वीरगञ्जको सीमामा खट्ने सुरक्षाकर्मीको लापरबाहीका कारण मानव तस्करीमा परिन किशोरी

रातोघर

 २०८० आश्विन ४, बिहिबार  मा प्रकाशित
४६४ पाठक संख्या


वीरगञ्ज ।

नेपालबाट वीरगञ्जको बाटो हुँदै भारतको रक्सौल प्रवेश गर्न यात्रुको चेकजाँच गर्न झन्डै तिनदेखि चार स्थानमा सुरक्षाकर्मी खटाइएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगै मानव तस्करी नियन्त्रणका निमित्त अस्थायी रूपमा माइती नेपाललगायत विभिन्न गैह्र सरकारी सङ्घ संस्थाका कर्मचारीहरू पनि खटेका हुन्छन् ।

झट्ट हेर्दा वीरगञ्ज – रक्सौल नाकाको सुरक्षा व्यवस्था एकदमै चुस्त दुरुस्त रहेको जस्तो देखिन्छ । यद्यपि वास्तविकता त्यस्तो छैन । यस नाका हुँदै दिनहुँ हुने चोरी तस्करीको घटना सामान्य जस्तो भइसकेको छ । बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन भए पनि दैनिक करोडौँको सामग्री तस्करी मार्फत नेपाल गर्छ । पछिल्लो समय त यस नाका मार्फत मानव तस्करीको घटनामा समेत वृद्धि भएको छ ।

वीरगञ्ज – रक्सौल नाकामा खटेका सुरक्षाकर्मी र गैह्र सरकारी संस्थाका प्रतिनिधिहरूको लापरबाहीका कारण यसै नाका हुँदै एक किशोरी मानव तस्करीमा परेर भारत पुगेको घटना बाहिर आएको छ । नाकामा खटेका सुरक्षाकर्मी र गैह्र सरकारी संस्थाका प्रतिनिधिले सामान्य सोधपुछ समेत नगर्दा मानव तस्करहरूले किशोरीलाई सहजै वीरगञ्जबाट रक्सौलको बाटो हुँदै दिल्ली पुर्‍याएको घटना बाहिरिएको हो ।

झन्डै ६ महिना पछि उद्धार भएपछि कक्षा ८ मा पढ्ने धनुषाकी १६ वर्षीय किशोरीले वीरगञ्जको बाटो हुँदै आफू तस्करीमा परेको बताएकी छन् । किशोरीका अनुसार उनी घण्टाघरबाट घोडागाडी (टाँगा) चढेर रक्सौलसम्म पुगेकी थिइन् । यद्यपि बाटोमा खटेका सुरक्षाकर्मी र मानव तस्करी नियन्त्रण गर्नका निमित्त खटिएका गैह्र सरकारी संस्थाका प्रतिनिधिहरूले उनीसँगै सामान्य प्रश्न समेत गरेनन् । उनी सहजै रक्सौलसम्म पुगिन र त्यहाँबाट तस्करले उनलाई भारतको राजधानी दिल्ली लागे ।

माइती नेपाल कञ्चनपुरले भारतीय सुरक्षा एजेन्सी र दिल्लीका सङ्घ संस्थाहरूसँगको समन्वयमा किशोरीलाई उद्धार गरेर ल्याएको छ । अहिले उनी आफ्नो अभिभावकसँग धनुषा फर्किइसकेकी छन् ।

किशोरीले दिल्लीमा आफूसँग पटक-पटक बलात्कार भएको समेत बताएकी छन् । सामाजिक सञ्जाल फेसबूकबाट सम्पर्कमा आएका युवकले उनलाई भारत लागेको किशोरीको कथन छ । फेसबूकमा भएको कुराकानीका क्रममा युवकले किशोरीलाई भेट्न वीरगञ्ज बोलाएका थिए । वीरगञ्जमा भेटघाटका क्रममा युवकले आफू दिल्लीमा राम्रो जागिरे भएको बताउँदै  किशोरी समक्ष विवाहको प्रस्ताव राखे, उनले स्वीकार गरिन । भेट्न जाँदा युवकले एक महिलालाई पनि आफैसँग ल्याएका थिए । जसलाई उनले दिदी भनेर चिनाएका थिए ।

