नेपाली वीरताको इतिहास बोकेको पाल्पा भगवती जात्रा

रातोघर

 २०८० भाद्र २१, बिहिबार  मा प्रकाशित
५०७ पाठक संख्या


पाल्पा।

नेपालमा धेरै जात्रा र पर्व मनाइन्छ । पाल्पाको प्रख्यात भगवती मन्दिरमा मनाइने जात्रा भने भिन्न छ । किनभने, यो जात्रामा धार्मिक र सांस्कृतिक महत्व मात्र नभई नेपाली वीरता र देशभक्ति इतिहास पनि जोडिएको छ ।

पाल्पा भगवतीको तीनतले मन्दिर कर्णेल उजीरसिंह थापाले विसं १८७२ मा निर्माण थालनी गरी चार वर्ष लगाएर पूरा गरेका हुन् । उनी तिनै उजीरसिंह हुन्, जसको नेतृत्वको नेपाली फौजले विसं १८७२ वैशाख ७ गते जितगढीमा अंग्रेजलाई परास्त गरेको थियो । भगवती जात्राको रोचक प्रसंग सोही युद्धसँग जोडिएको छ ।

अंग्रेजसँग युद्ध गर्न जानुअघि कर्णेल उजीरसिंहले विजय भएमा तानसेनमा ठूलो मन्दिर बनाई खटजात्रा चलाउने भाकल गरेका थिए । त्यतिन्जेलसम्म भगवतीको प्रस्तर मूर्ति थियो । भगवतीको आशीर्वादले भाकल पूरा भई अंग्रेजसँगको युद्ध जितेको विश्वासमा मन्दिर बनाएका थिए ।

पुरानो प्रस्तर मूर्तिलाई गर्भमा राखी अष्टधातुले बनेको अठारबाहु भएकी महिषासुर मर्दिनी भगवतीको प्रतिमा प्रतिस्थापन गरी दुर्गा पञ्चायनको रूप दिइएको थियो । तानसेन काठमाडौंपछि धेरै जात्रा हुने शहर हो । यहाँ वर्षभरि विभिन्न देवीदेवताका रथयात्रा गरिन्छ । तर श्री ७ रणउजीरेश्वरी भगवतीको खटयात्रा फरक छ ।

वास्तवमा यो विजयोत्सव जात्रा हो । यो जात्रासँग इष्ट इन्डिया कम्पनी सरकारलाई परास्त गरी विजय हासिल गरी राष्ट्रियता, वीरता, धीरता, रणकौशलको इतिहास पनि जोडिएको छ । यसको इतिहास २०३ वर्ष पुरानो छ ।

पाल्पा भगवतीको मन्दिर एक हिसाबले भन्ने हो भने नेपाली जनता र सेनाको वीरताको स्मारक पनि हो । देशभक्तिको निशानी पनि हो । यो पाल्पाको मात्र नभइ सिंगो देशको गौरव सम्झाउने जात्रा हो । एउटा जीवित इतिहास पनि हो । त्यसैले यसलाई राष्ट्रिय उत्सव बनाउनुपर्छ ।

नेपाली फौजले जनताको साथ लिएर जितेको युद्धको गाथा पाठ्यक्रममा आउनुपर्छ । विद्यालय, कलेज र विश्वविद्यालयमा पढाइनुपर्छ । सयौँ हस्तलिखित दस्तावेज भेटिएका छन् । त्यसैले इतिहासमा लेखिएका अपुष्ट र अधुरा सन्दर्भलाई पुनःलेखन गरेर तथ्यसहितको नेपाली वीरताको इतिहास लेखिनुपर्छ । उजिरसिंह थापालाई राष्ट्रिय विभूति घोषणा गरिनुपर्छ ।

को हुन् उजिरसिंह थापा ? 

अमरसिंह थापाका नाती, नयनसिंह थापा तथा रणकुमारी थापाका छोरा कर्णेल उजिरसिंह थापा १८५२ साल चैतमा काठमाडौंमा जन्मिएका थिए । ८ मंसिर १८७१ मा १९ वर्षको उमेरमा उनी  पाल्पाको कमाण्ड सम्हाल्न पुगेका थिए । कर्णेल उजिरसिंह जीवनपर्यन्त (वि.सं. १८७१ देखि १८८१ सम्म) पाल्पा कमाण्डर रहे ।

उनको मातहतमा रहेका श्री सबुज पल्टन, गुरुबक्स गुल्म र स्थानीय पाल्पालीहरूको सहयोगमा जितपुरगढी तथा नुवाकोटगढीको लडाइँमा उनको नेतृत्वको नेपाली सेनाले अत्यन्तै बहादुरीका साथ अंग्रेज फौजलाई परास्त गरेको थियो ।

वि.सं. १८७१ पुस २२ देखि वि.सं. १८७२ जेठसम्म गरी जितपुरगढीमा दुईपटक नेपाल र अंग्रेज फौजसँग युद्ध भएको थियो । आधुनिक हातहतियार गोला बारुदसहितको लगभग ४ हजार अंग्रेज फौजको नेतृत्व जनरल जोन सुलेभान उडले गरेका थिए । नेपाली फौजको नेतृत्व कर्णेल उजिरसिंह थापाले गरेका थिए । नेपाली फौजसँग तोप, बन्दुक, धनुष, तरबार, भाला, खुकुरी, स्थानीय हतियार थिए । नन कम्बाटान्टसहित लगभग तीन हजारको फौज थियो ।

