सूर्यको रहस्य पत्ता लगाउने होडमा भारत

रातोघर

 २०८० भाद्र १२, मंगलबार  मा प्रकाशित
३२५ पाठक संख्या


काठमाडौं।

भारत गत हप्ताको बुधबार २३ अगस्टमा चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ अन्तरिक्ष यान अवतरण गराउन सफल भयो । रुस, अमेरिका र चीनपछि चन्द्रमामा अन्तरिक्ष यान अवतरण गराउने भारत चौथो राष्ट्र बन्यो भने चन्द्रमाको दक्षिणी ध्रुवमा अन्तरिक्ष यान अवतरण गराउने पहिलो राष्ट्र बन्यो ।

चन्द्र अभियानको सफलतापछि यतिबेला भारतले सूर्यको अध्ययनका लागि यसै हप्ताको शनिबार अन्तरिक्ष यान पठाउने घोषणा गरेको छ । सेप्टेम्बर २ अर्थात् यसै हप्ताको शनिबारका दिन आन्ध्र प्रदेशस्थित श्रीहरिकोटाको सतिस धवन स्पेस सेन्टरबाट रकेटमार्फत आदित्य एल– १ रोबोटिक यानलाई अन्तरिक्षमा पठाइने भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इस्रोले जनाएको छ ।

इस्रोका अनुसार शनिबार बिहान ११ बजेर ५० मिनेटमा पहिलो सूर्यअभियानअन्तर्गत आदित्य एल–१ रोबोटिक यानलाई अन्तरिक्षमा पठाइनेछ । गत बुधबार चन्द्रयान–३ को सफलतापछि प्रधानमन्त्री नरेन्द्र मोदीले सूर्य अभियानको घोषणा गरेका थिए ।

इस्रोले सूर्य अभियानबारे भनेको छ, ‘आदित्य एल–१ सूर्यको अध्ययन गर्ने पहिलो अन्तरिक्षमा आधारित भारतीय मिसन हुनेछ । अन्तरिक्ष यानलाई सूर्य–पृथ्वी प्रणालीको ल्यागरेन्ज बिन्दुको वरिपरि हलो कक्षमा पठाइनेछ, जुन पृथ्वीबाट करिब १५ लाख किलोमिटर टाढा छ ।’

हलो कक्षमा उक्त रोबोटिक यानलाई राख्नुको मुख्य फाइदा भनेको कुनै पनि समस्या बिना उक्त यानले सूर्यलाई निरन्तर अवलोकन गर्न सक्छ । सूर्यग्रहणका बेला पनि उक्त यान छेकिँदैन । यसले सौर्य गतिविधि अवलोकन गर्न र वास्तविक समयमा अन्तरिक्ष मौसममा यसको प्रभावलाई अझ बढी फाइदा दिनेछ ।

आदित्य एल–१ रोबोटिक यानमा सातवटा पे लोड्स अर्थात् अन्तरिक्ष यानका भागहरू हुनेछन्, जसले सूर्यको फोटोस्फेयर, क्रोमोस्फियर र सूर्यको सबैभन्दा बाहिरी सतहको अध्ययन गर्नेछ ।

हाम्रो ब्रह्माण्ड अनगिन्ती ताराहरू मिलेर बनेको छ । विश्वभरका वैज्ञानिकहरू ब्रह्माण्डको भविष्य जान्न लागिपरेका छन् । यस क्रममा, हामी बस्ने सौर्यमण्डललाई बुझ्नका लागि, सूर्यलाई जान्नु धेरै महत्त्वपूर्ण छ ।

सूर्यबाट निस्कने ऊर्जा र तापक्रमको मात्रा पृथ्वीमा अध्ययन गर्न सकिँदैन । त्यसैले, विश्वभरका अन्तरिक्ष एजेन्सीहरू सूर्यको नजिक गएर सकेसम्म धेरै अध्ययन गर्न चाहन्छन् । यस्तोमा भारत पनि सूर्य अध्ययनमा लागि परेको हो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban