

हामीलाई बाँच्नका लागि खाना चाहिन्छ । खानामा पाइने तत्त्वहरूलाई पोषक तत्त्व भनिन्छ । खानाले शरीरका आन्तरिक तथा बाहिरी अङ्गहरूलाई दैनिक कार्य गर्न, मर्मत र वृद्धि विकास गर्न सहयोग गर्छ । बालबालिकाको विकासात्मक चरणअनुरुप आवश्यक पोषक तत्त्वहरूको कमी, बढी वा असन्तुलनको अवस्थालाई कुपोषण भनिन्छ । कुपोषणलाई मुख्यतः तीन प्रकारमा बाँडिएको छ ।
न्यून पोषण (Under-nutrition)
पोषणले बालबालिकालाई उफ्रिन, दौडन, हिँडडुल गर्न र सधैँ सक्रिय रहन सहयोग गर्छ । पोषक तत्त्वहरूको कमी हुनासाथ बालबालिका अल्छी हुने, रोइरहने, खान मन नगर्ने, तौल घट्ने र तौल नबढ्नेजस्ता समस्याहरू हुन्छन् । यसलाई पनि निम्न भागमा विभाजन गरिएको छ ।
शीघ्र कुपोषण (wasting)
यो एक छोटो अवधिभित्र देखिने अवस्था हो, जुन खानाको आवश्यकतामा अचानक असन्तुलन आउनाले हुन्छ। जस्तैः वर्षात्को मौसम, भोकमरी लाग्ने मौसम, रोग, प्राकृतिक प्रकोप आदि । यस खालको कुपोषणमा अचानक बालबालिकाको तौल घट्छ, बालबालिकाको उचाइअनुसारका तौल कम हुन्छ । विश्व स्वास्थ्य सङ्गठनले दिएको बाल वृद्धिको मापदण्ड अनुरुप उचाइअनुसार तौलको तालिकासँग दाँजेका आधारमा हुनु वा तौल रेखा ओरालो लाग्दै जानु हो । शीघ्र कुपोषणलाई पनि थप दुई भागमा वर्गीकरण गरिएको छः
मध्यम शीघ्र कुपोषण (Moderate Acute Malnutrition-MAM)
कडा शीघ्र कुपोषण (Severe Acute Malnutrition-SAM)
यस्ता हुन्छन् कुपोषणका लक्षण
• बालबालिकामा फुर्तिलोपनमा कमी हुने,
• सामान्य प्रतिक्रियाहरू नदेखाउने,
• सामान्यभन्दा दुब्लो देखिने,
• बालबालिका कमजोर देखिने, थाक्ने, झोक्राउने,
• बिरामी भइरहने, पखाला लागिरहने,
• छाला, कपाल फुस्रो, कल्ला पर्ने, फुटेको र चमकविहीन हुने,
• अनुहार ख्याउटे चाउरिएको, हात खुट्टा सिकुटे देखिने (सुकेनास),
• अनुहार फुलेको गोलाकार, हातको कुइनामुनी र खुट्टाको घुँडामुनि सुन्निने, गिजा रातो भई सुन्निने र खाँदा, छुँदा रगत आउने ।
मध्यम शीघ्र कुपोषण
यस्ता बालबालिकामा रोइरहने, खाना खान मन नगर्ने, खाना पचाउन नसक्ने जस्ता समस्याहरू देखापर्छ । मासिक तौल मापन गर्दा आवश्यकभन्दा कम हुने हुन्छ । यी बालबालिकालाई खानाबाट पोषणको मात्रा मिलाई उपचार गर्न सकिन्छ । तर, गाउँघरमा विशेषतः रुन्चे लागेको भनेर स्थानीय उपचारहरू गर्ने चलन पनि छ । त्यसले गर्दा शिशु झन खतरापूर्ण अवस्थामा पुग्छ ।
कडा शीघ्र कुपोषणकडा शीघ्र कुपोषण अत्यन्त खतरनाक हुन्छ । यसले बालबालिकाको मृत्यु हुने जोखिम बढी हुन्छ । यस्तो कुपोषण खानाबाट मात्र समाधान गर्न सकिँदैन । मेडिकल सहयोगको आवश्यकता हुन्छ । अति शीघ्र कुपोषण भएका बालबालिकाको मृत्यु हुने जोखिम अन्यको दाँजोमा बढी हुन्छ ।
मरासमस