यो लडाइँ मुलतः बुटवल र स्युराजको भूमि विवादका कारण भएको देखिन्छ । तर, अंग्रेज फौजले पाल्पालाई कब्जा गरी पश्चिम नेपाललाई राजधानीबाट अलग्याउने र बुटवल पाल्पा–काठमाडाैं–केरुङ मार्गमा अधिपत्य जमाई चीनसँग व्यापार व्यवसाय बढाउने मनसुवाका कारण भएको बुझिन्छ ।

यो युद्धमा भएको क्षति सम्बन्धमा विभिन्न इतिहासकारहरूको विभिन्न मत रहेको छ । जोन पेम्थलले अंग्रेज फौजतर्फ १९ जना मरेका तथा ११२ जना घाइते भएको र नेपालीतर्फ लगभग पाँच सय जना मरेका वा घाइते भएका भनेका छन् । सोपध्वज विष्टले अंग्रेज फौजतर्फ मात्र ३०० जना मरेको उल्लेख गरेका छन् भने बालचन्द्र शर्माले अंग्रेज फौजतर्फ १४ जना मरेको तथा १०७ जना घाइते भएको र नेपालतर्फ पनि करिब त्यति नै क्षति भएको उल्लेख गरेका छन् । क्षति जुन पक्षको जे जति भएको भएता पनि यो युद्धमा नेपाली सेनाले अंग्रेजहरूलाई लज्जास्पद रूपमा परास्त गरी लोटनसम्म लखेट्दै लगेको थियो ।

कमजोर हातहतियार तथा बन्दोवस्ती र कम सैन्य शक्ति हुँदाहुँदै पनि यो लडाइँमा नेपाली सेनाले विजय प्राप्त गर्नुमा मुख्य रूपमा कर्णेल उजिरसिंह थापाको अद्वितिय युद्ध कौशल र नेतृत्व क्षमता नै हो । यसैगरी नेपाली सेनाको उच्चस्तरको हौसला, प्रेरणा र रणउजिरेश्वरी भगवतीको आशीर्वाद तथा जमिन एवं सीमित साधन र श्रोतको अधिकतम उपयोग गरी अंग्रेज फौजलाई थाहा नदिइ जाईलागेर जितेको देखिन्छ ।

असाधारण व्यक्तित्वका धनी उनी बहादुर सैनिक कमाण्डर मात्र थिएनन्, कुशल राजनीतिज्ञ एवं सफल जनप्रशासक पनि थिए । उनी धार्मिक प्रवृत्तिका थिए । समाज सुधारक र असल न्याय प्रशासकसमेत थिए । यिनले अंग्रेज फौजलाई परास्त गर्दा नेपाली स्वाभिमान र चन्द्र, सूर्य अंकित झण्डा उचो बनाए ।

साथै, यिनले रणउजिरेश्वरी भगवतीको अष्टधातुको अठार भुजा भएको मूर्ति प्रतिस्थान गरी भगवती गुठीको व्यवस्था गर्नुको साथै प्रत्येक वर्ष भाद्र कृष्णनवमीका दिन विजयोत्सवको रूप भगवतीको रथ यात्राको थालनीसमेत गराए । उनका उजेलदेवी थापा (मृत्युपछि सति गएकी) र राजकुमारी थापा गरी दुई श्रीमती साथै छोरा काजी शेरजंग र छोरी जयदिप्येश्वरी गरी दुई सन्तान थिए । उजिरसिंह थापाको मृत्यु वि.सं.१८८१ मंसिर २० राती पशुपति आर्यघाटमा भएको थियो ।

अन्त्यमा, 

देशबासीका लागि राष्ट्रियताको सधैँ महत्व रहन्छ । दुई शताब्दीअघि बलिया राष्ट्रले घाम नअस्ताउने देश बनाउने होडमा जे गरे, अहिले ठ्याक्कै त्यही स्थिति नभए पनि रूप फेरिएको मात्र हो । कमजोर राष्ट्रलाई मिच्ने प्रवृत्ति आज प्रयन्त उस्तै छ । हरेक युगमा देशभक्त जन्मिन्छन् र आफ्नो मातृभूमिका लागि वीरता प्रदर्शन गर्छन् । त्यो सन्देश नेपाल–अंग्रेज युद्धले दिएको छ । त्यसको शिक्षा अहिलेको पुस्ताले पनि लिनुपर्छ ।

जीतपुरगढीको युद्ध कर्णेल उजीरसिंह थापाले एक्लै लडेका पनि हैनन्, एक्लै जितेका पनि हैनन् । तर, उनको आँटिलो नेतृत्वले बलियो सत्रुलाई पनि परास्त गरेको हो । उजीरसिंहको आँट, काजी वीरभञ्जन पाण्डेको सुझबुझ र सरदार सूर्य थापा, अम्बर अधिकारी, कुम्भेदान वृषसुर थापा, जमदार भीमसेन देउजा, जमदार सुरवीर बोहोरा, हवल्दार रणसुर बानिया एवं जुठे बस्नेतलगायत पाँच सय नेपालीको रगत पसिनाले यो गौरवमय इतिहास लेखिएको छ । त्यसैले आज पनि श्री ७ रणउजीरेश्वरी भगवती मन्दिरको चम्किरहेको गजुरले राष्ट्रियतालाई सधै खबरदारी गरिरहेझैँ लाग्दछ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban