पोखरा आसपासका क्षेत्रमा तीन सय ८७ गिद्ध भेटिए

रातोघर

 २०८० आश्विन ४, बिहिबार  मा प्रकाशित
४५८ पाठक संख्या


गण्डकी। 

पोखरा पक्षी समाजले हालै गरेको गिद्ध गणनामा पोखरा र आसपासका क्षेत्रमा तीन सय ८७ गिद्ध भेटिएका छन् । समाजले १० वर्षदेखि प्रत्येक वर्ष पोखरा र आसपासका क्षेत्रमा पाइने गिद्धको गणना गर्दै आएको छ ।

यस वर्षको गणना सम्पन्न भएको जनाउँदै तीन सय ८७ गिद्ध भेटिएका समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिएका छन् । उनका अनुसार समाजले यसवर्ष पोखरा आसपासका घाचोक, पुम्दीभुम्दी, पुरानो एवं नयाँ ल्यान्डफिलसाइट र दोभिल्लाका साथै तनहुँका नगरपालिका १०  स्थित शिशुवाभतेरी , शुक्लागण्डकी   गरपालिकास्थित गौ संरक्षण केन्द्र र दमौलीस्थित ल्याण्डफिल साइडमा गिद्धको गणना गरेको थियो

पछिल्ला समयमा बासस्थानका कारण बर्सेनि गिद्धहरू संकटमा पर्दै गएको घिमिरेले बताए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै पोखरा महानगरपालिका–१५ छिनेडाँडास्थित फोहर विसर्जनस्थल पोखरा–३२ लामेआहालमा सारिएको छ । गिद्धको बासस्थान विशेषतः अग्लो सिमलको रूख भए पनि पोखरा आसपासका क्षेत्रमा बस्तीको विकाससँगै यहाँ रहेका सिमलका रूख काटिने क्रमसँगै उनीहरूको बासस्थान संकटमा परेको यस क्षेत्रका अनुसन्धाता बताउँछन् । 

पोखरा उपत्यकाका चाउथे, मझेरीपाटन, बिरुवा, गैरीखेतलगायत स्थानमा करिब १५/१६ वर्षअघिसम्म ठूलै सङ्ख्यामा गिद्ध पाइने भए पनि अहिले ती ठाउँमा लोप भइसकेका घिमिरेको भनाइ थियो । उनका अनुसार सिमलका रुख काटिनुका साथै बढ्दो बस्ती र यातायातका साधन एवं उद्योगबाट निस्कने धुलो धुवाँका कारण गिद्ध संकटमा परेका हुन् । 

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban