्रममा उनीहरूबीच भनाभन हुन्छ । सर्मिलाले उठेर नहिँड्न भन्छिन् । तर तेजेन्द्रले शैली भएन भन्दै फेरि बस्न अस्वीकार गर्छन् । उनीहरूबीच आपसमा आफ्नै परिवार सम्हाल्न नसकेको दोषरोपण हुन्छ ।
भनाभनकै क्रममा तेजेन्द्रले सर्मिलालाई भन्दिन्छन्, ‘तपाईंले आफ्नो घरपरिवार त गतिलो गरी सम्हालेर बस्नुहुन्न । तपाईं दुनियाँको बेइज्जेत गर्दै हिँड्नुहुन्छ । अर्काको बेइज्जेत गराउने ? शैलै छैन तपाईंको ?’
यति सुनेपछि सर्मिलाले तेजेन्द्रको गाला चड्काएकी छन् । उनले फेरि तेजेन्द्रलाई थचक्कै सोफामा लड्ने गरी पनि हानेकी छन् ।
यसअघि सर्मिलाले नरनाथ गौतम नामका युट्युबरलाई कुटेको भिडियो सार्वजनिक भएको थियो । केही समयअघि प्र्याङ्कका नाममा कपिल मगर नामका युट्युबरले तेजेन्द्रलाई अन्तर्वार्ताकै क्रममा घोक्र्याएर भिरबाट १० हात तल झारिदिएको क्लिप टिकटकलगायत सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।





Write your Comment