काठमाडौ ।
नेपालको हालसम्मको तिर्न बाँकी ऋण २३ खर्ब ९ करोड ८६ लाख ९६ हजार रुपैयाँ रहेको छ । गत असारसम्ममा २२ खर्ब २१ अर्ब ६७ करोड ८५ लाख रहेकोमा साउन र भाद्रमा ८८ अर्ब कर्जा वढेको हो ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको भदौ मसान्तसम्म सरकारको बाह्य र आन्तरिक कर्जा बढेको हो
प्रतिव्यक्ति ७९ करोड पुगे पनि सर्वसाधारणले तिर्न नपर्ने
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको जेठ मसान्तसम्मको तथ्याङ्कअनुसार नेपालले १० खर्ब ९९ अर्ब ७२ करोड ३३ लाख आन्तरिक र १० खर्ब ७३ अर्ब ५२ करोड ३९ लाख बाह्य ऋण तिर्न बाँकी रहेको थियो । असारमा आएर आन्तरिक ऋण ११ खर्ब २८ अर्ब ३२ करोड र बाह्य ऋण १० खर्ब ९३ अर्ब ३४ करोड पुगेको थियो ।
भाद्रमा आएर आन्तरिक ऋण ११ खर्ब ४० अर्ब ५३ करोड र बाह्य ऋण ११ खर्ब ६९ अर्ब ३३ करोड पुगेको छ ।नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को आकार ५३ खर्ब ८१ अर्ब आधार मान्दा जिडिपीमा सार्वजनिक ऋणको अनुपात ४२ दशमलव ९१ प्रतिशत पुगेको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको नेपालको जनगणना २०७८ अनुसार कूल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ लाई आधार मान्ने हो भने सार्वजनिक ऋण प्रतिव्यक्ति ऋण ७९ हजार पाँच सय पुगेको छ ।
आठ वर्षअघि नेपालको सार्वजनिक ऋण पाँच खर्ब ४० अर्ब रूपैयाँ थियो। पछिल्ला आठ वर्षमा नेपालको सार्वजनिक ऋण साढे चार गुणा बढेको हो। अझ पछिल्ला साढे तीन वर्षमा दोब्बर भएको छ।
नेपालमा सार्वजनिक ऋणलाई कुल जनसंख्याले भाग गर्दा आउने रकमलाई प्रतिव्यक्ति ऋण भारका रूपमा देखाइन्छ। तर यो ऋण आम सर्वसाधारणको भागमा भने पर्दैन ।
मुलुकको कुल सार्वजनिक ऋणभन्दा प्रतिव्यक्तिमा भाग लगाइने ऋणमा नागरिकको धेरै चासो हुनु स्वाभाविक हुने गरेको छ । सरकारले लिएको ऋण प्रत्यक्ष रूपमा कुनै व्यक्ति विशेषले तिर्नुपर्ने होइन। यो राज्यले नै आफ्नो आम्दानीबाट तिर्ने हो।
खासमा सार्वजनिक ऋणलाई प्रतिव्यक्ति ऋणका रूपमा देखाउनु नै गलत हो तर पनि नेपाली समाजमा प्रतिव्यक्ति ऋणको रुपमा भन्ने चलन रहेको छ ।
सरकारले सार्वजनिक ऋण लिएपछि पुँजी निर्माण भयो कि भएन, ऋण विस्तारको हिसाबले अर्थतन्त्रको आकारमा कस्तो प्रभाव परेको छ, रोजगारी कति सिर्जना भयो भनेर खोजिनुपर्ने अर्थविदहरु बताउँछन् ।
संसारभर सार्वजनिक ऋणलाई सम्बन्धित मुलुकको अर्थतन्त्रको आकारसँग जोडेर हेरिन्छ। अर्थतन्त्रको आकार कत्रो छ र ऋण कति छ भनेर अनुपात निकालिन्छ। आठ वर्षअघि नेपालको अर्थतन्त्रको तुलनामा सार्वजनिक ऋण २२ प्रतिशत थियो। अहिले करिब ४२ प्रतिशत पुगेको हो।
आर्थिक वर्ष २०५१–५२ मा ऋण अनुपात ६६ प्रतिशत थियो। यो नै अहिलेसम्मकै सबभन्दा धेरै हो। आर्थिक वर्ष २०७१–७२ मा २२ प्रतिशतसम्म झरेको थियो। अहिले ४२ प्रतिशत पुगेको छ ।सार्क मुलुकहरूसँग तुलना गरेर हेर्दा अहिले अर्थतन्त्रको आकारसँगको अनुपात सूचीमा सात देशमध्ये नेपाल पाँचौं स्थानमा छ ।