यस्ता बालबालिका सधैँ रोइरहने चिड्चिडे हुने, अनुहार चाउरी परेर बुढाबुढीको जस्तो हुने, शरीरमा मासुको मात्रा नभई हाड र छाला मात्र देखिने र छाला हड्डीमा टाँसिने हुन्छ । कपालको रङ कैलो तथा अलिकति तान्दा पनि झर्ने, झाडापखाला तथा अन्य समस्याहरू देखिने हुन्छ। यसलाई बोलीचालीको भाषामा सुकेनास पनि भनिन्छ ।
क्वासिर्वकर
याे पनि कडा खालको शीघ्र कुपोषणका अवस्था हो । यसमा बालबालिकाको शरीर सुन्निने, पानी भरिएकोजस्तो अनुहार र हातगोडाहरू देखिन्छ । साथै, यस्ता बालबालिका रोइरहने र धेरै कम तौल भएको अवस्था हो ।
मरास्मस क्वासिर्वकर
यसमा दुवै खालको शीघ्र कुपोषणका लक्षणहरू देखिन्छन् । यसमा पनि बालबालिका चिडचिडे, रोइरहने, खाना नपच्ने आदि हुन्छ ।
दीर्घ कुपोषण
दीर्घ कुपोषणमा लामो समयसम्म कम तौल तथा मध्यम शीघ्र कुपोषणको अवस्था रही बालबालिकाको तोकिएअनुसारको उचाइमा वृद्धि हुँदैन । दीर्घ कुपोषणलाई होचोपना (Stunting) पनि भन्ने गरिन्छ । वृद्धिमा अवरोध भएको प्रभावले बालबालिकाको शारीरिक तथा मानसिक वृद्धि र विकासमा नकारात्मक प्रभाव पर्छ । महिनौँ वा वर्षौंसम्म वृद्धि प्रक्रियामा अवरोध आउनाले बुद्धि विकासमा पनि अवरोध आउँछ ।
सूक्ष्म पोषक तत्त्वको कमी (Micronutrient Deficiency)
सूक्ष्म पोषक तत्त्व भन्नाले खानामा पाइने भिटामिन तथा खनिज तत्त्वहरू हन् । यसले शरीरको आन्तरिक स्वचालित अङ्गहरूको कार्यलाई सन्तुलित गर्ने, रगत बनाउने र कार्य गर्ने, हर्मोनको मात्राहरू सन्तुलन गर्ने, रोगसँग लड्ने क्षमताहरू वृद्धि गर्ने कार्य गर्छ । सामान्यतया नेपालमा अभाव देखिने सूक्ष्म पोषक तत्त्वहरूमा भिटामिन ए, आयोडिन, जिङ्क र आइरन पर्छन् । सूक्ष्म पोषक तत्त्वको अभावबाट रतन्धो, रक्तअल्पता, गलगाँड तथा अन्य सङ्क्रमण हुन्छ ।
मोटोपना
बालबालिकामा उचाइअनुसार हुनुपर्ने तौलभन्दा उच्च रहेको अवस्थालाई मोटोपना भन्ने बुझिन्छ । मोटोपना बालबालिकालाई तयारी खानामा जोड दिने, शारीरिक सञ्चालनमा कमी र वंशाणुगत कारणले हुन्छ । यस्तो खालको कुपोषणले बालबालिकालाई मधुमेह, मुटरोग तथा क्यान्सर आदि हुने सम्भावना हुन्छ ।
कुपोषणको पहिचान
कुपोषणको पहिचान विभिन्न तरिकाबाट गर्न सकिन्छ । शरीरको मापन गरेर, शरीरको लक्षणहरू हेरेर, खाना खाएको रेकर्ड राखेर र ल्याबमा परीक्षण गरेर कुपोषण पत्ता लगाउने मुख्य तरिका हुन् । यसमध्ये सबैभन्दा सरल तरिका लक्षण अवलोकन गरेर र शरीरको मापन गरेर तोकिएको स्तरमा दाँजेर पत्ता लगाउनु हो । यसबाट कम तौल वा शीघ्र कुपोषण सजिलै थाहा पाउन सकिन्छ भने सूक्ष्म पोषण तत्त्वको कमीलाई ल्याब परीक्षण नै आवश्यक हुन्छ ।
विशेषगरी गर्भावस्थाको समयमा शिशुको तौल छिटो बढ्छ । यो अवधिमा नियमित रूपमा समयमा तौल अनुगमन र मापन गरेर पोषणको स्थिति पहिचान गर्नुपर्छ । गर्भावस्थाको चौथो महिना, छैटौँ महिना, आठौँ महिना र नवौँ महिनामा तौलका आधारमा शिशुको वृद्धि सामान्य वा असामान्य अनुमान गरिन्छ ।
वृद्धि अनुगमन
नियमित रूपमा बालबालिकाको वृद्धि विकास थाहा पाउन गरिने प्रक्रियालाई वृद्धि अनुगमन भनिन्छ । कम्तीमा २ वर्षसम्म प्रत्येक महिना वृद्धि अनुगमन गर्नुपर्छ । यसमा नियमित रूपमा उमेरअनुसार तौल बढे-नबढेको अनुगमन गरिन्छ । शिशु जन्मेदेखि कम्तीमा २ वर्षसम्म प्रत्येक महिना वृद्धि अनुगमन गर्नुपर्छ । वृद्धि अनुगमनमा विस्तृत प्रक्रिया यस्ताे छः
| उमेरअनुसारकाे ताैल तालिका | उमेरअनुसारकाे उचाइ तालिका | ||
| उमेर | ताैल | उमेर | उचाइ |
| 0-६ महिना | २० ग्राम प्रतिदिन | जन्मदा | ५० सेमी |
| ७-१२ महिना | १५ ग्राम प्रतिदिन | १ वर्षसम्म | थप २५ सेमी |
| २ वर्षसम्म | २.५ केजी प्रतिवर्ष | २ वर्षसम्म | थप १२.५ सेमी |
| २ देखि ५ वर्षसम्म | २ केजी प्रतिवर्ष | २ देखि ५ वर्षसम्म | थप ६ देखि ८ सेमी प्रतिवर्ष |
नाेटः साधारणतया ६ महिनामा जन्मेको २ गुणा, १ वर्षमा ३ गुणा, २ वर्षमा ४ गुणा तौल वृद्धि हुने गर्छ ।
• मासिक पोषण मापन गर्ने, रेकर्ड राख्ने र रेकर्डहरूको तुलनात्मक विश्लेषण गर्नुपर्छ ।
• बालबालिकाको तौल परीक्षण गरी बालस्वास्थ्य कार्डको तालिकाअनुसार रेकर्ड राख्नुपर्छ । कार्डको चिह्नअनुसार तौल रेखा उक्लदै जानुपर्छ ।
• चित्रमा दुईवटा रेखा उकालो लागेको देखिन्छ । उकालो लागेको रेखाको बीचबाट निरन्तर उकालो लाग्दै जानुपर्छ ।
• यसका लागि स्थानीय स्वास्थ्य संस्था तथा स्वास्थ्य स्वयमसेविकाको सहयोगमा बालबालिकाको तौल, लम्बाइ, उचाइ पाखुराको नाप लिएर रेकर्डमा राख्नुपर्छ ।
• उनीहरूको सहयोगमा कुपोषणको अवस्था निर्क्योल गरी उपचार गर्ने, खानामा परिवर्तन गर्ने वा सबै ठीक भए सोहीअनुसार निरन्तरता दिने गर्नुपर्छ ।
कुपोषण हुनुका कारणहरू
• जन्मजात कुपोषण
• पौष्टिक खाद्य, खानाबारे अज्ञानता
• गर्भावस्थामा आमाले पोषक तत्त्वसहितको खाना खान नपाउनु, नखानु
• पौष्टिक खाना वा आहारको अपर्याप्तता, अभाव, भोकमरी
• भिटामिन तथा खनिज पदार्थको कमी
• अस्वस्थ वातावरणको असर
• विषादीयुक्त खाद्य, तयारी खानाको अधिक उपभोग
• समयमा स्वास्थ्य स्याहार र सेवा नपाउनु
• बिरामी पर्न, जस्तै शिशु बालबालिकालाई दीर्घ झाडापखाला, निमोनिया र बारम्बार बिरामी भइराख्नु आदि ।
कुपोषणको असर
• गर्भ तुहिने,
• समयपूर्व जन्म हुने,
• कम तौल र उचाइको जन्म,
• सुस्त वा मन्द बुद्धि हुने,
• शारीरिक, बौद्धिक अपाङ्गता हुने,
• छिट्टै सङ्क्रमण हुने वा बिरामी हुने,
• झाडापखाला हुने,
• खाना नपच्ने,
• बालमृत्यु हुने
कुपोषणका रोकथाम
• किशोरावस्थामा भएको कुपोषण (रक्त अल्पता तथा अन्य) को रोकथाम उचित पौष्टिक खानाको उपभोगबाट सम्भव छ ।
• गर्भावस्थापूर्व स्वास्थ्य जाँच तथा हानिकारक मद्यपान, धूमपान र औषधिको सेवनमा नियन्त्रण गरेर रोकथाम गर्न सकिन्छ ।
• गर्भावस्थामा सिफारिस गरिएबमोजिम नियमित स्वास्थ्य जाँच गराउँदा कुपोषण व्यवस्थापन गर्न सकिन्छ ।
• गर्भवती तथा सुत्केरीले साविकभन्दा बढी खाना खाने, यसको अलावा विभिन्न खाद्य समूहका खाना खाने नियम कायम गर्ने, आइरन चक्की नियमित खानाले, शिशु र आमा दुवै कुपोषणबाट सुरक्षित हुन्छन् ।
• जन्मनासाथ बिगौती (पहेलो) दुध खुवाउने, छ महिनासम्मका शिशुलाई पूर्ण स्तनपान अनिवार्य गराउने, छ महिना पछि पूरक खाना खुवाउनाले पनि कुपोषणको सम्भावना कम हुन्छ ।
• हरेक महिना शिशुको वृद्धि अनुगमन गरी शीघ्र कुपोषण पहिचान र स्थानीय पौष्टिक आहार उपभोग गरेर कुपोषणबाट जोगिन सकिन्छ ।
• खाना खानु अघि र पछि, दिसापिसाब गरेपछि साबुनपानीले मिचिमिची हात धुनुपर्छ र फोहोरबाट सर्ने रोगबाट सुरक्षित हुनुपर्छ ।
• रोग तथा सङ्क्रमणबाट आमा र शिशुलाई जोगाउनुपर्छ ।
• कुपोषण पहिचान भएको शिशु र बालबालिकालाई स्वास्थ्य मन्त्रालयअन्तर्गतका स्वास्थ्य संस्थामा उपचार गराउनुपर्छ ।
• शिशु बालबालिकामा हुने कुपाेषण राेकथामका लागि विभिन्न कार्यक्रम लागू भएका छन्, जसबाट फाइदा लिन सकिन्छ । ती कार्यक्रमहरूमा, मातृशिशु तथा बाल्यकालीन पाेषण, बाल अनुदान कार्यक्रम, बहुक्षेत्रीय पाेषण कार्यक्रम, शीघ्र कुपाेषण एकीकृत व्यवस्थापन कार्यक्रम, आपत्कालीन अवस्थामा गरिने पाेषणसम्बन्धी प्रतिकार्य र पुनर्लाभ कार्यक्रम आदि ।
• बालबालिकाको विकासात्मक चरणअनुरुप आवश्यक पोषक तत्त्वहरूको कमी, बढी वा असन्तुलनको अवस्थालाई कुपोषण भनिन्छ ।
• कुपोषणको पहिचान विभिन्न तरिकाबाट गर्न सकिन्छ । शरीरको मापन गरेर, शरीरको लक्षणहरू हेरेर, खाना खाएको रेकर्ड राखेर र ल्याबमा परीक्षण गरेर कुपोषण पत्ता लगाउने मुख्य तरिका हुन् ।
• विशेषगरी गर्भावस्थाको समयमा शिशुको तौल छिटो बढ्छ । यो अवधिमा नियमित रूपमा समयमा तौल अनुगमन र मापन गरेर पोषणको स्थिति पहिचान गर्नुपर्छ ।
• नियमित रूपमा बालबालिकाको वृद्धि विकास थाहा पाउन गरिने प्रक्रियालाई वृद्धि अनुगमन भनिन्छ । यसमा नियमित रूपमा उमेरअनुसार तौल बढे नबढेको अनुगमन गरिन्छ । शिशु जन्मेदेखि कम्तीमा २ वर्षसम्म प्रत्येक महिना वृद्धि अनुगमन गर्नुपर्छ ।
• गर्भवती तथा सुत्केरीले साविकभन्दा बढी खाना खाने, यसको अलावा विभिन्न खाद्य समूहका खाना खाने नियम कायम गर्ने, आइरन चक्की नियमित खानाले, शिशु र आमा दुवै कुपोषणबाट सुरक्षित हुन्छन् ।





Write your Comment