पर्यटक पर्खिरहेकाे कञ्चनजंघा

रातोघर

 १० आश्विन २०८०, बुधबार १२:१४  मा प्रकाशित
३८४ पाठक संख्या



काठमाडौं । 

कोरोनाभाइरस संक्रमणपछिको यो सिजनमा पर्याप्त विदेशी पर्यटक आउने आशा कञ्चनजङ्घा क्षेत्रका पर्यटन व्यवसायीले गरेका छन् । मौसम खुलेपछि कञ्चनजङ्घा हिमश्रृंखला टाढैबाट मनमोहक देखिन थालेको छ । यसको बेसक्याम्प क्षेत्र झनै सुन्दर छ ।हिमाली क्षेत्रको पदयात्रा गर्ने सिजन सुरु भएसँगै यो क्षेत्रमा चहलपहल बढ्न थालेको छ । कोरोनाको प्रकोप हुनुपूर्व बाह्य र आन्तरिक पर्यटकको सङ्ख्यामा हरेक वर्ष बढोत्तरी हुँदै गएको थियो । कोरोनाकालका केही वर्षपछि यो सिजनमा ठूलो सङ्ख्यामा पर्यटक आइपुग्ने अपेक्षा गरिएको छ ।

विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घासँगै अन्य हिमश्रृंखला र हिमाली जनजीवनसँगै यहाँको प्राकृतिक सौन्दर्य मनोरम छ । ‘घुम्न आउने सिजन सुरु भएको छ । कोरोनापछि योपल्ट धेरै पर्यटक आउने अपेक्षा राखिएको छ । आन्तरिक र केही विदेशी पर्यटक आउन थाल्नुभएको छ’, घुन्साका पर्यटन व्यवसायी धर्के (दीपक) शेर्पाले भने, ‘करिब १८–१९ दिनमा सर्किट नै पूरा गर्न सकिन्छ । घुम्ने धेरै ठाँउहरू भएकाले यहाँ आउने पर्यटक निकै रमाउनुहुन्छ । हामी स्वागत गर्न आतुर छौँ ।’

पदयात्राका लागि यो क्षेत्र निक्कै महत्वपूर्ण र रोचक रहेको छ । कञ्चनजङ्घाका उत्तरी र दक्षिणी बेस क्याम्प, फक्ताङलुङ् हिमाल यहाँको अत्यन्त महत्वपूर्ण क्षेत्र हो । ‘कञ्चनजङ्घासहित हिमाल, यहाँको हावापानी, ताल, पोखरी, हिमाली जनजीवन मुख्य विशेषता हुन् । ट्रेकिङ रुटलाई व्यवस्थित गरिएको छ । होटेल, टि हाउस भएकाले धेरै असुविधा छैन’, कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बु भन्छन्, ‘सडक निक्कै टाढा भएकाले ट्रेकिङ गर्न उपयुक्त छ । विदेशीहरूले त्यही भएर बढी रुचाएका छन् । क्रमशः पर्यटक बढ्ने आशा राखेका छाैँ ।’

भौगोलिक रूपमा सुदूरपूर्व भए पनि घुम्नलाई उपयुक्त र आन्तरिक पर्यटकहरूका लागि पनि महत्वपूर्ण गन्तव्य बनाउन सकिने बताउँछन् ट्रेकिङ गाइड फुङ्सो जवेगु । आन्तरिक पर्यटकलाई घुमाउन पटक–पटक पुगेका उनी भन्छन्, ‘अहिले पनि नौ जनाको टोली लिएर गइरहेको छु ।’८ हजार ५ सय ८६ मिटरको हिमालको बेसक्याम्प क्षेत्र घुम्न उत्तिकै रोचक, रमाइलो, उत्साहप्रद हुन्छ । उत्तरतर्फ पाङपेमा र दक्षिणतर्फ ओक्ताङ बेस क्याम्प रहेको छ ।

घुन्सा र चेराम भन्ने ठाउँ जोड्ने सेलेले पास छ । यही पास गरेर दुवै बेसक्याम्प क्षेत्र घुम्न सकिन्छ । ताप्लेजुङ सदरमुकामबाट सेकाथुमसम्म गाडीमा गएर उत्तरतर्फ यात्रा गर्न सकिन्छ । दक्षिणतर्फ याम्फूदिनसम्म गाडी पुगेको छ । यहाँबाट पदयात्रा गर्न सकिन्छ । दुवै बेसक्याम्प उत्तिकै आकर्षक छन् । उत्तरतर्फ लिम्बू जातीले पवित्रस्थलको रूपमा मानेको फक्ताङलुङ (कुम्भकर्ण) हिमाल पर्छ । ‘अनेकन सम्भावनाले भरिएको छ । हिमाल, हिमाली वन्यजन्तु लगायका हिसाबले महत्वपूर्ण छ’, कञ्चनजंघा संरक्षण क्षेत्रका संरक्षण अधिकृत दीपेन्द्र पोखरेलले भने, ‘समुदायमा आधारित संरक्षण क्षेत्र भएकाले पनि महत्वपूर्ण छ ।’

Write your Comment