सन् २०२२ को तथ्यांकअनुसार भुटानको बाह्य ऋण कुल जीडीपीको १३० प्रतिशत रहेको छ । श्रीलंकाको १११.७ प्रतिशत रहेको छ भने भारतको ८४ प्रतिशत र पाकिस्तानको ७८ प्रतिशत रहेको छ। बंगलादेशको ३७.७६ प्रतिशत र अफगानिस्तानको ७ प्रतिशत छ।
अति कम विकसित देशहरूमा अर्थतन्त्रको आकारको तुलनामा ६० प्रतिशतसम्मको ऋणलाई स्वाभाविक मानिन्छ।आव २०७४–७५ मा नेपालको सार्वजनिक ऋण रू. ९ खर्ब थियो । यो बढ्दै गएर आव २०७७–७८ मा १७ खर्ब ३७ अर्ब पुगेको थियो भने गत आव २०७८–७९ मा २० खर्ब १३ अर्ब पुगेको थियो। अहिले २३ खर्ब ९ अर्ब पुगेको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार भदौमा मात्रै ४९ अर्ब २३ करोड रूपैयाँको ऋण थपिएको छ । सरकारले भदौमा मात्रै आन्तरिकतर्फ ४४ अर्ब २६ करोड रूपैयाँ ऋण प्राप्त गरेको छ भने बाह्य तर्फबाट ४ अर्ब ९७ करोड रूपैयाँ ऋण प्राप्त गरेको छ ।
साउनमा आन्तरिक ऋण २५ अर्ब ८४ करोड र भदौमा १५ अर्ब ७६ करोड रूपैयाँ लिएको थियो । दुवै महिनामा गरेर आन्तरिक ऋण ४१ अर्ब ६१ अर्ब लिएको थियो ।यसैंगरी साउनमा बाह्य ऋण १५ अर्ब ७७ करोड र भाद्रमा ३३ अर्ब ४५ करोड गरी कुल साउनमा ४९ अर्ब २३ करोड ऋण थपिएको थियो ।सरकारले कर्जा मात्र लिएको भने होइन व्याज र साँवा पनि तिरेको छ ।
साउन महिनामा आन्तरिक ऋणको २२ अर्ब ७ करोड रूपैयाँ सावाँ भुक्तानी गरेको थियो भने भदौमा १० अर्ब ७५ करोड रूपैयाँ भुक्तानी गरेको छ । दुई महिनामा आन्तरिकतर्फ ३२ अर्ब ८३ करोड रूपैयाँको सावाँ भुक्तानी गरेको तथ्यांक रहेको छ । सरकारले साउन महिनामा आन्तरिकतर्फ तीन अर्ब ७६ करोड ब्याज र भदौमा पनि पाँच अर्ब आन्तरिकतर्फको ब्याज भुक्तानी गरेको थियो ।
सरकारले चालु आवको साउनमा बाह्यतर्फको एक अर्ब २३ करोड रूपैयाँ सावाँ भुक्तानी गरेको थियो भने भदौमा पनि चार अर्ब ६४ करोड गरी कुल पाँच अर्ब ८८ करोड रूपैयाँ सावाँ भुक्तानी गरेको थियो । त्यसैगरी बाह्यतर्फको ब्याज साउनमा ६६ करोड र भदौमा एक अर्ब ६२ करोड रूपैयाँ भुक्तानी गरेको छ । दुवै महिनामा बाह्यतर्फको दुई अर्ब २८ करोड रूपैयाँ ब्याज भुक्तानी गरेको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आर्थिक वर्षको पहिलो महिना साउनमा १५ अर्ब ७७ करोड र भाद्रमा २३ अर्ब ४५ करोड कर्जा प्राप्ति गरेको थियो । प्राप्ति गरेको कर्जामा बाह्यभन्दा आन्तरिक ऋण वढी रहेको छ ।
साउन र भदौमा ३८ अर्ब ७१ करोड ६१ लाख रुपैयाँ साँवा भुक्तानी भएको छ भने ११ अर्ब छ करोड ४७ लाख रुपैयाँ ब्याज भुक्तानी भएको छ । साँवा र ब्याज गरी कुल ४९ अर्ब ७८ करोड नौ लाख रुपैयाँ भुक्तानी गरेको तथ्यांक रहेको छ । हालसम्म सरकारल उठाइएको ऋणमा फिर्ता गरिएको ऋण घटाउँदा तिर्न बाँकी सार्वजनिक ऋण २३ खर्ब नौ अर्ब ८६ करोड ९६ लाख रूपैयाँ पुगेको हो ।
Write your Comment