बारा ।
सङ्घीय सरकारले ल्याउन लागेको निजामती ऐनका विरुद्धमा विभिन्न माग राख्दै निजगढसहित देश भरिका नगरपालिकामा कार्यरत कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् ।कर्मचारीहरूले कार्यालयको कामकाज ठप्प पारेर हिजो निजगढ नगरपालिका कार्यालयको मुख्य गेटमा धर्नामा दिएका थिए ।
कर्मचारीहरूले पेन डाउन गरी नगरको सबै काम ठप्प पारेपछि सेवाग्राही मार्कामा परेका छन् । केही दिनदेखि हातमा कालो पट्टी बाँधेर काम गर्दै आएका कर्मचारीहरूले हिजोबाट कार्यालयको सबै काम ठप्प पारेका हुन ।
स्थानीय तह कर्मचारी सङ्घर्ष समिति निजगढका संयोजक नवीन खनालले सरकारले आफूहरूको माग सुनुवाइ नगरेकाले बाध्य भएर कामकाज ठप्प पार्नु परेको बताए । उनले माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने पनि चेतावनी दिए ।
त्यसै गरी जीतपुुरसिमरा उपमहानगरपालिकामा कार्यरत कर्मचारीहरू पनि आन्दोलनमा उत्रिएका छन् । कार्यालयका इन्जिनियर सञ्जीव रुपाखेतीले कार्यालयको सबै शाखाबाट सेवाग्राहीका कामकाज बन्द गरी कर्मचारी आन्दोलनमा रहेको जानकारी दिए ।
बारा जिल्लाका अन्य पालिकामा पनि कर्मचारी आन्दोलनमा छन् । तर कलैया, कोल्हबी नगरपालिका लगायत केही पालिकामा भने सेवा सुचारु छ ।
सङ्घीय निजामती ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने तथा स्थानीय तहका कर्मचारीलाई निजामतीको परिभाषाभित्र समेट्नुपर्ने लगायतका माग राखेर देशैभरका स्थानीय तहमा कार्यरत कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् ।यसरी आन्दोलन भइरहँदा कतिपय सेवाग्राहीहरूले कर्मचारीका कारणले आफूहरू मारमा परेको बताएका छन् ।
Write your Comment