युवकले दिदी बताएको महिला र किशोरीलाई वीरगञ्जमा टाँगा चढाएर रक्सौल तर्फ पठाए । वीरगञ्जमा एक जना वृद्ध महिलालाई पनि उनले नाकामा कसैले रोके किशोरीलाई आफ्नो छोरी भनेर बताइदिन फकाएका थिए । वृद्धि महिलासँग उनले नम्बर समेत साटासाट गरेका थिए । तर नाकामा किशोरीसँग कुनै किसिमको चेकजाँच र सोधपुछ भएन । त्यसपछि उनीहरू रक्सौल पुगे र त्यहाँबाट दिल्ली ।

दिल्ली लगेर युवकले किशोरीलाई पहिलो एक महिना आफैसँग राखे । विवाह गर्ने भन्दै प्रलोभन दिएर कयौँ पटक जबरजस्ती करणी गरे । दोस्रो महिनादेखि किशोरीलाई अन्य पुरुषसँग समेत शारीरिक सम्बन्ध बनाउन बाध्य बनाए । ‘एक महिना पछि युवकले तिमीलाई आफ्नो लागि होइन दाइको लागि ल्याएको भन्न थाले, केही दिन पछि त उनी गायब नै भए,’ किशोरीले भनिन्, ‘त्यसपछि दाइ भन्ने पुरुषले यातना दिन सुरु गरे ।’ उनले पनि आफूसँग पटक – पटक बलात्कार गरेको युवतीले बताएकी छन् । उनले आफूलाई बेच्ने योजना समेत बनाएको युवतीले बताइन ।

किशोरीले केही समय पश्चात् आफ्नो अवस्था र ठाउँ बारे फेसबूक म्यासेन्जर मार्फत आमालाई जानकारी गराइन । छोरी बारे जानकारी पाउनसाथ आमा जिल्ला प्रहरी कार्यालय धनुषा पुगिन । धनुषा प्रहरीबाट माइती नेपाल धनुषा हुँदै उक्त कुरा माइती नेपाल कञ्चनपुर पुग्यो ।

माइती नेपाल कञ्चनपुरले बन्धक बनाएर राखिएकी किशोरीलाई स्थानीयहरूसँगको समन्वयमा उद्धार गरेर नेपाल ल्याएको थियो । स्वास्थ्य अवस्था कमजोर भएको कारण युवतीलाई केही दिन दिल्लीमै राखेर उपचार गरिएको थियो । किशोरीलाई मङ्गलवार माइती नेपालकै कर्मचारी र उनका अभिभावकसँग धनुषा पठाइएको छ ।

बाक्लो मात्रामा सुरक्षाकर्मी र विभिन्न संस्थाका प्रतिनिधिको उपस्थितिमा समेत वीरगञ्ज – रक्सौल नाका हुँदै एक किशोरीलाई तस्करहरूले सहजै बोर्डर कटाएर दिल्ली पुर्‍याउनु गम्भीर विषय हो । नाकामा खट्नेहरूको लापरबाहीका कारण किशोरीको जीवन बरबाद भएको छ । उनले भोगेको पिडाका उनको मानसिक स्वास्थ्यमा परेको असरबाट बाहिर निस्किन उनलाई बर्सौँ लाग्न सक्छ । किशोरीलाई यस अवस्थामा पुर्‍याउने जिम्मेवारमध्ये नाकामा खटेका सुरक्षाकर्मी र माइती नेपाल जस्ता संस्थाका प्रतिनिधि पनि हुन् । उनीहरूको कार्यशैलीमाथि प्रश्न समेत उठाउने समय भएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban